चीनबाट जहाजमा ल्याउने सरकारले मजदुरलाई चिनेन

|

काठमाडौं : कोरोना भाइरस फैलिन नदिन भारतले लकडाउन लम्ब्याइरहेका बेला भारतको उत्तरप्रदेशस्थित लखनपुरमा रोकिएका ७२ नेपालीको बिजोग भएको छ। नेपालका विभिन्‍न जिल्लाबाट श्रमका लागि भारत पुगेका उनीहरू अहिले उद्धारको पर्खाइमा छन्। 

३३ दिन देखि लकडाउनमा फसेका उनीहरुले एकै कोठामा कोचिएर बस्‍नुपरेको दुखेसो गरेका छन्। चितवन घर भएका क्रिश गुरुङले आफूहरूलाई एउटै कोठामा थुनेर राखिएको बताएका छन्। 

एकातिर कोरोनाको ड छदैँछ। अर्कोतिर एउटै कोठामा धेरै बस्दाको कष्ट भनिसाध्य नभएको उनले बताए। 'हामी कसैको स्वास्थ्यको चेकजाँच गरिएको छैन। न त बाहिर जान दिइएको छ। हामी यहाँ बिजोगले बाँचेका छौं। हामीलाई उद्धार गरिदिनुपर्‍यो', उनले भने, 'नेपालमा गएर सरकारले जति दिन क्‍वारेन्टाइनमा बस भने पनि तयार छौं। तर, सरकारले हामीलाई कोरोनाको भाइरस नै ठानेको छ।'

उनीहरूलाई पटक पटक नेपाल पठाउने आश्‍वासन  दिए पनि नेपाल सरकराले सीमा नाका बन्द गरेका कारण नेपाल आउन नसकेको बताउँछन्।

लखनपुरमा अलपत्र गुरूङ जस्तै गोरखाका रिङबहादुर थापाले सरकारले आफूहरूको गुनासो नसुनेको बताएका छन्। ७ महिनाअघि भारत गएका उनको गुनासो पनि उस्तै छ। उनले भने, 'हामी यहाँ बसेको ३३ दिन हुँदा पनि न राज्यले हाम्रो खोजी गरेको छ। न यहाँका सरकारी निकायले कुनै सुनुवाई गरेको छ। हामीलाई उद्धार गर्ने कोही भएन।'

विश्‍वका अधिकांश मुलुकले  नेपालबाट आफ्ना नागरिक स्वदेश फर्काउन तयार रहेका नेपालले आफ्ना नागरिक फिर्ता बोलाउन नसकेको उनीहरूले गुनासो गरेका छन्। उनीहरू प्रश्‍न गर्छन, 'कोरोना भाइरसका कारण चीनमा अलपत्र परेका नेपालीलाई  स्वदेश फर्काउन सक्ने नेपाल सरकारले श्रम गर्न भारतमा पुगेका नेपालीलाई  फर्काउन किन सक्दैन?'

थापाका अनुसार उनीहरूले लखनपुरका प्रमुख जिल्ला अधिकारीसँग पनि आफ्ना गुनासा सुनाइएको थियो। तर, नेपाल-भारत नाका बन्द रहेकाले पठाउन नसकिने बताएको जानकारी दिए। उनले भने, 'अधिकारीले नेपाल सरकारले बोर्डर सिल गरेको छ। हामीले नेपाल पठाउन मिल्दैन भनेका छन्। नेपाल सरकारले हामीलाई हेरेन।'

लखनपुरमा आएिछी १४ दिन क्‍वारेण्टाइनमा बस्‍नुस्, त्यसपछि नेपाल पठाउने व्यवस्था गरिदिन्छु भन्‍ने जिल्ला प्रमुख अधिकारीले पटक पटक झुक्काएको थापाको गुनासो छ। 'हामी क्‍वारेन्टाइनमा बसिसकेका छौं। नेपाल गएर पुन क्वारेन्टाइन बस्नुपर्छ भने पनि तयार छौं। तर, परदेशमा बिनाकारण मर्न सकदैनौं', उनले भने।

भारतको केन्द्रीय सरकारका अनुसार यी १४ दिनसम्म रेड जोन घोषित क्षेत्रमा कुनै किसिमको सुविधा र छुट दिइने छैन। भारत सरकारले थपिएको लकडाउनमा पनि रेल र बस संचालनमा लगाइएको प्रतिबन्ध जारी राखेको छ। स्कुल, कलेज पनि खुल्ने छैनन्। ओरेन्ज र ग्रीन जोनमा थोरै सहुलियत दिइने भएको छ।

भारतमा सबैभन्दा पहिले २१ दिनको लकडाउन गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले २५ मार्चदेखि १४ अप्रिलसमम्म पहिलो लकडाउन लगाएका थिए। त्यसपछि १५ अप्रिलदेखि ३ मेसम्म १९ दिनका लागि दोस्रो लकडाउन लगाइएको थियो। तर यस पटक गृह मन्त्रालयमार्फत लकडाउन बढाउने घोषणा गरेको थियो।

सुर्खेतका भक्ती प्रसाद चौलागाईं भारत गएको ७ महिना भयो। उनले पनि एक कम्पनीमा काम गर्थे। उक्त कम्पनीले उनलाई पनि निकालिदियो। उनले काम गरेको पारिश्रमिक पनि नदिएको गुनासो गरेका छन्।

'हाम्रो साथमा पर्याप्त पैसा पनि छैन। परिवार आफन्तलाई पनि आफ्नो  हालखबर सुनाउन पनि  सकिएको छैन,' उनले भने, 'कोरोनाले भन्दा पहिले तनाव र बेचैनीले ज्यान जाने भयो।'

ग्यालेज ट्रेण्डिङ इण्डिया प्राइभेट कम्पनीमा काम गर्ने चौलागाईंले आफुहरूलाई कम्पनीबाट निकालेको गुनासो गरे। भारतमा  केही दिनअघि लकडाउन खुकुलो गरेका बेला कम्पनीले नेपाल जाऊ भनेर पठाएको थियो। तर, सवारी साधन उपलब्ध नभएपछि उनीहरू ट्रक र पैदल गरि लखनपुर आइपुगेका हुन्। 

उनको कम्पनीमा ४ सयको हाराहारीमा नेपाली काम गर्ने गरेका थिए। अरु नेपाल पुगिसके पनि आफूहरू भने भारतमा अलपत्र परेको उनी बताउँछन्। कोरोनाले भारतमा अहिलेसम्म ३९ हजार ९ सय ८० जना बिरामी छन्। 

जसमा १३ सय २३ जनाले ज्यान नै गुमाइसकेका छन्। चौलागाईं भन्छन्, 'भारतमा संक्रमण बढ्दै गएको छ। अहिले हामीलाई कोरोना छ या छैन भनेर चेकजाँच पनि गरिएको छैन। हामी तनावमा छौं, सरकारले उद्धार गरिदेओस्।'

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.