|

नवलपरासी : पश्चिम नवलपरासीमा कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि गरिएको लकडाउन फितलो हुँदै गएको छ। लकडाउनको अवधि लम्विदै जाँदा लकडाउन उल्लङ्घन गर्ने क्रममा समेत बढेको छ।

जिल्लाका मूख्य बजार र ग्रामिण क्षेत्र सबैतिर विस्तारै मानिसहरूको चहलपहल बढिरहेको छ। घरबाट बाहिर निस्कने र समूहमै घुम्ने प्रवृत्ति पनि बढेको छ। अत्यावश्यक खाद्यबस्तु बिक्रीवितरण गर्ने पसलहरू खोल्नका लागि समय सीमा तोकिएपनि सामाजिक दूरी कायम गर्ने र आवश्यक सुरक्षाका उपायहरू अपनाएको पाइएको छैन।

बैंक तथा वित्तीय संघसंस्थाहरूमा समेत मानिसहरूको चहलपहल बढिरहेको छ। यहाँ नागरिकस्तरबाट मात्र नभई लकडाउन कार्यान्वयन गराउने निकायबाट नै उल्लङ्घन गर्ने गरेको पाइएको छ।


मधुवन कृषि बहुउद्देश्यीय सहकारी संस्थामा धानको बीउ र मलखाद लिनेहरूको भीड ।
 

लकडाउन लम्बिँदै जाँदा दैनिक ज्यालादारी गरेर खाने र विपन्न वर्गका लागि साँझ बिहानको छाक टार्न समस्या भएको भन्दै स्थानीय तहले राहत वितरण गर्दासमेत भीडभाड भएको छ। सामाजिक दूरी कायम गरिएको छैन।

अहिले किसानहरूलाई धानको बीउ उमार्न ब्याड राख्ने चटारो छ। किसानहरूका लागि आवश्यक धानको बीउ र मलखाद वितरण गर्ने सहकारीहरूमा पनि लकडाउन उल्लङ्घन भएकै छ। यी सहकारीहरूमा सैयौं किसानहरूहरूको भीडभाड लाग्ने गरेको छ।

बुधबार पश्चिम नवलपरासीका विभिन्न ठाउँहरूमा रहेका सहकारीहरूमा धानको बीउ र मलखाद लिनका लागि निकै भीड लागेको थियो। यस्तो भीड नियन्त्रणका लागि न सम्बन्धित स्थानीय सरकारको ध्यान पुग्न सकेको छ, न त प्रहरी प्रशासनले नै चासो दिइरहेको छ।


परासी आदर्श बहुमुखी सहकारी संस्थामा धानको बीउ र मलखाद लिने किसानको भीड ।

यो वा त्यो वहानामा हुने गरेका लकडाउन उल्लङ्घनका घटनाले कोरोना संक्रमण फैलिन सक्ने जोखिमलाई बढाइरहेको छ। जोखिम मोलेरै भए पनि बीउ र मलखाद लिन जानुपर्ने बाध्यता रहेको किसानहरूले बताउने गरेका छन्। 

पश्चिम नवलपासी छिमेकी मुलुक भारतसँग सीमा जोडिएको जिल्ला हो। सिमानाकामा व्यापक सुरक्षाकर्मी परिचालन भएपनि मानिसहरू भित्रने क्रम रोकिएको छैन। जिल्लाको सिमानाकासँग जोडिएका भारतको महाराजगञ्ज जिल्ला र विहारका जिल्लाहरूमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ। यस्तो अवस्थामा सिमाना वारपार भइरहेको आवतजावतले कोरोना संक्रमण फैलिन सक्ने जोखिम बढाइरहेको छ।

जिल्लाका ग्रामिण क्षेत्रमा सडक छेउमै लाग्ने हाटबजारहरू पनि पूर्ण रुपमा बन्द गरिएको छैन। त्यस्ता ठाउँहरूमा निकै भीडभाड हुने गरेको छ। पछिल्लो पटक सरकारले लकडाउनको समय अवधि थप गर्दा जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना नै जारी गरेर लकडाउनलाई थप कडाई गर्ने जनाएको थियो।


सुनवल नगरपालिकाको वडा नम्बर १ को कार्यालयमा राहत लिन लागेको भीड ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.