|

काठमाडौं : 'मेरो नाम…, नेविसंघमा मेरो लामो इतिहास छ। अबको स्ववियू चुनावमा नेविसंघबाट स्ववियू ... पदको उम्मेदवार। म विद्यार्थीको हकहितमा काम गर्नेछु। भोट दिनुहोला, जय नेपाल!'

मंगलबार दिउँसो २ बजे काठमाडौं पुतलीसडकमा रहेको शंकरदेव क्यम्पसको एक कोठामा यस्तै भाषण चलिरहेको थियो। त्यहाँ झन्डै १५ जना नेविसंघका नेताहरुले स्ववियूका विभिन्न पदमा उमेद्वारी घोषणा गरे। भाषण गर्ने आधादर्जभन्दा बढीले आफु स्ववियू सभापतिको प्रत्यासी रहेको बताए। स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई आफ्ना चुनावी एजेन्डा सुनाउन भ्याए र चियापानतर्फ लागे।

नेविसंघको गढ मानिएको शंकरदेव क्याम्पसमा स्ववियुको चहलपहल चलिरहँदा स्ववियू सभापतिसहित अन्य विभिन्न पदका आकांक्षीहरु बढेका छन्। नेविसंघका कतिपय नेताहरु भने सम्भावित सभापति उम्मेदवारसँग सदस्य लगायत पदका लागि बार्गेनिङ गरिरहेको अवस्थामा भेटिएका छन्।

तल हकहितका कुरा, माथि ताला

स्ववियू सभापतिको आकांक्षी रहेको भन्दै तल रहेको कोठामा विद्यार्थीहरुले शैक्षिक विकासका एजेन्डा सुनाइरहेका थिए। माथि क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यको कोठामा भने ताला लगाइएको थियो, त्यो पनि एउटा होइन २ वटा।

झन्डै २ हप्तादेखि क्याम्पस प्रमुखको कोठामा ताला लगाइएको छ। एउटा ताला क्याम्पसले आफैं लगाएको छ भने अर्को ताला नेविसंघले लगाएको छ।

घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसको अवस्था पनि उस्तै छ।  त्यहाँ पनि क्याम्पसले लगाएको तालामाथि नेविसंघले ताला थपेको छ। बागबजारमा रहेको पद्म कन्या क्याम्पसको अवस्था पनि फरक छैन्।

यी प्रतिनिधि क्यम्पस मात्रै हुन्। यसरी नै काठमाडौं उपत्यका र देशका अन्य क्याम्पसमा पनि ताला लागेको छ। ताला लगाउने विद्यार्थी हुन् स्ववियू चुनावमा २८ वर्षे उमेरहदको विरोध गरिरहेका नेविसंघका कार्यकर्ता। उनीहरु कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर भनेर चिनिएका विद्यार्थी हुन्।

ताला लगाएका क्याम्पसका ढोकामा नेविसंघका काठमाडौं अध्यक्ष मनोज वैद्यले हस्ताक्षर गरेको प्रेस विज्ञप्ति टाँसिएको छ। जसमा 'स्ववियूमा लागेको उमेर हदबन्दीका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा हालेकोले उक्त मुद्दा किनारा नलागेसम्म स्ववियू निर्वाचनका गतिविधि नगर्न, गरेमा त्यसबाट हुने क्षतिको भागीदार क्याम्पस हुनुपर्ने' चेतावनी दिइएको छ।

नेविसंघ नेताका फरक-फरक दाबी

कांग्रेस सभापति शेरबहादुर देउवा र तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला पक्षधर नेविसंघका नेताहरु क्याम्पसमा लागेको ताला खुल्ने दाबी गर्छन्। यता, रामचन्द्र पौडेल पक्षधरहरु ताला नखुल्ने बताउँछन्।

थाहाखबसँग कुरा गर्दै काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यले सर्वोच्च अदालतले मुद्दा किनारा लगाएपछिमात्रै ताला खोल्ने बताएका छन्। उनले भने, ' व्यक्तिगत स्वार्थ र भाइ, भतिजा, भान्जा, भान्जीको लागि लगाएका हैनौं। विधि र प्रद्धतीको  लागि लगाएका हौं। अदालतले निर्णय गरेपछि खोल्छौं।'

उनले अग्रज विद्यार्थी नेताहरु कुरा मिलाउने पक्षमा लागे पनि आफूहरु भने न्यायालयको निर्णय पर्खिने बताए। पार्टीका नेताहरुले केहीदिन अघि स्ववियूमा २८ वर्षे उमेरहद मानेर जान दिएको निर्देशनप्रति रोष प्रकट गर्दै वैद्यले भने, 'नेताले भन्नुपर्‍यो नि, नेविसंघमा २८ वर्षे हदबन्दी लगाउने तरुण दलमा ४५ वर्ष नलाग्ने? हामी पनि यति वर्षमा राजनीतिक अवकाश लिन्छौं भनेर भन्नुपरो नि। आफूपायक ढंगले निर्णय गर्न पाइन्छ र नेताले?'

पढ्नुस् : नेविसंघले उमेर हदमा असन्तुष्टी राखेकोमा देउवा आक्रोशित

 केन्द्रीय क्याम्पसमै स्ववियु उम्मेदवार पाउन विद्यार्थी संगठनलाई धौधौ

           स्ववियू चुनावका एजेन्डा : राष्ट्रियतादेखि संविधान कार्यान्वयनसम्म, कुन संगठनको के छ तयारी?

           क्याम्पसमा स्ववियूको औचित्य के हो? स्ववियू नभए के हुन्छ?

           क्याम्पसहरुमा लाग्न थाल्यो स्ववियू चुनाव : वाल पेन्टिङदेखि झडपसम्म

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले ताला मंगलबारै खुल्ने बताए। उनले भने, 'तालाबन्दी अब आधाघण्टापछि खुल्छ।' काफ्लेले तालाबन्दी खुल्दैमा अदालती प्रकृयामा प्रभाव नपर्ने बताए।

'तालाबन्दी नखोल्ने भनेको लोकतान्त्र विरोधी चरित्र हो', काफ्लेले भने, 'हामीले साथीहरुलाई सम्झाएर पठाएका छौं ताला खुल्छ। तालाबन्दीमा नेपाल विद्यार्थी संघको संलग्नता छैन। तर लोकल यूनिटका साथीहरुले आवेगमा लगाएको ताला अब खुल्छ।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.