|

बागलुङ : कोरोना भाइरस संक्रमणको त्रासले लकडाउनपछि सुनसान रहेको बागलुङ–पोखरा राजमार्ग शुक्रबार बिहान एकाएक भरिभराउ जस्तै देखियो। खचाखच मान्छे बोकेका सवारीसाधन शुक्रबार बिहान ४ बजेदेखि ७ बजेको बीचमा सडकमा ताँती नै लागेर गुडेका थिए। गाडीका लस्कर देख्दा धेरैले त लकडाउन खुलेको अनुमान पनि गरे। 

तिनमा अधिकांश ठूला बस थिए। बस बाहेकका अत्यावश्यक काम देखाएर जिल्ला भित्रिने र बाहिरिनेको संख्या झन् धेरै छ। लामो समयको लकडाउनका कारण जिल्ला बाहिर रहेकालाई जिल्ला प्रवेश गराइएको छ। यो काममा यहाँका प्रतिनिधिसभाका सांसद देवेन्द्र पौडेलले पहलकदमी गरेको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पोस्ट गरिएका थिए। 

प्रहरी पोस्टको तथ्यांकअनुसार शुक्रबार मात्रै १८ वटा ठूला बस खचाखच मान्छे भरेर मालढुंगा चेक पोस्टबाट भित्रिए। साना सवारीसाधन अझ रहेका प्रहरी सहायक निरीक्षक रामबाबु शाहले बताए। 

 ‘धेरैजसो विद्यार्थी र मजदुरहरुलाई उद्धार गरियो’, सांसद पौडेलले भने, ‘काठमाडौंमा खर्च सकिएकाहरुलाई घर पठाउने काम भइरहेको छ।’काठमाडौं मात्रै होइन, शुक्रबार बागलुङ भित्रिनेहरु पोखरा, नारायणगढ, गैंडाकोटलगायत ठाउँका पनि थिए। 

सांसद पौडेलका अनुसार एक हजारभन्दा बढी सर्वसाधारण जिल्ला प्रवेश गरेका छन्। ‘हरेक बसमा ६० जनाभन्दा धेरै आएका छन्’, उनले भने, ‘हिजो अस्तिको भन्दा धेरै सवारी जिल्ला प्रवेश भए।’

काठमाडौंबाट जिल्लाको गलकोट, जैमिनी, ढोरपाटन र बागलुङ नगरपालिकाका धेरै मान्छे शुक्रबार जिल्ला प्रवेश गरेका मालढुंगा प्रहरी पोस्टले जनाएको छ।मालढुंगामा रहेको हेल्थ डेक्सले उनीहरु सबैको ज्वरो जाँच गरेर मात्रै जिल्ला प्रवेश गराएको हो। 

जिल्ला भित्रिएका सबैले स्थानीय तहबाट सिफारिस मगाएर गाउँ फर्केकाले सरासर सम्बन्धित स्थानीय तहमा पठाएको प्रहरी निरीक्षक दीपक रिजालले बताए। ‘हातमा पास लिएर आएकाहरुलाई हामीले रोक्न मिलेन’, रिजालले भने, ‘गाउँ पुगेर क्‍वारेन्टाइनमै बस्नु भनेका छौं।’ 

जिल्लाबाहिर रहेका धमाधम गाउँ फर्किन थालेपछि स्थानीय तहले भने असन्तुष्टि प्रकट गर्न थालेका छन्। आफूहरुसँग सल्लाह नै नगरी सहरमा बस्नेहरु गाउँ भित्र्याइएको भन्दै उनीहरु असन्तुष्ट भनेका हुन्। ‘हामी पहिलो चरणमा लकडाउनको कार्यान्वयन गराएर अब ढुक्क छौं भन्ने अवस्थामा थियौं, तर एकाएक मान्छेहरु बाहिरबाट आएका छन्’, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले भने, ‘लकडाउनको उल्लंघन गरेर मान्छे पठाएको पटक्कै चित्त बुझेको छैन।’ 

नगरप्रमुख गैरेले भित्रिएकाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको बताए। ‘काठमाडौंबाट मान्छे हिँडेपछि समन्वय गर्न भन्दै फोन आयो, कसरी व्यवस्थापन गर्न सकिन्छ’, गैरेले भने, ‘क्‍वारेन्टाइनमा राख्नु भन्ने छ, हामीसँग १८ वटा क्‍वारेन्टाइन बेड छन्, तर मान्छे सयौं जना प्रवेश गरे।’ जो जहाँ छन् त्यहीँ रहेर सावधानी अपनाउनुपर्नेमा केन्द्र सरकार नै लकडाउन पालनमा उदासीत भएको उनले आरोप लगाए। 

जैमिनी नगरपालिकाले पनि देशका ठूला सहरहरुबाट आएका नागरिकका कारण कोरोना संक्रमण रोक्न थप चुनौती खडा भएको जनाएको छ। जैमिनीका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रोगको गाम्भीर्यतालाई ख्याल नगरेर मानिसको ओसारपसार गरिरहेका स्वघोषित समाजसेवीको कारणबाट गाउँमा जोखिमको मात्रा ह्वात्तै बढ्यो, झनै सचेत बनौं, बाहिरबाट भित्रिएकाले अनुशासनको पालना गरौं।’

ठूला सहरहरुबाट लकडाउनकै अवधिमा उद्धारका नाममा घर पठाउने काममा प्रदेशसभा सदस्यलाई समेत चित्त बुझेको छैन। ‘संकटमा परेका मजदुरहरुको उद्धार गरेर गन्तव्यमा पु¥याउनु ठिकै हो तर एक महिना काठमाडौंमा बस्न नसकी गाउँ फर्कनु र फर्काइनु गलत हो’, गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले भने, ‘देशभित्रै भएका नागरिकले त सहयोग गर्नुपर्ने बेला हो यो।’ 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.