सप्लायर्सविरूद्ध मुद्दा, जनप्रतिनिधि र कर्मचारी जोगाउने प्रयास

|

नवलपरासी : पश्‍चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहत भन्दै कुहिएको चामल बाँडेको प्रकरणमा मेयर नरेन्द्र कुमार गुप्ता तानिएका छन्‌। 

नगरपालिकालाई कुहिएको चामल बिक्री गरेपछि पुर्पक्षका लागि कारागार चलान भएका राजेश राइसमिल सञ्चालक पटवरी बानियाँका छोरा हरिनारायणले मेयर गुप्ताकै निर्देशनअनुसार आफूहरूले कुहिएको चामल दिएको बताएका हुन्‌। 

राहतका लागि चामल खरिद गर्नुपूर्व मेयर आफैं नगरका कर्मचारी र वडा नम्बर ६ का वडा अध्यक्ष जितेन्द्र अग्रहरी मिलमा आएको र उनीहरूले भनेअनुसारकै चामल उपलब्ध गराएको बानियाँले बताएका छन्।

चामल प्याक गर्ने समयमा वडा नम्बर ६ का वडा अध्यक्ष जितेन्द्र अग्रहरी मिलमै रहेको र उनले नै मिलका श्रमिकहरुलाई रातभर राखेर चाम प्याक गराएको उनले जानकारी दिएका छन्‌।

राहतका लागि भन्दै जनप्रतिनिधिले नै कुहिएको चामल छानेपछि आफूहरूले केही भन्न नसकेको र आफ्ना बाबुलाई मेयर गुप्ताले नै खाली कागजमा सही गराएको समेत हरिनारायणले दाबी गरेका छन्‌। 

'चामल हेर्नेदेखि लिएर प्याक गर्ने क्रममा नगरकै कर्मचारी खटिएका थिए, उनीहरुले भने बमोजिम नै हामीले चामल दिएका हौं,' पटवरीपुत्र हरिनारायणले भने, 'अहिले विरोध भएपछि आफू उम्किन जनप्रतिनिधि र कर्मचारीहरूले बुवालाई मात्र फसाउने काम गरेका हुन्‌, यो प्रकरणमा मुछिएका सबैमाथि कारबाही हुनुपर्छ, हामीलाई कुहिएकै चामल बेच्‍न बाध्य पारेर फसाइएको हो।'

नगरपालिकाले चामल लगिसकेपछि १० लाख रुपैयाँको चेक काटेको, तर विरोध भएपछि बाँड्न बाँकी चामल फिर्ता गरेर अर्को लैजाने भन्दै फेरि चेक बनाउनुपर्ने भयो भन्दै १० लाख रुपैयाँको सो चेक फिर्ता लगेको बानियाँले बताए।

नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले 'केही हुँदैन चाचा!' भनेर बुबालाई खाली कागजमा हस्ताक्षर गराएको र मिलबाट पाँच टन चामल लिएर गएको बानियाँले जानकारी दिए। उनले थपे, 'मेयर र वडा अध्यक्ष आफैं बसेर रातभर लेवर (श्रमिक)हरुलाई खटाएका हुन्, हामीले भन्दा विश्वास नलागे लेवरलाई नै सोध्दा हुन्छ।'

नगरपालिकाकै प्रतिनिधि आएर आफैंले चामल हेरी प्याक गर्न लगाई वितरण गर्न लगेको र यो कुरा सबैलाई थाहा भएको भन्दै बानियाँले यो यथार्थ भएकाले अदालतमै उभिएर बोल्नसक्ने बताएका छन्‌।

यता राहतमा दिएको चामल गुणस्तरहीन भएको भनि विरोध आउनासाथ नगर उपमेयर रम्भा कुँवरले चामलको गुणस्तर राम्रो नभएको बारे कर्मचारी र नगर प्रमुखलाई पहिले नै जानकार रहेको बताएकी थिइन्‌। कुँवरले आफूले चामलको गुणस्तरबारे जानकारी गराउँदा मेयर नरेन्द्र कुमार गुप्ताले बेवास्ता गरेको र त्यसैकारण विरोध भएको बताएकी हुन्‌। उनले आफ्नो तर्फबाट विज्ञप्ति नै जारी गरेकी थिइन्‌।

कुहिएको चामल वितरण गरेपछि रामग्रामका स्थानीयले विरोध गरेका थिए। चामल गुणस्तरहीन रहेको पुष्टि भएपछि सप्लायर्सबिरूद्ध कारबाही प्रकृया थालिएको थियो। 

नगरपालिकाको जाहेरी पत्रलाई आधार बनाएर चामलको गुणस्तर जाँच गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले सप्लायर्सका सञ्चालक पटवारी बानियाँविरुद्ध जिल्ला अदालत नवलपरासीमा सोमबार मुद्दा दायर गरिसकेको छ। जिल्ला अदालतका न्यायाधीशको ईजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि बानियाँ सोमबार नै कारागार चलान भएका छन्‌। 

मुद्धा दायर भएसँगै पटवारीले सोमबार नै अदालतमा उपस्थित भएर बयान दिएका थिए। बयानका क्रममा उनले नगरपालिकासँग भएको सम्झौता अनुसार नै आफूले चामल दिएको तथा नगरपालिकाका कर्मचारीहरुले हेरेरै सम्झैता अनुसार चामल उपलब्ध गराएको बताएका अदालतका श्रेस्तेदार डिल्लीराम अर्यालले जानकारी दिए। 

जनप्रतिनिधि र कर्मचारी जोगाउने खेलो

मुद्धा दर्ता हुँदा नै एक जनालाई मात्र अभियुक्त बनाइएकाले कर्मचारीतर्फ त्यसले  नछुने श्रेस्तेदार अर्यालले बताएका छन्‌। अब प्रमाण जुटाउने काम हुने र दोषी प्रमाणित भए मात्र उनी कारबाहीको भागिदार हने भन्दै अदालतको फैसला उपर पुनरावेदन जाने अधिकार प्रतिवादीलाई रहने अर्यालको भनाई छ।

तौलमा भएको ठगीविरुद्ध पनि गुणस्तर तथा नापतौल कार्यालयले अदालतमा मुद्धा दायर गर्ने भएको छ। कार्यालयले नगरपालिका र सप्लायर्स दुवैलाई मुद्दा दायर गर्ने या सप्लायर्सविरुद्ध मात्र दायर गर्ने भन्ने खुलाएको छैन।

राहत वितरणमा विवाद उत्पन्‍न भएपछि अख्तियारलेसमेत राहत वितरणसँग सम्बन्धित सबै कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.