|

इलाम : बाँझोस्थित माङ्सेबुङमा संचालित सातौ पवित्रहाङ्मा महिला गोल्डकप फुटबलमा न्युस्टार किर्तिपुर मोरङ विजयी भएको छ। न्युस्टारले माङमालुङ गल्र्स स्टार इलामलाई ७–० को फराकिलो अन्तरले हरायो। न्युस्टारबाट सरु लिम्बुले ५ गोल गरिन्।

माङमालुङलाई निरन्तर दबाबमा राखेको किर्तिपुरले खेलको चौथो मिनेटमा नै गोलको खाता खोल्यो। मुना लिम्बुले न्युस्टारबाट सुरुवाती गोल गरिन्। १३ औ मिनेटमा अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेकी कप्तान सरु लिम्बुले अग्रता दोब्बर पारिन्। १६ औं र २९ औं मिनेटमा थप दुई गोल गरेर सरुले ह्याट्रिक पुरा गरिन्।

३७ औं मिनेटमा मुनाले व्यक्तिगत दोस्रो गोल गर्दा न्युस्टारले ५–० ले अग्रता लियो। खेलको ४५ औं र ४८ औं मिनेटमा सरुले थप दुई गोल गरिन्। प्रतियोगिता अन्तर्गत भोली डिफेन्डिङ च्याम्पियन नालफुङ युथ क्लब मोरङ र शिवसताक्षी स्पोर्टिङ क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले नगद ६१ हजार ६१ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार ६१ रुपैयाँ पुरस्कार जित्नेछन्। त्यस्तै सर्वाधिक गोलकर्ता,। उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही ३ हजार ५ सय ६१ रुपैयाँ प्राप्त गर्नेछन्।

किराँत धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको ६१ औं जन्मोत्सवको अवसरमा किराँत साम्यो हक्चात यक्चुम बाँझो इलामले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग र मोरङ्गका ८ महिला टिमले सहभागी छन्। प्रतियोगिताको फाइनल खेल फागुन १ गते हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.