यसरी खुम्चिँदै छ स्वतन्त्र प्रेस

|

प्रेस स्वतन्त्र हुनुपर्छ, सञ्‍चार कर्ममा लागेका सञ्‍चारकर्मीको दैनिकी सहजताका साथ चल्नुपर्दछ। यसमा कसैको दुई मत छैन, हुँदैन। तर, के हाम्रो प्रेस स्वतन्त्र छ? हामी सञ्‍चारकर्मी सहज जीवनयापन गरिरहेका छौँ त?  तथ्य र तथ्याक नबंग्याई हेर्ने हो भने यतिखेर व्‍यावसायिक प्रेस र व्‍यवसायमै निर्भर सञ्‍चारकर्मिको संख्या केही हजारबाट उकालो लागेको अवस्था हो।

व्‍यावसायिक पत्रकारिता, मिसन पत्रकारिता, पार्टी पत्रकारिता र दलाल पत्रकारितामा वर्गीकरण भएको वर्तमान सञ्‍चारकर्म हिजो,आज र भोलिको सम्भावनामा छलफल गरेर शुद्धीकरण अभियानमा लाग्‍न ढिला भइसकेको छ।

पञ्‍चायतको निर्दलीय निरंकुशताविरुद्ध चलेका कलम, प्रजातन्त्र स्थापनार्थ क्रियाशील पत्रकार र व्‍यक्तिगत समस्याभन्दा माथि उठेर गरिएको हिजोको पत्रकारिता कति चुनौतीपूर्ण थियो। भोगेका अग्रजहरूको मानसपटलमा पक्कै पनि स्मरण ताजै होला।

 व्‍यवसायिकताबाट कमाउकारिता तिर

प्रेस स्वतन्त्रता भनेको छाडातन्त्र होइन ,पत्रकारिताले लाभहानिमा मोलमोलाइ गर्नु अपराध हो भन्ने यथार्थबाट हामी भाग्‍न थाल्यौँ भने प्रेस स्वतन्त्रताको मूल्य, मान्यता र सम्मानको हालत के होला? अधिकार बिनाको चौथो अंग स्वतन्त्र हुनुपर्दछ स्वार्थी समूहको भकुण्डो बन्‍ने अस्वस्थ प्रतिस्पर्धाको अन्त्य होस्। विश्व प्रेस स्वतन्त्रता नारा र दिवसमै सीमित नहोस्।

बदलिँदो विश्वपरिवेश सँगसँगै बामे सरेको हाम्रो प्रेस प्रविधिको यो युगसम्म आइपुग्दा अद्यावधिक भएकै मान्‍नु पर्दछ। विकसित घटनाक्रमलाई खोतलेर हेर्दा समाचार सम्प्रेषण र सुसूचित गर्ने पवित्र कर्मविपरीत ब्रेकिङका नाममा अस्वस्थ प्रतिस्पर्धाको होडबाजीको समस्या प्रेसको अहिलेको यथार्थ हो। 

हामी व्‍यावसायिक कम, प्रतिस्पर्धी बढी हुन खोजेका छौँ। समाचार सम्प्रेषण नागरिकप्रति लक्षित हुनु पर्नेमा लाभहानिमा केन्द्रित भएर व्‍यावसायिक मूल्यमान्यता भुल्दै गएको यथार्थ कसैबाट छिपेको छैन।

हो,अब विकृति, विसंगति, भ्रष्टाचार र कुशासनप्रति औँला सोझ्याउने हामी सञ्‍चारकर्मी आफैँमाथि चोर औँला उठ्यो भने जवाफदेही हुनुपर्ने कि नपर्ने त? हाम्रो कर्म र हामी,नागरिक र समाचारबीचको संवादसेतु मात्रै हो भनिरहँदा आफ्नै कर्मप्रति इमानदार हुने कि नहुने? सञ्‍चारकर्मप्रतिको विश्वास कमजोर बन्दै गएकोमा चिन्तित हुने कि यस्तै हो भनेर गैरजिम्मेवार बन्‍ने?

अहिलेको पत्रकारिता क्रमश: व्‍यवसायिकताबाट कमाउकारितामा रूपान्तरित हुने क्रम बढिरहेको छ। यो चिन्ताको विषय हो। अग्रजले आँखा चिम्लिने सिकारुले प्रेसको नाममा मैमत्ता हुने हो भने पत्रकारिताको अगाडि थपिने पीत शब्दको उपयोगिता बढ्नेछ।

भयावह हुँदै छ सञ्‍चारकर्म

प्रेस स्वतन्त्रता भनेको छाडातन्त्र होइन ,पत्रकारिताले लाभहानिमा मोलमोलाइ गर्नु अपराध हो भन्ने यथार्थबाट हामी भाग्‍न थाल्यौँ भने प्रेस स्वतन्त्रताको मूल्य, मान्यता र सम्मानको हालत के होला? अधिकार बिनाको चौथो अंग स्वतन्त्र हुनुपर्दछ स्वार्थी समूहको भकुण्डो बन्‍ने अस्वस्थ प्रतिस्पर्धाको अन्त्य होस्। विश्व प्रेस स्वतन्त्रता नारा र दिवसमै सीमित नहोस्।

