विचार

आधा मरेका मान्छे, अमेरिका र मेरो देश

बैशाख ११, २०७७

    बिहान उठनेबित्तिकै कोठाको पर्दा हटाएर हिमाल हेर्ने बानी थियो। अहिले त्यो दृश्‍य मबाट खोसिएको छ। दुई महिना  भयो सुन्दर हिमालहरूबाट टाढा भएको। म यतिबेला नभएको चिसो भूमिमा हिटरले तताएको घरमा छु। कृत्रिम न्यानोमा नाकमुख सुकाएर, सुक्‍खा आँखाले झ्यालबाहिरको दृश्‍य हेर्छु।

    केही दिन यता बोटविरुवाहरू हरिया देखिन थालेका छन्। फूलहरू फुल्न थालेका छन्। प्रकृति क्रमशः सुन्दर हुँदै गएको छ। तर मानवबस्‍तीहरू उजाडिँदै छन्। घरघरमा रुवावासी छ। पूरा मर्ने र आधा मर्नेहरू छुट्याउनै सकिँदैन।

     गुराँसे वन पाखा खोज्छु  यहाँ भेट्दिनँ। हिमाली जन जीवनका जीवन्त कथा यहाँ भेटिँदैनन्। यहाँ त सेतो कात्रोमा  फनफनी बेरेर ट्रकका ट्रक लादिएका मानिसका लासहरू मात्र देखिन्छन्।

    आफन्तको लास खोजेर साँझ बिहान रुदै कराउदै विरानो शहरमा भौतारिई रहेका मानिसहरूका दुखद दृष्यहरू मात्र देखिन्छन। टेलिभिजनका स्क्रिनहरूमा आधा मरेका मानिसहरू मात्र देख्छु र आफैलाई छाम्छु र आफै संग भन्छु “ म पनि त काहाँ पुरा वाँचेको छु र ?” 

    यतिबेला हुनेखानेहरूलाई आराम मिलेको होला , तर गरिब , मजदुर , वृध्द ,बालबालिका,  अपागं र अशक्तहरूलाई भने सास्ती छ। सुन्छु सरकारले राहत बाँढेको छ रे। राहतले कति दिन थेग्न सक्तछ र ? फेरि रहत पनि शुध्द कहा छ र ? राजनीति घोलिएको राहतले खादाखादै पेट दुखाएको छ रे। पेटको आगो एक छिन मर्ला तर भुसको आगो भित्र भित्रै सल्केको छ।

         हिमालवाट क्रमश मेरो घरको आगनमा ओर्लेको सूर्यको उज्यालो यहाँ भेएिन। अग्लाअग्ला पहाडहरूको चुलीबाट उदाएर चुलीहरूमै अस्ताएको मेरो सूर्य यहाँ देखिन। यहाँ त मैदानबाट उदाएर मैदानमै अस्ताएको सूर्यमात्र देखिदो रहेछ।

    वेलुकाको  सात बजेसम्म पनि नअस्ताउने घामको उज्यालो कोठामा छिरे पनि कोरोनाको त्रासदी कतिबेलै पनि हटेको छैन।आँखा खोल्दा पनि र चिम्लदा पनि कोरोना  त्रास जीवित छ। जस्को कारण मेरो निद्रा खोसिएको छ।  सुन्दर सपनाहरू अलपत्र परेका छन्। मैले बाँच्‍न खोजेको सुन्दर संसार झन झन असुन्दर देखिन थालेको छ।

          भौतिक रुपले यतिबेला अमेरिकामा छु। मन मस्तिष्क भने यहाँ छैन। याहा त केवल कोरोना भाईरससंग लडदा लडदै ढलेका र आधा ढलेका मान्छेहरू मात्र छन। बन्द कोठामा लुकेर जीवनको भीख मागिरहेका मानिसहरू मेरो वरिपरि  छन्। 

    भौतिक रुपमा चलमलाएका देखिन्छन्। उनीहरूको अनुहारमा रंग देखिदैन। रंग उडेका अनगिन्ती अनुहारहरूमा जीवन छैन फगत त्रासदी मात्र छ।  छाम्दा जीवित भेटिन्छन् तर , मानसिक रुपमा जीवन्त छैनन्। लयहिन कम्पित श्वरहरू सुनिन्छन तर बुझिदैनन।  कोरोना भाईरसले त्रसित  धमिला मानिसहरू कहिलेदेखि सग्लिएर आफ्नो गति समाउलान भन्न सकिरहेको छैन। 

