|

नवलपरासी : सधैं सवारी चाप अनि धुलो धुँवाले ग्रसित हुने पूर्वपश्चिम राजमार्ग सुनसानजस्तै छ। लकडाउनका कारण राजमार्गमा अत्यावश्यक सवारीसाधन मात्र गुडेका छन्। खाद्यान्न, इन्धन बोकेका गाडी, एम्बुलेन्स, सुरक्षाकर्मीका सवारीसाधन, अत्यावश्यक अवस्थामा पास लिएर सञ्चालनमा आएका गाडी राजमार्गमा चलिरहेका छन्। 

पास लिएर वा नलिइकनै सवारीसाधन चलेका छन् भनी प्रहरीले चेकजाँच गरिरहेका छन्। कतिपय सवारीसाधन भने बिनापास चलेका र लकडाउन उल्लंघन गरेको भनी प्रशासनले नियन्त्रणमा पनि लिने गरेको छ। पछिल्ला केही दिनयता राजमार्गमा सवारी चाप लकडाउनको सुरुवाती दिनभन्दा बढेका देखिन्छन्। 

अत्यावश्यक र अनुमतिप्राप्त सवारीबाहेक गिट्टीबालुवा बोकेका टिपर, फलाम तथा कोइला बोकेका ट्रक पनि गुडिरहेका छन्। बिनाअनुमति यसरी चलेका सवारीसाधन भने अहिले प्रहरीको टाउको दुखाइ बनेको छ। 

प्रहरीले सवारी पास चेकजाँच गर्ने क्रममा पासबिनाका मालबाहक सवारीसाधनले अटेर गरिरहेका छन्। उनीहरुलाई प्रहरीले सम्झाउन खोज्दा उच्च पदस्थ व्यक्तिहरुको फोन आउनाले लकडाउनमा कडाइ गर्न नसकिएको प्रहरीहरुले बताउने गरेका छन्। त्यस्ता गाडीलाई प्रहरीले रोकिहाल्यो भने पनि ‘माथि’बाट फोन आउने र छोड्नका लागि दबाब दिइने गरिएको सडकमा खटिएका सुरक्षाकर्मीले गुनासो गरेका छन् ।

‘लकडाउनको समयमा अत्यावश्यक र पासबाहेकका गाडी संचालनमा रोक लगाउने सरकारको निर्णय छ। त्यसकै आधारमा हामीले चेकजाँच गरेर पास नभएको भए रोक्ने गरेका छौं तर रोक्न नपाउँदै उच्च ओहोदामा भएका ब्यक्तिहरुले फोन गरेर गाडि छोड्नका लागि दबाब दिने गर्नुहुन्छ,’ ड्युटीमा रहेका एक प्रहरी अधिकारीले भने, ‘यस्तो समस्याले हैरानी बेहोर्नुपरेको छ।’

अहिले विभिन्न सिमेन्ट फ्याक्ट्रीबाट लोडेड गाडीहरु, विभिन्न उद्योगहरुमा कोइला बोकेका गाडीहरु बिनापास राजमार्गमा निर्बाध हुइँकिरहेका छन्। कतिपयले त स्थानीय तहले आफ्नो स्थानीय तहभित्र मात्र चल्न पाउनेगरी जारी गरेको पास बोकेरै कयौं जिल्ला पार गर्ने र एक प्रदेशबाट अर्कोमा जानेसमेत गरेको ती प्रहरीले बताए। यो पास काम लाग्दैन, जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास देखाउनुस् भन्दा उल्टै झर्किने गरेका समेत उनले गुनासो गरे। 

‘कसैलाई रोक्ने कसैलाई छोड्ने गरे प्रहरीले पक्षपात ग¥यो भन्ने आरोप आउँछ। त्यही विषयमा प्रहरीले अनावश्यक दुख दियो भनेर अतिरञ्जित गर्छन्।’ अर्का प्रहरीले नाम नराखिदिने सर्तमा भने। 

पश्चिम नवलपरासीको बर्दघाटस्थित प्रदेश ५ को पूर्वी प्रवेशद्वारमा पनि सुरक्षा उपस्थिति रहेकै हुन्छ । त्यहाँ जनपथ प्रहरीसँगै सशस्त्र प्रहरीको पनि उपस्थिति छ। त्यहाँ दैनिकजसो प्रदेश ५ हुँदै बाहिरिने र प्रदेश ४ बाट आएका सवारीसाधन रोकिएकै हुन्छन्। कुनैको पास नभएको त कुनै ओभरलोड भएका हुन्छन् तर पनि ती सवारीसाधन कारबाहीमा भने पर्दैनन्।

गाडी रोकिएसँगै छोड्न दबाब दिँदै फोन आउने क्रम सुरु हुन्छ। पावरका आधारमा बिनापास मालसामान ओसारपसार गर्ने गर्दा आम सर्वसाधारण जो पावरमा हुँदैनन् उनीहरुले भने सास्ती भोग्नुपरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.