पार्टी फुट्नबाट जोगाउन हस्ताक्षर अभियान

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्‍नेतले सरकारले बहुमत देखाउनै पर्ने अवस्था आएपछि हस्ताक्षर अभियान चलाइएको बताएका छन्।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारबाट हस्ताक्षर अभियान चलाएपछि बस्‍नेतले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री ओलीलाई संसदीय दलमा बहुमत देखाउने अभियानमा सक्रिय रहेका सांसद बस्नेतले प्रधानमन्त्री ओलीलाई पदबाटै हटाउने समीकरण हुन थालेपछि ओलीको पक्षमासमेत बहुमत देखाउन आवश्यक परेको बताउँछन्। 

‘पछिल्लो समय केपी ओलीलाई अध्यक्षबाट पनि हटाउने, प्रधानमन्त्री पदबाट पनि हटाउने योजनाका साथ प्रचण्ड कमरेड र माधवकुमार नेपालहरुको बीचमा समीकरण हुन थालेछ', उनले भने, 'सहमतिमा जाने कुरालाई तोडेर बहुमत अल्पमतको प्रकृयामा जान थाले। अब केपी ओलीसँग बहुमत छैन भन्दै यस्ता गतिविधि हुन थालेपछि, बहुमत छ भनेर सिद्ध गर्नै पर्यो, त्यही भएर  हामी लागेका हौं।'

बालुवाटारलाई पनि बहुमत सिद्ध गर्नुपर्ने अवस्था छ र भन्‍ने प्रश्‍नमा बस्‍नेत भन्छन्, ‘आवश्यक किन छ भने, ट्राफिकले लाइसेन्स खोजेको बेलामा देखाउनुपर्छ। अहिले चाहिँ ट्राफिकले लाइसेन्स खोजेको भएर हामीले लाइसेन्स प्रदर्शन गरिदिएको हो।’ 

कुनै एउटा व्यक्तिलाई पद प्राप्तिका लागि पार्टी नै विभाजनको तहसम्म जाला भन्‍ने डरबाट चिन्तित भएर यस्तो गरिएको उनको तर्क छ। ‘केपी ओली अल्पमतमा छन् भन्‍ने सन्देश दिएर जे गर्न खोजिएको थियो त्यसको जवाफ र अन्य उदेश्य नभई केपी ओली बहुमतमा छन् भनेर देखाइएको मात्र हो,’ उनले भने। 

प्रधानमन्त्रीलाई आवश्यकता परेका बेला हदैसम्म लचक हुन सुझाव दिइएको बताउँदै उनले भने, 'तर त्यसो गर्दा गर्दै पनि यो तहसम्मको आक्रमण हुन्छ भने हामी तपाईंको साथमा छौँ भनेर सन्देश दिएका हौँ।’

प्रधानमन्त्रीले पार्टीभित्रको अन्तरविरोध हटाउन पटक पटक छलफल गरेपनि समस्या समाधान हुन नसकेको उनको भनाई छ। 'प्रधानमन्त्रीले आफ्नो ७५ प्रतिशत समय बढी पार्टीभित्रको अन्तरविरोध मिलाउने र नेताहरुलाई सम्झाउने कुरामा बितेको छ,’ उनले भने, 'अरु नेताचाहिँ केपी ओलीलाई अल्पमतमा पारि कसैलाई संविधान संशोधन गरेर प्रधानमन्त्री बनाइदिने भनेको छ, कसैलाई अहिले नै प्रधानमन्त्री बनाइदिन्छु भनेको छ, म एक्लो अध्यक्ष बन्छु भन्याछ, यो खालको चलखेल हुन थालेपछि यो विकृतिपूर्ण अवस्थामा गयो।'

बस्‍नेतले प्रधानमन्त्रीलाई बलियो बनाउन यो अभियान चलाउनैपरेको तर्क गरेका छन्। 'हुँदा हुँदा राष्ट्रपति फेर्नेसम्मका तहका कुराहरु आइसकेपछि यो अत्ति भयो', उनले भने, 'यसले सीमा नाघ्यो भनेर प्रधानमन्त्रीलाई स्ट्रङ बनाउने, मुलुकलाई स्थिरतातर्फ लगाउने र पार्टी बचाउने हो भने प्रधानमन्त्रीसँग टाउको गनेर सांसदहरुको बहुमत छ भनेर देखाउन हस्ताक्षर गराइएको हो।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.