         यतिबेला सुन्छु नेपालमा पनि मानिसहरू कोठा भित्र लुकेका छन्। झ्यालको पर्दा हटाएर सूर्यलाई कोठा भित्र छिराउछन् र एक छिन डर भगाएर बस्छन्। ति निर्दोष मानिसहरूको के दोष  थियो र हैन ? वाह्य मुलुकवाट सुटुक्क छिरेको महामारीले स्वतन्त्रता पूर्वक आफ्नो गरिखाएका नेपालीलाई दु:ख दिएको सुनेको छु, हेरेको छु र पढेको छु।

    विचरा ति गरिब, मजदुर र अशक्तहरूको के दोष थियो ? वसन्ती वनपाखाहरूमा गीत गाउँदै गुराँसको फूल सिउरेर पिरतीको लयमा नाच्न ठिक्क परेका ति गाउँलेहरूले के गल्ती गरेका थिए र ? आज उनीहरू वेकसुर थुनिनु पर्यो। गरिब ,मजदुर अशक्तहरू मत्र होईन धनी ,सम्पन्न र सक्षम मानिसहरू पनि जीवन रक्षाको लागि लुकिरहेका छन्। सवैको मनमा भय र आतंक छाएको छ।

         यतिबेला हुनेखानेहरूलाई आराम मिलेको होला , तर गरिब , मजदुर , वृध्द ,बालबालिका,  अपागं र अशक्तहरूलाई भने सास्ती छ। सुन्छु सरकारले राहत बाँढेको छ रे। राहतले कति दिन थेग्न सक्तछ र ? फेरि रहत पनि शुध्द कहा छ र ? राजनीति घोलिएको राहतले खादाखादै पेट दुखाएको छ रे। पेटको आगो एक छिन मर्ला तर भुसको आगो भित्र भित्रै सल्केको छ।

        राहतले पहुँचवालाहरू रमाएका छन रे। पहुँच नहुनेहरू आँसु बगाएर रोइरहेका छन रे। यस्ता थुप्रै रे हरूले मेरो कान भरिएको छ। मन दुखेर छाती चिरिएको छ। मनमनै  भन्छु “ कम्तिमा पनि मेरो मतले बनेको सरकारबाट त्यस्तो पक्षपात नभएको भए  हुन्थ्यो। “ 

         मान्छेको मन फाटेको बेलामा पहिले , मन सिउनु पर्ने सरकारले हो। दोस्रो  सन्चारकर्मीले हो। संवेदनशील समयमा असंवेदन हुदा त्यसले पिडा माथि पिडा थप्दो रहेछ।  गरिब त स्वंय गरिब छ। उ केही बोल्न सक्तैन। उसले पेटमा बलिरहेको भोक मात्र देखेको छ। उसलाई सार्वजनिक स्थलमा पुर्‍याएर हात थाप्न लगाउने र फोटो ,भिडियो खिचेर मेडियाबाट प्रचारवाजी गर्ने कामले झन दुःखी बनाएको छ। भगवान वुध्दका सन्तानहरूले यस्तो पीडा किन दिन्छन् कुन्नी थाहा पाउन सकेको छैन।

    सानो देश छ समाचार अनलाईन रेडियो टिभि र युटूवरमा काम गर्नेहरूको संख्या अगणीत छ। मनलाग्दी व्यक्ति पिच्छेका धारणाले मानिस झन अलमलमा छन्।

    एकदिन   “सरकारले रहत वितरण गरेन।” भनेर लेख्यो। अर्को दिन  “सरकारले राहत वितरण गरेर नाटक देखायो।” भनेर लेख्यो। यस्तै “ सरकारले  लकडाउनमा कडाई गरेन।” “सरकारले  जनतालाई घरजान दिएन।” “सरकारले सीमा नियन्त्रण गरेन।” “सरकारले सीमामा आएका जनतालाई रोक्यो।”

