|

डोल्पा : डिभिजन वन कार्यालय डोल्पाले पनि पनि यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाउने भएको छ।शनिबार जिल्लास्थित सम्पूर्ण सरोकारवाला निकायसँग छलफल गरेर वन कार्यालयमातहत सम्पूर्ण सामुदायिक वनमा यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

कोरोना भाइरसविरुद्ध सतर्कता अपनाउन यस्तो निर्णय गरिएको वन अधिकृत जितेन्द्र महतले जानकारी दिए। प्रतिबन्धपछि पनि कुनै पनि व्यक्ति वा समूहले पाटनमा पुगेर यार्सागुम्बाको चोरी पैठारी गरेको पाइएमा कडा कारवाही गरिने अधिकृत महतले बताए।अघिल्लो वर्षसम्म वन कार्यालयमाताहत करिब २० वटा सामुदायिक वनमा यार्सागुम्बा संकलन हुने गरेको थियो।

बैठकमा उपस्थित नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा, उद्योग वाणिज्य संघ डोल्पाका अध्यक्ष लालीमान बुढा र कतिपय जनप्रतिनिधिले जिल्ला प्रवेश गर्ने नाका बन्द गरेर डोल्पालीलाई मात्र यार्सा संकलन गर्न दिनुपर्ने धारणा राखेका थिए।

डोल्पाली जनताको आर्थिक उपार्जनको मुख्य स्रोत नै यार्सागुम्बा भएकाले संकलन बन्द भएपछि आइपर्ने खाद्य संकटका विषयमा तीनै तहको सरकार जिम्मेवार हुनुपर्ने नागरिक समाजका डोल्पाका अध्यक्ष बुढाले बताए।

त्यसैगरी ठूलिभेरी नगरपालिकाका प्रमुख गणेश बहादुर शाहीले संक्रमणकालीन अवस्थामा जनतालाई संकट परेको अवस्थामा विकास योजना कट्टी गरेर जनताको पेट भर्ने ग्यारेन्टी गरे। डोल्पा र डोल्पाली जनतालाई महामारीबाट जोगाउनकै लागि यस वर्ष सुरुमै विपत् व्यवस्थापन समितिको बैठकबाट निर्णय गराएरै यार्सा संकलनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।

डोल्पाका पाटनमामा हुने यार्सागुम्बाको अवैध चोरी निकासि रोक्न स्थानीय सरकार, सामुदायिक वनलगायत सरोकारवाला निकायसँग सहकार्य गरेर सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरिने प्रजिअ सुनारले बताए।

यसअघि जिल्ला विपत् व्यवस्थापन समिति र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले आधिकारिक निर्णय गरेरै यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेका छन्। यार्सागुम्बा रोक लगाउने निर्णय गरिएसँगै डोल्पाली जनता भने चिन्तामा परेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.