मेयरले खाली कागजमा सही गर्न लगाएर बुवालाई फसाए : छाेरा हरिनारायण

|
तस्बिर : रामग्राम नगरपालिकाले राहतमा वितरण गरेको चामल र नगरपालिकाका मेयर नगरेन्द्र कुमार ग्प्ता

नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतमा वितरण गरेको चामल न्यून गुणस्तर भएको पुष्टि भएपछि सप्लायर्सलाई कारबाही प्रक्रिया सुरु भएको छ। 

रामग्राम नगरपालिकाको जाहेरी पत्रलाई आधार बनाएर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले सप्लायर्सका प्रोप्राइटर पटवारी बनियाँविरुद्ध जिल्ला अदालत पश्चिम नवलपरासीमा सोमबार मुद्दा दायर गरेको छ। दाेषी प्रमाणित भए बानियाँलाई ५ वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना हुन सक्नेछ।

फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को २ ख मा थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने भन्ने कानुनी व्यवस्थाअनुसार जिल्ला अदालतका न्यायाधीशको इजलासले बानियाँलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि बानियाँ सोमबार नै कारागार चलान भएका छन्।

बानियाँले सोमबार नै अदालतमा उपस्थित भएर बयान दिएका थिए। बयानका क्रममा उनले नगरपालिकाका कर्मचारीहरुले हेरेरै सम्झैताअनुसार चामल उपलब्ध गराएको बयान दिएका अदालतका श्रेस्तेदार डिल्लीराम अर्यालले बताए।

तर सरकारवादी मुद्दा भएकोले सरकारी वकिलमार्फत प्रतिवादीमा राजेश राइस मिल पोखरापालीका सञ्‍चालक बनियाँलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकाे छ। अभियोग पुष्टि भए उनी कानुनअनुसार कारबाहीको भागीदार हुनेछन्।

मुद्दा दर्ता हुँदा नै एक जना मात्र अभियुक्त बनाइएकोले कर्मचारीतर्फ त्यसले नछुने पनि श्रेस्तेदार अर्यालले बताए। अब प्रमाण जुटाउने काम हुने र दोषी प्रमाणित भए उनी जेल चलान हुने भन्दै अदालतको फैसलाउपर पुनरावेदन जाने अधिकार प्रतिवादीलाई रहने अर्यालले बताए। 

यता राहतमा दिएको चामल गुणस्तरहीन भएको भनी विरोध आउनासाथ नगर उपप्रमुख रम्भा कुँवरले चामलको गुणस्तर राम्रो नभएको बारेमा कर्मचारी र नगरप्रमुखसमेत पहिले नै जानकार रहेको बताएकी थिइन्।

आफूले चामलको गुणस्तरको विषयमा जानकारी गराउँदा नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले बेवास्ता गरेका कारण विरोधको स्थिति सिर्जना भएको कुँवरले बताएकी थिइन्। उनले आफ्नो तर्फबाट विज्ञप्ति नै जारी गरेकी थिइन्।

नगरप्रमुख गुप्ताले भने चामलको गुणस्तर कम भएको स्वीकार गर्दै त्यसबारे सप्लार्यसलाई कारबाहीको दायरामा ल्याउने बताएका थिए। राहत वितरणको विषयले रामग्राम नगरपालिकाको चौतर्फी विरोध भए पनि गुणस्तरको सन्दर्भमा भने सप्लायर्सविरुद्ध मात्र मुद्दा दायर भएको हाे।

तौलमा भएको ठगीविरुद्ध गुणस्तर तथा नापतौल कार्यालयले पनि अदालतमा मुद्दा दायर गर्ने भएको छ। कार्यालयले नगरपालिका र सप्लायर्स दुवैलाई मुद्दा दायर गर्ने कि सप्लायर्सलाई मात्र भन्ने खुलाएको छैन। राहातमा विवाद उत्पन्न भएपछि अख्तियारले समेत राहत वितरणसँग सम्बन्धित सबै कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

मिल सञ्‍चालक बनियाँका छोरा हरिनारायण भन्छन् : मेयरले खाली काजमा सही गराएर बुबालाई फसाए

राइस मिलका सञ्चालक बनियाँका छाेरा हरिनारायणले मेयरले भने बुबालाई खाली कागजमा हस्ताक्षर गर्न लगाएर धोका दिएकाे आरोप लगाएका छन्। उनले राहतका लागि चामल खरिद गर्नुपूर्व नगरका कर्मचारीहरुसँगै नगरप्रमुख कुमार गुप्ता र वडा नम्बर ६ का अध्यक्ष जितेन्द्र अग्रहरीले हरण गरी उनीहरुले भनेअनुसारकै चामल पठाएको हरिनारायणले दाबी गरे।

चामल प्याक गर्ने समयमा वडा नम्बर ६ का अध्यक्ष जितेन्द्र अग्रहरीले मिलका श्रमिकहरुलाई रातभर राखेर चामल प्याक गराएको उनले बताए। बुबा सोझो भएका कारण फसाएको उनको तर्क छ। 

‘चामल हेर्नेदेखि प्याक गर्ने क्रममा नगरकै कर्मचारी खट्ने र उनीहरुले भने बमोजिम नै हामीले चामल दिएको हो, अहिले विरोध आएपछि आफूहरु पन्छिएर बुबालाई मात्र फसाउने काम गरे’, हरिनारायणले भने, ‘नगरपालिकाबाट चामल लगिसकेपछि १० लाख रुपैयाँको चेक काटेकोमा विरोध भएपछि रहेको चामल फिर्ता गरेर अर्को लैजाने भन्दै फेरि चेक बनाउनुपर्नेभो, भनेर चेक फिर्ता लिए’, हरिनारायणले बताए। नगरपालिकाले २५ टन चामल मिलबाट लिएर गएको हरिनारायण बताउँछन्। 

‘वडाध्यक्ष र मेयर आफैं बसेर रातभरि लेबर(श्रमिक) हरुलाई खटाएका हुन् त्यस विषयमा सबै लेबर बोल्न तयार नै छन्,’ उनले भने, ‘नगरपालिकाका प्रतिनिधिले आफैंले चामल हेरेर लगेको बारेमा सबैलाई थाहा छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.