|

बाग्लुङ : लकडाउनका कारण जिल्लामा निर्माणाधीन अधिकांश आयोजनाहरुको काम ठप्प छ। तर, श्रमिहरूलाई सुरक्षा सावधानीका साथ काममा लगाएको निर्माण कम्पनीले बागलुङ–पर्वत जोड्ने झोलुंगे पुल निर्माणको कार्य लकडाउनकै समयमा सम्पन्न गरेको छ।

२०७५ चैतबाट सुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो पुलको निर्माण कार्य गत चैतमा सम्पन्न भएको हो। निर्माण सम्पन्न भएको पुलको उद्घाटन र हस्तान्तरणको काम मात्रै बाँकी छ।

पुल निर्माण कार्य सकिएको ठेकेदार कम्पनी थानी-बिएलटि-हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरी खड्काले जानकारी दिए। पुलमा बिजुलीको लागि आवश्यक ‘वायरिङ’ को काम मात्रा अहिले चलिरहेको छ।

‘वायरिङको काम पनि आधा सम्पन्न भएको छ’,  खड्काले भने, ‘लकडाउनमा पनि हामीले निश्चित घेराभित्र रहेर काम गरेका छौं।’ पुल वैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम तय भए पनि लकडाउनको कारण प्रभावित भएको छ।

कालीगण्डकी नदिमाथि बनेको झण्डै एक सय ३० मिटर अग्लो झोलुंगे पुलको लठ्ठा तान्न गाह्रो र चूनौतीपूर्ण भए पनि आधुनिक प्रविधिको सहायताले नमुना परियोजना सम्पन्न भएको कम्पनीका प्रतिनिधि खडकाको भनाई छ। लकडाउन अवधिमा पनि १६ जना कामदारले नियमित काम गरेका थिए। निर्माण सकिएपछि उनीहरू पाङतर्फको भागमा बसेका छन्।

२८ वटा लठ्ठा तानिएको पुलमा कुल ९४५ वटा स्टिल डिक (फ्ल्याक) बिछ्याइएको छ। पुलको परस्क्वायर फिटमा चारजना अट्न सक्ने क्षमता रहेको र पुल भरिभराउ भए पनि थेग्न सक्ने क्षमताको हुनेछ। पुल निर्माणपछि बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिका लगायतका जनताका लागि सहज पहुँच पुग्नेछ।

कालीगण्डकी नदीमाथि बन्ने उक्त पुल बाग्लुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडकखण्डको ठिकमाथि रहेकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने बाग्लुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए।

 ‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुल्ला बोलपत्र प्रक्रियाबाट निर्माणको जिम्मेवारी थानी-विएलटी-हिमशिखर जेभी निर्माण कम्पनीसँग ६ करोड ९१ लाख रुपैँयामा ठेक्का सम्झौता थियो। उक्त पुल नेपाली इन्जिनियरहरुले नै डिजाइन गरेका हुन्।

यो पुल एसियाकै लामो भएको निर्माण कम्पनीको दाबी छ। कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टीस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिने भएपनि यहाँ बन्न लागेको पुल खुल्ला प्रकृतिको पहिलो हो। चाँदनी–दोधारा पुलमा १४-१५ वटा टावर राखेर बनाइएको छ।

बाग्लुङमा बनेको पुल खुल्ला आकाशमा बनेकोले पनि नेपालकै सबैभन्दा लामो पुल रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.