|

कालिकोट : पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनबहादुर शाहीले मन्त्री भएको ६ महिनामा ३ पटक कोटबाडा विमानस्थलको निरीक्षण गरेका छन्। ३१ वर्षदेखि निर्माणधीन कोटबाडा विमानस्थलको परीक्षण उडानका लागि उनले सोमबार तेस्रो पटक निरीक्षण भ्रमण गरे।

विमानस्थलको निर्माण कार्यको प्रगति र परीक्षण उडानका लागि भएका निरीक्षण भ्रमणमा नेपाल वायु सेवा निगमका पाइलट, नेपाल वायु सेवा निगमका सहायक म्यानिजिङ्ग डाइरेक्टर लगायत सहभागी थिए। मन्त्री शाहीले ३१ वर्षदेखि बन्‍न नसकेको कोटबाडा विमानस्थल निर्माण कार्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए।

‘म मन्त्री भएपछि कोटबाडा विमानस्थलको निर्माण कार्यलाई पहिलो प्राथामिकतामा राखेको छु’ कोटबाडा विमानस्थल निर्माण कार्यका सुपरभाइजर गणेश बिष्टले बताए,‘हामीले परीक्षण उडानका लागि निरीक्षण भ्रमण गरेका हौं।’

पर्यटन तथा नागरिक उड्यन मन्त्रीको निरीक्षण भ्रमणपछि कोटबाडा विमानस्थलमा परिक्षण उडान गर्ने र त्यसको केही दिनमा औपचारिक उद्घाटन गरिने पर्यटन तथा नागरिक उड्यन मन्त्री शाहीका सचिवालयका दमनबहादुर शाहीले बताए।‘मन्त्री र वायु सेवा निगमका सहायक डाइरेक्टर, पाइलट लगायतकाले निरीक्षण गरिसकेपछि परीक्षण उडान हुनेछ,’ उनले भने,‘त्यसको केही दिनमा नै वायु सेवा निगमले नियमित उडान गर्ने तयारी रहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.