|

दाङ :  तुलसीपुर १८ हेमन्तपुरकी मधुमाया जिसीले २०६४ सालदेखि साना खोर बनाएर बंगुरपालन सुरु गरिन्। २ वटा बंगुर पालनबाट शुरु गरेकी जिसीले अहिले व्‍यवसायी रुपमा पालन गर्दै आएकी छन्।

आरविएस पशुपक्षी फार्म दर्ता गरी संचालन गरेकी जिसीसँग हिजो आज माउ र बच्चा गरी ७३ वटा बंगुर छन्। बंगुरपालन व्‍यवसायबाट सम्पूर्ण खर्च कटाएर वार्षिक ७ लाख जति नाफा हुने उनको अनुमान छ। तर, अहिले लकडाउनका कारण उनलाई बंगुरका बच्चा नबिक्दा दाना पानीको समस्या भएको बताइन्।

अहिले उनको फर्ममा ४० भन्दा बढी साना पाठापाठीहरु बिक्रीका लागि तयार भइसकेका छन्। तर, लामो समयसम्म बन्दाबन्दी हुँदा बिक्री नभएको उनले बताइन्। ‘पाठा बिक्रीका लागि तयार भइसकेका छन्, तर लिन कोही आएका छैनन्,’ उनले भनिन्, ‘माउलाई खुवाउने दाना सकियो, बजारमा पाउनै कठिनाइ छ।’

लकडाउन नभएको भए, पाठा दूध छुटाउनेबित्तिकै बिक्री भइसक्थे। ‘पाठा ल्याउन प्युठान, सल्यान, रुकुम र बुटवलबाट व्यापारी आइपुग्थे, तर खोरमा पाठा हुर्काउन निकै मुश्किल भएको छ’, जिसीले भनिन्। पाठाको उमेर र तौल बढ्दै गएमा आमाले सबैलाई दूध पुर्‍याउनै नसक्ने तथा आफू पनि दुब्लाउँदै जाने  उनले बताइन्।

दाना र बजार दुवैको समस्या

उन्नत जातका बंगुरपालनका लागि उनले एक पटक खोरसुधार कार्यक्रमअन्तर्गत प्रदेश सरकारको अनुदान पनि पाएकी थिइन्। तर, लकडाउनका कारण दाना र बजार दुवैको समस्या भएको उनको दुखेसो छ। जिसीले  २०५१ सालतिरै पशुसेवा कार्यकर्ता तालिम लिएको कारण यो  यो पेशामा होमिएको बताइन्।

प्रसव व्यथामा रहेका बंगुरलाई सुरक्षित रुपमा बच्चा जन्माउन समेत उनले सुंडेनीको जस्तै प्राविधिक भूमिका निर्वाह गर्न सक्छिन्। उनले  कालो पाख्रीबास बंगुरपालन गर्दै आएकी छन्।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका १८ ले पशु सुत्केरी भत्ता पनि दिँदै आएको छ। पशु सुत्केरी भत्तास्वरूप वडा कार्यालयले एउटा पशु सुत्केरी भएको अवस्थामा ५ सय रुपैयाँ नगद र एक बोरा दाना उपलब्ध गराउँदै आएकोमा लकडाउनपछि सुत्केरीभत्ता पनि रोकिएको जिसीले बताइन्।

‘वडामा पशु सुत्केरी भत्ता बुझ्ने व्यावसायिक किसान म मात्रै थिएँ, तर अहिले लकडाउनका कारण यो भत्ता पनि रोकिएको छ’, उनले भनिन्। पशुपालक किसानहरुलाई प्रोत्साहन गर्न वडा कार्यालयले किसानहरुलाई पशु सुत्केरी भत्तासमेत उपलब्ध गराउँदै आएको थियो।

त्यसैगरी बंगुरपालन  व्‍यवसायबाट दंगीशरण ५ का हिरालाल चौधरीले पनि विगत २ वर्षदेखि बंगुरपालन गर्दै आएका छन्।  बज्र बहुउद्देश्य कृषि तथा पशुपालन फार्मबाट दर्ता गरी उनले व्‍यवसायिक रूपमा बंगुर पालनमा लागेको बताए।

उनले पनि प्रत्येक वर्ष बंगुरपालन व्‍यवसायीबाट ४/५ लाख आम्दानी गर्ने गरेको बताए। अहिले खोरमा साना र ठूला गरी  ४ वटा बंगुर भएको समेत बताए। बंगुरको मासुका लागि काठमाडौं, पोखराबाट समेत माग हुने गरेको उनको भनाइ छ।

त्यसैगरी, पाठालाई ४५ सय र पाठीलाई ४ हजारमा बिक्री गर्ने गरेको चौधरीले बताए। उनले लकडाउनको कारण दाना पाउन समस्या भएको समेत बताए। त्यसैगरी दंगीशरण गाउँपालिका  ४ बैवाङमा श्री सतीदेवि बंगुर फार्मका सञ्‍चालक रविसन चौधरीले पनि लकडाउनका कारण दानामा समस्या भएको उनले बताए।

‘बजारबाट दाना ल्यान मिल्दैन, घरमै धान मकै पिसेको खुवाउँदै आएको छौं,’ उनले भने,‘  बंगुर पालनबाट राम्रै आम्दानी हुन्छ। बजार पनि राम्रै छ, तर समस्या भनेको दाना हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.