काठमाडौंमा बस्नेलाई तत्काल नल्याइने

|

दमक (झापा) : झापाको दमकमा समेत कोरोना संक्रमित पुष्टि भएपछि नजिकका स्थानीय तहहरुले दमकसँगको सम्पर्कमा कडाई गरेका छन्। 

पश्चिमतर्फ रहेका मोरङका उर्लाबारी तथा मिक्लाजुङ, पूर्वतर्फ इलामको चुलाचुली एवम् झापाको कमल र दक्षिणमा रहेको झापाकै गौरादह नगरपालिकाले दमकसँगको सम्पर्कमा कडाइ गरेका हुन्।

दमकमा संक्रमित पहिचान भएको वडा नं. ३ र सोसँगै रहेको वडा नं. २ चुलाचुलीको वडानं. ५ सँग जोडिएकाले हाललाई दमक जाने र दमकबाट आउने क्रमलाई रोकिएको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताए।

चुलाचुलीमा ठूला बजार नरहेको र दैनिक उपभोग्य सामाग्रीका लागि दमकमा नै निर्भर रहनु पर्ने अवस्था छ। तर सामान्य अवस्थामा दमक जाने र दमकबाट आउने क्रमलाई पूर्णरुपमा रोकिएको र बिरामीको उपचारका लागि भने सोझै दमक प्रवेशको साटो झापाकै कमल गाउँपालिका हुँदै घुमेर जान आग्रह गरिएको उनले जनाए। अवस्था सामान्य नभएसम्म दमक आउनेजाने क्रमलाई रोकिएको छ।

काठमाडौं बस्ने नल्याइने

विभिन्‍न स्थानीय तहले काठमाडौंमा बसोबास गरिरहेका आफ्ना स्थानीय तहका बासिन्दालाई ल्याउने क्रम सुरू गरेका थिए। तर दमकमा कोरोना संक्रमित भेटिए पछि तत्काललाई सो प्रकृया रोकिएको छ।

झापाको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेका अनुसार झापाका सबै स्थानीय तहबीच समन्वय गरि आ-आफ्ना स्थानीय तहका बासिन्दा ल्याउने तयारी थियो। तर झापामै कोरोना संक्रमित भेटिए पछि यो प्रकृया रोकिएको हो।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले समेत तत्काल जिल्ला बाहिरबाट थप मानिसहरु ल्याउन अवस्था अनुकुल नभएको बताएका छन्। बरु झापामा नै थप स्वास्थ्य परीक्षण र सम्भावितहरुको पहिचानलाई महत्व दिन आवश्यक रहेको उनको भनाई छ। 

परीक्षण गर्ने किट सकियो

स्थानीय तहहरुले विदेशबाट आएका व्यक्तिहरुको पहिचान गरे पनि उनीहरुको स्वास्थ्य परीक्षण गर्ने किटको अभाव भएको छ। झापाको कमल गाउँपालिकाले विदेशबाट आएका ८० व्यक्ति पहिचान गरेको छ। तीमध्ये ३० जनाको मात्र आडीटी परीक्षण गरिएको छ।

प्रदेश सरकारबाट प्राप्त किटनै सकिएकाले अन्यको परीक्षण गर्न नपाएको अध्यक्ष काफ्लेले बताइन्‌। प्रदेश सरकारबाट जतिसक्दो चाँडो किट पठाई दिन आग्रह गरिएको उनको भनाई छ। 

कमल गाउँपालिका दमकसँगै सिमाना जोडिएको स्थानीय तह हो। दमकमा संक्रमित पहिचान भएपछि दमकसँगको नाका रतुवा पुलबाट कमलतर्फ प्रवेशमा कडाई गरिएको छ। सुरक्षा निकायसँग समन्वय गरी दमकबाट कमलतर्फ प्रवेश गर्नेलाई सकेसम्म रोक्ने कार्य भई रहेको गाउँपालिकाले जनाएको छ। 

जोखिम क्षेत्रमा सिल

संक्रमित पहिचान भएको दमक नगरपालिकाले पनि थप जनशक्ति र उपकरण पठाइदिन आग्रह गरेको छ। संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, स्वाव संकलन लगायतका कार्यका लागि प्रदेश सरकारसँग समन्व्य गरिएको नगरप्रमुख रोमनाथ ओलीले बताएका छन्। 

दमकको वडा नं. ३ मा विदेशबाट आएका एक व्यक्तिका आफन्तलाई कोरोना पुष्टि भएपछि सो वडालाई सिल गरी संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजीकार्य बढाइएको नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले  बताएकी छिन्।

सो वडासँगै नगरपालिकाले भुटानी शरणार्थी शिविरलाई समेत शिल गरि आवतजावत बन्द गराएको छ। दमकको वडा नं. ३ स्थित बेलडाँगी १ देखि मावाखोला, कृष्णमन्दिर उत्तर, ढुकुरपानी तथा हिमालय मावि भित्रको क्षेत्रलाई सिल गरिएको वडाध्यक्ष नविन बरालले जानकारी दिए। सिल गरिएको क्षेत्रमा अन्य सम्भावित संक्रमितहरुको खोजी तीव्र पारिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.