    “सरकारले क्वारेन्टाईनमा नराखेर जोखिम वढायो।” “सरकारले क्वारन्टाईनमा राखेर सास्ती दियो।” “सरकारले विरामी जाँचेन।” “सरकारले विरामी जाचमा लापरवाही गर्यो।” “सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई  ल्याएन।” “सरकारले विदेशवाट आफ्ना नागरिक ल्याउँदा आवश्यक सावधानी अपनाएन।” “सरकार बोल्न मानेन।” “सरकारले धेरै वोल्यो।” यि प्रतिनिधि उदहरण मात्र हुन। यसले के सन्देश दियो होला ? थाहा छैन। 

    कोरोना भाईरसको रोकथाम आमनागरिकको दायित्व भित्र पर्छ कि पर्दै खोई यी प्रश्नहरू। जीवनभर संचार क्षेत्रमा काम गरियो अहिले आफैसग लाज लागेको छ कसलाई भनौ खै ?  

    यतिबेला सारा संसार कोरोना भाईरस संग लडिरहेको छ। मानिसहरू भाईरस संक्रमण र त्रासदीका कारण मरिरहेका छन्। आँखा भरि मृत्युको कालो छाया मडारिएको यस्तो विषम परिस्थितिमा पनि सेतो पीपीई भिरेर हजारौ नेपाली छोराछोरीहरू विभिन्न देशका अस्पतालहरूमा भिडिरहेका छन्।  यो बेलामा उनीहरूलाई मायाको खाँचो छ। आड भरोसाको खाँचो छ। ढोका थुनेर वसेका मन्दिरका देवी देवताले  हामीलाई बचाँउदैनन्।

    अहिले अमेरिकामा दैनिक दुईदेखि चार हजार मानिसहरूले मृत्युवरण गरिरहेका समाचारहरू छन्। टेलिभिजनमा आउने कोरोना अपडेट सम्वन्धी अत्यास लाग्दा तथ्यांकहरू सहितका दृष्यहरूले सजिलोसंग सुत्न दिदैनन। 

    भोलि सवै कुरा ठिक भए पछि  मानसिक शान्तिको लागि मात्र मन्दिरहरूमा जाउला। आरती गरौला। हामीलाई बचाउने देवताहरू कर्म क्षेत्रमा छन्। उनीहरूलाई शुभकामना व्यक्त गरौ।  मनोवल खसाल्ने काम नगरौ।

           नेपाली खानपान, रहन सहन र अनुशासन हाम्रो पूँजी हो। संभ्रान्त देशको विज्ञान र प्रविधिलाई पराजित गरेको कोरोना भाईरस नेपाली आत्मविश्वासका सामु घूँडा टेकेको सुन्दा गर्व गर्न मन लाग्छ।

     अमेरिकामा सयौँ नेपालीहरूले अस्पतालमै नगईकन मौलिक घरेलु जडीबुटी र मर मसला खोजेर खाए र आफूलाई बचाएका समाचारहरू धेरै छन्। अमेरिका , ईटली, स्पेन, फ्रान्स र  बेलायतमा भएका नरसंहारमा प्रत्यक्ष भिडिरहेका नेपालीहरू आफै मातृभूमिको संझना र खानपानले बचाएका कथाहरू पनि छन्। कोरोनालाई पराजित गर्न सक्ने नेपालीको क्षमता देखेर दुनियाँ चकित छ। नेपालको हावापानी मुटुमा राखेर विदेशीयकाहरू त्यही मुटुले बचाएको छ।  

         अहिले अमेरिकामा दैनिक दुईदेखि चार हजार मानिसहरूले मृत्युवरण गरिरहेका समाचारहरू छन्। टेलिभिजनमा आउने कोरोना अपडेट सम्वन्धी अत्यास लाग्दा तथ्यांकहरू सहितका दृष्यहरूले सजिलोसंग सुत्न दिदैनन। हजारौ विरामीहरू भेन्टिलेटरको  खोजीमा  मृत्युको पालो कुरीरहेका  कारुणिक सत्यहरूले  आँखा भिजिरहेका छन्। अमेरिकीहरूले भनिरहेका छन “ शक्तिसम्पन्न राष्ट्रमा वसे पनि अन्ततः जीवनको सुरक्षा नहुदो रहेछ त।”

