|

बारा :  प्रदेश–२ को बारा जिल्लाको उत्तरी भेग पूर्वपश्चिम राजमार्गसँग जोडिएको स्थानीय तह हो, कोल्हवी नगरपालिका। कोल्हवी नगरपालिकामा राष्ट्रिय गौरवका आयोजनाका निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सिम्रौनगढ–तामागढी हुलाकी सडक जस्ता आयोजना रहेका छन्।

यस नगरपालिकामा साबिकको कोल्हवी, सपही, प्रसोना, ककडी, अमाव, वछनपुर्वा, रामपुर्वा गाविस र सिंहासनीको १ र २, हरैया गाविस -६, करैया -८ र सिहर्वा - ५ वडालाई समावेश गरिएको छ।

कोल्हवी नगरपालिकाको सिमाना पूर्वमा रौतहट जिल्ला, पश्चिममा जीतपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र करैयामाई गाउँपालिका, उत्तरमा निजगढ नगरपालिका र दक्षिणमा बारा गढी गाउँपालिका र करैयामाई गाउँपालिका पर्छ। 

राष्ट्रिय जनगणना २०६८ को अनुसार जम्मा ८ हजार १११ घरधुरी र ४४ हजार ३५ जनसंख्याको यहाँ बसोबास छ। यस नगरको कुल क्षेत्रफल १५७.४० वर्ग किलोमिटर रहेको छ। नगरपालिकामा मुख्य रुपमा थारू समुदायको बसोबास रहेको छ भने अन्य सम्पूर्ण समुदायको मिश्रित रुपमा बसोबास छ।

स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट निर्वाचित नगर प्रमुख भरतबहादुर भण्डारीसँग कोरोना भाइरसविरुद्ध लड्न नगरपालिकाले गरेको पहलको विषयमा केन्द्रित रहेर थाहाखबरकर्मी महेश्वर अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :   

कोल्हवी नगरपालिकामा कोरोना भाइरस प्रकोप संक्रमण नियन्त्रण र रोकथामका लागि कसरी काम भइरहेको छ?

 हाम्रो नगरपालिकाले प्रारम्भिक अवस्थादेखि नै कोरोना संक्रमणबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्‍यो। त्यसमा हामी जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी खटिएर नगरवासीलाई सचेतना जगाउन काम गरेका छौं। नगर बाहिरबाट आएका जनतालाई संक्रमणका लक्षण देखिएमा राख्‍नका लागि ३५ बेडको क्वारेन्टाइन स्थापना गर्‍यौं।

सबै वडामा स्थापना गर्दा आवश्यक जनशक्ति र व्यवस्थापन गर्न असहज हुने भएकाले हामीले नेपाल राष्ट्रिय नमुना माध्यामिक विद्यालयमा नगरस्तरीय क्वारेनटाइन सञ्चालनमा ल्याएर व्यवस्थापन गरिरहेका छौं। यहाँ बाहिरबाट आउनेहरुको स्वास्थ्य चेकजाँच गरिरहेका छौं। त्यसैगरी सबै स्वास्थ्य चौकीमा हेल्थ डेस्‍क स्थापना गरेका छौं।

चेकजाँचमा ज्वरो देखिए वा अन्य संक्रमणको लक्षण देखिएमा क्वारेन्टाइनमा ल्याउने गरेका छौँ। संक्रममित क्षेत्रबाट आएकालाई क्वारेन्टाइनमा र त्योभन्दा फरक ठाउँबाट आएकालाई आवश्यक सल्लाह दिएर होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्दै आएका छौं।

अहिलेसम्म क्वारेन्टाइनमा कतिजना राखिएको छ?

क्वारेन्टाइनमा अहिलेसम्म १० जनालाई राखियो। त्यसमध्ये ९ जनालाई डिस्चार्ज गरिसकिएको छ। ४ जनालाई २१ दिन राखेर बिदा गरिएको छ भने, अरूलाई १४ दिनसम्म राखियो। त्यसमा २ जनामा स्वास्थ्य समस्या देखिएकाले थप उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको थियो। अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले घर पठाइएको छ।

लकडाउनका कारण प्रभावित भएका नगरवासीलाई कसरी राहत वितरण गर्नुभएको छ?

हामीले एकद्वावार प्रणालीबाट राहत वितरण गरेका छौं। प्रत्येक वडामा प्रशासन, जनप्रतिनिधि, राजनीतिकर्मीसहितको सर्वदलीय समिति बनायौं। त्यो समितिको सिफारिसमा नगरस्तरीय विपत् व्यवस्थापन समितिमा छलफल गर्‍यौं। त्यसपछि कार्यपालिकाबाट निर्णय गराएर राहत वितरण कार्यविधि निर्माण गरेर त्यसको आधारमा राहत वितरण गरेका छौं।

नगरपालिकाको राहत कार्यविधिअनुसार परिवारको संख्याका आधारमा राहतलाई तीनवटा प्याकेज बनाएका छौं। ३ हजार २ सय ८६ घरपरिवारलाई हामीले राहत वितरण गरिसकेका छौं।

राहत वितरणलाई व्यवस्थित बनाउन राहत पाउनेलाई अघिल्लो दिनमै कुपन उपलब्ध गराइएको थियो। सामाजिक दूरीलाई कायम गर्दै राहत बोकेको गाडी घरअगाडि पुगेपछि कुपन बुझाएर राहत लैजाने गरेर व्यवस्थित रुपमा वितरण गरिएको छ।

राहत वितरणका लागि बजेट व्यवस्थापन कसरी गरिएको छ? राहत वितरणले विकासका लागि चालु आर्थिक वर्ष २०७६-०७७ मा छुट्याईएको बजेटमा कस्तो असर पर्छ?