ओझेलमा परेको यो दिवस, दिवसै दिवसको भिडभाडमा परेको सञ्‍चार तथा प्रसारण दिवस स्मरण कतिले गरे गरेनन् भन्दा पनि ओझेलमा परेका कारण स्मरण गर्ने औपचारिकता पूरा गरेको मात्र हो। महामारीको प्रताडना एकातिर व्यवसायमाथिको चुनौती अर्कातिर बोकेर सञ्‍चारकर्ममा व्यस्त सञ्‍चारकर्मीको वेदना सुन्‍ने न निकाय छ न त सुनाएर चुलो बल्नेवाला छ।

कोरोना संक्रमणभन्दा भयावह हुँदै छ सञ्‍चारकर्म। राज्यले आफूलाई असहयोग गरेको आक्षेपयुक्त चुनौती एकातिर र नागरिकलाई सूचित गर्नुपर्ने उत्तरदायित्व सँगसँगै बुझेर कर्म गर्नु परिरहेको अहिलेको परिस्थिति सञ्‍चारकर्मीका लागि चानचुने छैन। लकडाउन कोरोना संक्रमणबाट सुरक्षित रहनु यसका लागि पहिलो कदम हुनेछ। त्यसपछि अपनाउने विविध उपायहरू होलान्।

लकडाउन भएको पहिलो दिनदेखि अझ बढी जिम्मेवारीका साथ कर्ममै समर्पित सञ्‍चारकर्मीको समस्या र चुलो बल्यो/बलेनतर्फ कहीँ कतैबाट चर्चा भएको सुनिएको छैन। अरूका समस्या खोतल्दै समाधानको बाटो देखाउने सञ्‍चारकर्मी कति अप्ठेरोमा छन्? नत राज्य संवेदनशील देखिन्छ न कुनै अन्य निकाय। छाता संगठनको झल्लरी छाता ओडेको पत्रकार महासंघ त प्राणपखेरू उडेको मृत प्राय जस्तै भइसकेको छ। वक्तव्यमै सीमित महासंघ पत्रकार र पत्रकारिताको धर्म र मर्म बिर्सिएको अल्जाइमर्स रोगीझैं देखिनु दु:खको कुरा हो।

संक्रमणको चुनौतीसँग लडदैभिड्दै कर्म गरिरहेका पत्रकारहरू यतिखेर साँच्चै खलिखाने वीर जस्तै सावित भएका छन्। सञ्‍चारकर्मी र सञ्‍चार उद्दमी दुवै आर्थिकमारको चपेटामा परेको तर्फ ध्यान किन पुग्‍न सकिरहेको छैन?  को हो त जवाफदेही? सञ्‍चारउद्यमीले कतिसम्म लगानी गरिरहने र सञ्‍चारकर्मीले कहिलेसम्म आफ्नो पीडा लुकाएर कर्म गरिरहने?

विकल्प खोजौं

बहसभन्दा समाधान खोज्‍ने बेला हो यो। कसले खोज्‍ने त समाधान? समाधानकै लागि उठ्ने यो प्रश्‍नमाथि जिम्मेवार निकायका अग्रजहरू किन मौन छन्। विज्ञापन र प्रायोजनबाट जीविकोपार्जन गर्नुपर्ने सञ्‍चार उद्यम यतिखेर जरजर अवस्थामा पुगेको हो नै भने विकल्प खोजौँ, विकल्परहित भइसकेको हो भने व्‍यवसाय बन्द गरौं। संकटको लगानी र भोका पत्रकारको भारी बोकेर स्वतन्त्रताको नाराले कति घिस्रिन सक्छ हाम्रो पत्रकारिता टुंगो छैन ।

घटनालाई दुर्घटनामा पुर्‍याउनुभन्दा घटनास्थलमै स्थगित गर्नु बुद्दिमानी ठहर्ने कुरामा सायद कसैको दुईमत होला। होइन, विकल्प छ र हामी अहिलेको यो चुनौतीसँग भिडेर यसरी बाहिर निस्कन्छौँ भन्‍ने योजनासहित सञ्‍चार उद्दमी अग्रसर भएकै हुन भने यो स्वागतयोग्य हुने नै छ। तर अस्पष्टताका साथ जे हुन्छ-हुन्छ हेर्दै जाऊँ भन्‍ने सोचले मात्रै हिम्मतिलो हुने प्रयास गरेको हो भने सञ्‍चार क्षेत्रमै परकम्प आउने पक्कापक्की छ।

आज राष्ट्रिय सञ्‍चार तथा प्रसारण दिवसको स्मरणमा तीतो यथार्थ राखेको छु। कर्मवीरहरू आ-आफ्नो कर्मक्षेत्रबाटै ऐक्यबद्धता जनाउन अग्रसर हुनुहोला भन्‍ने विश्वास जागेको छ। सबैमा शुभकामना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.