    कोरोना परीक्षण कायमै छ। परीक्षणमा कोरोना देखिए पनि र नदेखिए पनि सम्भावित मृत्य देखेर पनि मानिसहरू आत्तिएका छन्। यो समयमा अस्पतालको सेवा त परै राखौ  एउटा सिटामोल समेत मुखमा नहाली  संसार छोडेर जानेहरूको आत्मले के भन्यो होला थाहा छैन। परिवारको सदस्य गुमाएर आधा वाँचेका मानिसहरूको कथा भोलि लेखिने नै छन्। 

         आज केही नेपालीहरू मृत्यु संग जुधेर सफलताको कथा सुनाई रहेका छन्। यसले सुकेको दूवोमा थोरै भए पनि पानी हाल्ने काम गरेको छ। अमेरिकामा छिरे पछि  उनीहरूले देखेका सपनाहरू वदलिएका छन्।  अमेरिकी जीवनशैली त्यागेर आफ्नै मौलिक जीवनशैलीमा फर्कन वाध्य भएछन्।  नेपाली खाना र जीवनशैलीले मात्र  कोरोना भाईरस संग लडन सकिदो रहेछ भन्ने तत्वज्ञान धेरैमा टुसाएको छ।

    अस्पतालमा नगईकन कागती पानी , ज्वानो ,टिमुर, मरीच ,अदूवा ,लसुन ,अलैची , खुर्सानी वेसार गुर्जो , तुलसी पत्ता , गुराँस , पारिजात , यसको खोजी र सेवनले कोरोनालाई पराजित गरेका सफलताका कथाहरू सुनाई रहेका छन। यि कथाहरू सुनेर पढेर र हेरेर  आफ्नै छेउमा उभिएर गिज्याई रहेको कोरोनालाई आफ्नै हातले मिचेर फालेको अनुभूति स्वयमले गरेको छु। यस तथ्यले भनिरहेको छ  मेरो देशको खानपान र जीवनशैली संसारकै नमूना रहेछ। नेपाल लगायत दक्षिण पूर्वी एशियाली देशहरूको अहिले सम्मको तथ्यले पूर्वीय संस्कृतिक जीवनशैली नै उत्कृष्ट रहेकोमा पश्चिमाहरू पनि सहमत हुन थालेका थुप्रै उदाहरणहरू छन। यो पनि एउटा गर्वको कुरा हो।  

         नेपाल यतिबेला  सिंगो देशलाई लकडाउनमा राखेर कोरोना भाईरसका संक्रमितहरूको पहिचानमा जुटेको छ। पहिचान भएका विरामीहरूको  उपचारमा पनि लागेको छ। आजको मिति सम जेजति भेटिएकाहरूको स्वाथ्य अवस्था सामान्य छ। कुनै अप्रिय घटना भएको छैन। सरकारका  कतिपय तयारीहरू अत्यन्त राम्रा छन्। सरकारले राम्रो गरिरहेको विषयवारे समीक्षा गर्ने समय आउला , त्यतिबेला नै गरौला।

    यतिबेला जनतालाई कसरी राहत दिलाउने र उनीहरूको रोजी रोटीको सुरक्षा कसरी गरिदिने  भन्नेमा सरकारको ध्यान जानु पर्दछ। कोरोनाको लागि बनेको उच्चस्तरीय समिति जस्तै कोरना पछिको व्यावस्थनपनको लागि अर्को टिमवनाएर काम थाल्नु पर्दछ। यो  विषयमा अहिलेनै सोचिएन भने राजनीतिक दूर्धटना हुन सक्तछ। समयमै त्यसवारे सचेतनाको खाचो छ।

          म त खुल्ला अमेरिकामा छु। अमेरिकीहरू न्द सुन्न मन पराउदैनन रे। अमेरिकी राष्टपति भन्छन “अमेरिका सधै खुल्ला छ। “ स्वविवेकले घर स्नेहरू सिरहेका छन्। काममा जानेहरू गैरहेका छन्। अनलाईनबाट हुनेकामहरू थपिएका छन् घटेका छैनन्। होटल , रेष्टुराँ र एयरलाईन्स सेवाहरू वाहे अन्य उद्योग कलकारखाना तथा सेवाप्रदायक संघसंस्थाहरू थावत संचालित छन्। कोरोना कोरोना भनेर सरकारले नयाँ गीत गाउँदै छ।