नगरपालिकाको विपत कोषमा हामीले २० लाख बजेट राखेका थियौं। त्यसैगरी प्रदेश सरकारबाट १५ लाख आएपछि ३५ लाख र नगर विकास कोषबाट निकालेर राहत वितरणका लागि खर्च गरिरहेका छौं। सबैको हरहिसाब राखेर खर्च गरिएको छ। नगर विकासबाट भएको खर्चले योजनाहरू सञ्चालनमा प्रभाव पर्ने निश्चित छ।

आगामी वर्षे अधिवेशनबाट संशोधन गरेर जानेगरी विकास अन्तर्गतको बजेट खर्च गरेका छौं। हाम्रो ११ वटा वडामध्ये ९ वटा वडामा एक करोड ५ लाखका दरले र दुई वटा वडामा एक करोड ५० लाख बजेट विनियोजन गरिएको थियो।

अब त्यो बजेटबाट दुईवटा वडामा ३७ लाखका दरले र ९ वटा वडामा २५ लाखका दरले कटौती हुन्छ। लकडाउनको प्रभावले राजस्‍व संकलनसमेत प्रभावित हुने अवस्था रहेकाले विकास बजेटबाट नै राहतमा खर्च गरेका छौं।

भोटका लागि गाडी पठाउने नेताहरूले अलपत्र परेको बेला घर फर्किन वास्ता नगरेको गुनासो आइरहेको छ। यस्तो गुनासो सम्बोधन गर्न नगरपालिकाले कत्तिको ध्यान दिएको छ?

लकडाउनको अर्थ नै एक ठाउँका व्यक्ति अर्को ठाउँमा नजाऊन् भन्ने हो। तर पनि नगरबाहिर धेरै नगरवासी ५ दिनसम्म हिँडेरै आउने क्रम सुरु भयो। जसरी पनि घर आइपुग्ने भनेर हिँडेर आउने क्रम निरन्तर चल्न थाल्यो। हुन पनि कोठामा बस्दा काम गर्न नपाएपछि खानाको समस्या हुन थालेको महसुस भयो।

त्यसपछि मैले कार्यपालिका बैठक आह्वान गरेर वडा अध्यक्षसँग छलफल गरेँ। काठमाडौंमा संक्रमणको अवस्था पनि नभएको र निश्चित समयसम्म होम क्वारेन्टाइनमा बसेकाहरूलाई संक्रमणको जोखिम नहुने भएको र जसरी पनि हिँडेर आउने अवस्था भएकाले नगरपालिका आफैँले सावधानी अपनाएर ल्याउन उचित हुने निष्कर्षमा पुग्यौं। त्यहाँबाट ल्याइएकाहरूलाई हामीले आफ्नो निगरानीमा रेकर्ड राखेर चेकजाँच गरेर घर पठाउने वातारण बनाउनका लागि विभिन्न माध्यम प्रयोग गरेर सम्पर्कमा आउन आह्वान गर्‍यौं।

तीन दिनसम्ममा उनीको नाम र मोबाइल नम्बरसहित तथ्यांक संकलन गरेर ४ सय २५ जनालाई १२ वटा बसमा दुई दिनसम्म गरेर घर फर्काएका छौं। हाम्रो सम्पर्कमा आएका सबैलाई बसमा ल्याएर हेल्थ डेस्‍कबाट स्वास्थ्य परीक्षण गरेर होम क्वारेन्टाइन, सरसफाइ र सामाजिक दूरीबारे प्रशिक्षित गरेर अनुरोधसहित घर फर्काएका छौं।  

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि आवश्यक स्वास्थ्य सामग्रीको अवस्था के छ? त्यसका लागि नगरपालिकाले खरिद गर्ने योजना बनाएको छ कि माथिल्लो तहसँग माग गर्नुभएको छ?

हामीले प्रदेश सरकार र संघीय सरकारसँग माग गरेका छौं। त्यहाँबाट पाउने अवस्था नदेखेपछि नगरपालिका आफैँले दुईपटक गरी काठमाडौंबाट ६० थान पिपिई ल्याएका छौं। वडामा सञ्चालित खोप कार्यक्रममा खटिने स्वास्थ्यकर्मी, क्वारेन्टाइनमा खटिएका ३० जना स्वास्थ्यकर्मी र दुई ठाउँमा बर्थिङ सेन्टर, हेल्थ डेस्‍कमा खटिएका कर्मचारीलाई पिपिई उपलब्ध गराएका छौं।

अझैं हामीलाई १४ थान अपुग रहेकोमा भर्खरै कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र निजगढले ५ थान सहयोग गरेको छ। मास्क लगायतका सामग्रीको पनि आवश्यक छ।

हामी आफैँले सेनिटाइजर उत्पादन गरेका छौं। बाहिर खरिद गर्दा निकै महँगो भएकाले आवश्यक केमिकल ल्याएर विज्ञको परामर्शमा सेनिटाइजर तयार गरेर क्वारेन्टाइन, विभिन्न कार्यालयमा सहज रुपमा पुर्‍याइरहेका छौं।

सामानको कमी भएर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई हुने अप्ठ्यारोसम्बन्धी  कुनै पनि गुनासो नआउने गरी काम गरिरहेका छौं। सुरक्षाकर्मीलाई सुरक्षा गस्तीका लागि सहयोग होस् र लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन होस् भनेर नगरपालिकाकै दुईवटा सवारीसाधन प्रयोग गर्न दिएका छौं।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारी दिनरात खटिइरहेका छन्। राहत वितरणका लागि कर्मचारीले रातभरि प्याकिङ गर्ने काम गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.