|

इलाम : जिल्ला बाहिर बसोबास गरिरहेका इलामबासीलाई लकडाउनका बेला घर (जिल्ला) ल्याउन नपाइने भएको छ।

जिल्ला समन्वय समिति, स्थानीय प्रशासन र जिल्लाका स्थानीय तहका प्रमुखहरूको शुक्रबार सदरमुकाममा सम्पन्न बैठकले लकडाउनका कारण इलामबाहिर रहेका नागरिक जहाँ छन, त्यहीं रहन आग्रह गर्ने निर्णय गरेको हो।

अब इलाम ल्याइने इलामबासी वा अन्य कुनै व्यक्तिका लागि पनि प्रशासनले अनुमति नदिने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले बताए। काठमाडौं र अन्य जिल्लाबाट इलामबासीलाई घर ल्याउने भन्दै सामाजिक सञ्जाल र अन्य माध्यमबाट गरिएका सबै सूचना हटाउन पनि स्थानीय प्रशासनले निर्देशन दिएको छ।

‘अहिले काठमाडौं र अन्य विभिन्न स्थानमा रहेका इलामे नागरिकलाई ल्याउन भन्दै सामाजिक सञ्जालतिर सूचना गरेको देखिएको छ,’ उनले भने, ‘तर, इलामकै बासिन्दा होस् वा अरू कोही, अब यसरी कसैलाई इलाम ल्याउन पाइने छैन, प्रशासनले अनुमति नै दिँदैन।’ उनले सामाजिक सञ्जालमा राखिएका सूचना तत्काल हटाउन निर्देशनसमेत दिइएको बताए।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न जिल्लाभरका स्थानीय तहका जनप्रतिनिधिलगायत स्थानीय प्रशासनका प्रतिनिधिको संयुक्त बैठकले यस्तो निर्णय गरेको जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले बताए।

जिल्ला समन्वय समितिले गत १० गते सवै स्थानीय तहलाई जिल्ला बाहिर रहेको आफना क्षेत्रका बासिन्दाहरुको लगत संकलन गर्न पत्रचार गरेको थियो। तर ठूलो संख्यामा फर्कने भएपछि जनसंख्याको उक्त चाप थेग्न नसक्ने र आएका व्यक्तिहरुलाई सार्वजनिक क्वारेन्टाइनको व्यवस्थापनका कठिनाइ रहेको बताइएको छ। 

जिल्ला समन्वय समितिको आयोजनामा १० वटै स्थानीय तहको प्रमुख, सुरक्षा संयन्त्र, प्रमुख जिल्ला अधिकारी लगायत सम्मिलित बैठकले इलाम– काठमाण्डौसँग सम्वन्धित संस्थाहरुसँग आवश्यक समन्वय गरी स्थानीय तहले आफना नागरिकहरुमध्ये प्रतिनिधी तोकेर अति गरिब, असंगठित मजदुर तथा विपन्न वर्गलाई राहत निर्देशिका बमोजम व्यवस्था गर्न अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.