    आउँदो नोभेम्वरमा हुने राष्ट्रपतीय चुनावको तयारी पनि तिव्र छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई त यो  कोरोना भाईरस चुनावी केक बनेको छ। राहतको नाममा अरवौ डलर वाडेर पपुलर बन्ने अवसर पनि  मिलेको छ। अमेरिका जस्तो मुलुकमा समेत यस्ता संवेदनशील अवस्थालाई  राजनीतिक अस्त्रको रुपमा प्रयोग गर्दा रहेछन्। हाम्रो जस्तो पिछडिएको मुलुकमा हरेक कुरामा राजनीतिकरण हुनु कुन ठूलो कुरो भयो र?

    फेरि यो लोकतन्त्र प्रजातन्त्र जे भने पनि यसको चरित्र नै यस्तै हल्ला खल्लामा राज गर्ने र समय कटाउने रहेछ। यस्तै हल्ला खल्ला गरेर अहिलेको अमेरिका बनेको रहेछ। अमेरिकनहरूले सयवर्ष भन्दा वढी हल्ला गरि सके। हामीले त भरखर शुरु गरेका छौ। हामीलाई के के नै भयो कि जस्तो लाग्नु स्वभाविक हो। तर याहा मतलवै छैन। “काग कराउदै छ पीना सुक्दै छ “ भनेको यही होला ?

           केही केही कुरा अमेरिकीहरूसंग पनि सिक्नु पर्ने जस्तो लाग्यो। सोसियल डिस्टेन्समा राखेर काम सवैलाई काममा लगाउनु पर्ने रहेछ। यस्ता महामारीहरू एक महिनामा सकिदैन भन्ने कुरा यिनीहरूलाई थाहा रहेछ। यस्ता महामारी नियन्त्रण हुन दुईतीन वर्ष पनि लाग्न सक्ने रहेछ। सधैंभरी वन्द गरेर उपचार गर्ने होईन कि। एउटा मापदण्ड कायम गरेर काम चालु राख्दा देशको अर्थतन्त्र नबिग्रने रहेछ। हामीले पनि हालको लकडाउनलाई राखिरहने हो भने पनि कामहरूलाई सुचारु गर्नका लागि नयाँ योजना वनाउने कि ? प्रत्येक गाउँ तथा वडा तहसम्म परीक्षण गर्ने र उनीहरूलाई उत्पादनमा लगाउने कि ? जसले गरि खाने मजदुरको रोजीरोटी पनि जोगियोस र राष्ट्रको अर्थतन्त्र पनि नविग्रियोस।

         यतिबेला वसन्ती फूलहरू फूलेका छन्। यि फूलहरू खोज्दै गाउँ पुगेका नेपालीहरूलाई अ गाउँमै अवसरहरू दिएर गाउँमा स्ने वातावर निर्माणमा तीनै तहका सरकारहरू लाग्ने राम्रो अवसर आएको छ।

    जनतालाई सास्ती दिएर होईन उनीहरूलाई सामाजिक दूरीकायम गर्ने तरिकाहरू सिकाएर सुरक्षित तवर गन्त्व्यमा पुर्याउनु जनप्रतिनिधिहरू पनि काम हो। राजनीति गर्छु भन्नेहरूले “खोलो तर्यो लौरो विर्सियो” भन्न कहाँ पाइन्छ र ?

    अब गाउँ फर्केका जनतालाई गाउँको वाँझो जमीनमा हावापानी र सिचाईको अवस्था हेरि उन्नत किसिमले पशुपालन , खेतीपाती र फलफूल तरकारी उत्पादन गर्न लगाउनेर भारतवाट आउने माछा मासु पलफूल तरकारी रोक्न सकियो भने पनि गुमेको रिमिट्यान्स भन्दा वढी कमाउन सकिन्छ। यसलाई अवसरको रुपमा लिनु जरुरी छ।

बद्रीविनोद प्रतिक

वरिष्ठ पत्रकार 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]