|

कञ्चनपुर :  बेलौरी नगरपालिका ९ कुण्डाका जुगमान चौधरी लकडाउनकै बेला तनहुँबाट घर फर्केका छन्। तनहुँको घाँसीकुवासम्म हिँडेर पुगेका थिए चौधरी। स्थानीय प्रशासनले बसको व्यवस्था गरिदिएपछि चौधरीलगायत ४७ जना दुई दिनको बसको यात्रापछि घर आइपुगेका हुन्।

'ज्याला राम्रो पाइन्छ भनेर टाढाको जिल्ला काम गर्न गयौं', उनले भने, 'पुगेको १० दिनमै कोरोना भाइरस रोकथामका लागि देशमै लकडाउन भयो। गर्दै आएको काम बन्द भएपछि विचल्लीमा पर्‍यौं।’

कोठाबाट बाहिर आउन पाइने अवस्था थिएन। अर्को जिल्लाको भएर होला स्थानीयले शंकाको नजरले हेर्न थालेपछि निकै तनावमा बस्नु परेको चौधरीले गुनासो गरे। 'काममा लगेको ठेकेदारले खानाको व्यवस्था मिलाए पनि काम गरेको दिनको ज्याला समेत दिएन', चौधरीले भने, ‘गाडी भाडाबापत ३ हजार रुपैयाँ ठेकेदारबाट मुस्किल प्राप्त गरेपछि घर आयौं।'

लकडाउन अघि १२ दिन काम गरेका कामदारको ज्याला मात्रै ८ हजार भन्दा बढि हुन आउछ। लकडाउनको अवधिमा कोठामा रासनपानीबापतको ठेकेदारले पूरै रकम असुलेपछि उनीहरूसँग रकम अभाव भएको थियो।

आफूहरू घर जान कम्तीमा ३ हजार आवश्यक पर्छ भन्दै अड्डी कसेपछी  ठेकदारले बल्ल रकम दिएको उनले बताए। पोखरामा सिमेन्टको व्लक बनाउने कार्यमा संलग्न कञ्चनपुरको बेलौरीका फतेसिंह राना स्थानिय प्रशासनले व्यवस्था गरेको बसमा दोव्वर भाडा तिरेर पुगेको बताउँछन। पोखरा देखि कञ्चनपुर सम्मको बस भाडा १ हजार ३ सय जति रहेपनि बसमा तीन हजार भाडा तिर्नुपरेको उनको गुनासो छ।

बस भाडामै सबै रकम सकिए पछि बसको यात्राका क्रममा पानी समेत पिउन नपाएको अधिकांशको भनाई छ। 'विरानो ठाउँमा बिरामी परेपछि उपचार कसरी गर्नेहरु भन्ने अर्को चिन्ताले सताइरन्थ्यो', रानाले भने, ‘घर कति छिटो जान पाइएला भनेर सोच्दै आएका थियौं।

त्यसैबेला बेखर्ची भएका मजदुरहरु पैदल नै घरतर्फ लाग्न थालेपछि हामीले पनि जे जस्तो पर्ला पर्ला भनेर कोठाबाट झोला बोकेर हिडन शुरु गरेपछि बसको व्यवस्था गरिएको हो।’

घरमा पुगेपछि शान्तिको सास फेर्न पाईएको छ। नौलो अनुभीती लिएर आएका छौ। घरमा जस्तो पाकेपनि परिवार संगै बसेर खानपाईने भएको घर फर्केकाहरुको भनाई छ। 'घरमा पुगेका छौं। नगरपालिकाले क्वारेण्टाइनमा बस्नुपर्छ भनेपनि बस्छौं। घरमै क्वारेण्टाइन बस भन्छ भनेपनि बस्छौं। नगरपालिकाले सञ्चालन गरेको क्वारेण्टाइनमा बस्न भनेपनि बस्छौं', उनीहरुले एकै स्वरमा भने।

विभिन्न जिल्ला बाट कञ्चनपुर भित्रिनेको संख्या एक सय ३५ जना रहेको छ। सबैभन्दा बढी बेलौरी नगरपालिकाका ३४, शुक्लाफाँटा नगरपालिकाका १७, कृष्णपुरका ६, बेदकोटका १०,बेलडाँडीका ७, भीमदत्तका ३, पुर्नवासका ४ र ठेगाना नखुलेका ५० जना रहेका छन।

 जिल्ला प्रवेश गरेका सबै जनाको कृष्णपुर नगरपालिका ६ गजरौलामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य चेकजाँच पछि स्थानीय तहको क्वारेण्टाइनमा पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.