|

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले महसुल वृद्धिका लागि पठाएको प्रस्तावको उद्योग वाणिज्य महासंघले विरोध गरेको छ। महासंघका अध्यक्ष पशुपति मुरारकाले बिजुलीको महसुल वृद्धि भएमा नेपालका उद्योगहरु चल्न नसक्ने अवस्था आउने दाबी गरे। ''महसुल वृद्धिको कुरा आएको छ, कुनै समय जिडीपीमा १६ प्रतिशत योगदान पुर्‍याउने उद्योग क्षेत्र अहिले ६ प्रतिशत भन्दा तल झरेको छ, अब पनि वृद्धि गरिएमा जीडीपीमा उद्योगले योगदान पुर्‍याउन सक्दैन' सोमबार आयोजित 'औद्योगिक वृद्धिको लागि उर्जा' विषयक अन्तक्रियामा मुरारकाले भने।

महासंघका उर्जा समिति सभापति ज्ञानेन्द्रलाल प्रधानले बिजुलीको मुल्य बढाइएमा उद्योगले प्राप्त बिजुलीको उपयोग गर्न नसक्ने दाबी गरे। 'सन् २००५ मा पर्याप्त बिजुली भएर पनि उपयोग हुन सकेको थिएन। अहिले पुन: यसरी मूल्य बढाउँदै जाँदा बिजुलीको उपयोग उद्योगले गर्न नसक्ने स्थिति आँउछ,' प्रधानले भने,' ७.५ प्रतिशतमा भनेको ब्याज बैंकले १०/११ प्रतिशत ब्याज पुर्‍याउने यता बिजुलीको महसुल निरन्तर वृद्धि हुने।  कसरी उपयोग गर्ने ?' उनले प्रश्‍न गरे।

स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष सैलेन्द्र गुरागाँईले थप विद्युत उत्पादन गर्न नसक्ने स्थिति आएको बताएका छन्। 'आयतित सामान ३० प्रतिशतले महंगो भएको छ। बैंकले व्याज बढाएको बढाइ छ। तर हामीले उत्पादन अनुसार लागत पाएका छैनौ। यस्तो अवस्थामा थप लगानी गर्न सक्ने स्थिती छैन,' गुरागाँईले भने।

कुलमानको प्रश्न सधैं भएन किन भन्नु हुन्छ?

अन्तरक्रियामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले निजी क्षेत्रसँग सहकार्य गरेर काम अघि बढाएको बताए। उनले निजी क्षेत्रकै सुझावपछि यस्तो निर्णय लिइएको बताए। 'तपाईहरुकै सुझावको आधारमा टेक एण्ड पे को निर्णय गरियो। तपाईहरुकै सुझाबका आधारमा हाइड्रोलोजी गरियो। हरेक विषयमा सहुलियत दिइएको छ,' उनले भने,' तपाईहरु भने जे पनि भएन मात्रै भन्नु हुन्छ। केही त भयो पनि भन्‍नु न, अघिल्लो वर्षको अवस्था कस्तो थियो? अहिले जनताले लोडसेडिङको महसुस गर्न पाएका छैनन्,' उनले थपे।

दोहोरो चेपुवा

घिसिङले प्राधिकरण दोहोरो चेपुवामा परेको बताए। 'उत्पादकहरुले महसुल वृद्धि गर भन्ने तर उद्योगीहरुले वृद्धि गर्न नदिने जस्ता कुरा आउँछ प्राधिकरण के गर्ने?' घिसिङले प्रश्‍न गरे। उनले उत्पादकहरुको मागलाई मध्यनजर गरेर २० प्रतिशत मूल्य बढाएको र उद्योगीहरुलाई पनि अहिले २० प्रतिशत वृद्धि गरी झण्डै १ रुपैयाँ बढाउने प्रस्ताव गरिएको बताए।'सर्वसाधरणले १२ रुपैयाँसम्म मूल्य दिएका छन्।

उद्योगीलाई हिजो पनि छुट थियो आज पनि छ। ७.५० पैसा भएकोमा ८.५० पैसा केही समयको लागि मात्रै भनेका हौँ,' उनले भने,' भोलीका दिनमा घट्न पनि त सक्छ।' प्राधिकरणले उद्योग मात्रै नभएर सामुदायिक क्षेत्रमा पनि २० मेगावाटभन्दा बढी विद्युत उपयोग गर्नेलाई २० प्रतिशत महसुल वृद्धि गर्न प्रस्ताव गरेको छ।

उद्योगीको दोहोरो चरित्र

यसअघि नियमित बिजुली आएमा केही महंगो महसुल तिर्न तयार रहेको उद्योगीहरुले बताउँदै आएका थिए। महासंघका अध्यक्ष मुरारकाले पटक- पटक उद्योगलाई अरुको भन्दा बढी मूल्य लिएर भए पनि पर्याप्त बिजुली दिन प्रस्ताव गरेका थिए।

विद्युत अभावमा डिजेलमा चर्को खर्च हुने भएकाले पनि नियमित रुपमा बिजुली आएमा १\२ रुपैयाँ बढी तिर्न उद्योगीहरु तयार थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.