१९ जनालाई क्वारेन्टाइनमा राखियो

|

बैतडी : भारतीय सीमाका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि यहाँको क्वारेन्टाइनमा नबसी घर गएका पाइएको छ। भारतीय क्वारेन्टाइनमा बसेकाहरुलाई नेपालमा पनि दुई हप्ता क्वारेन्टाइनमा बस्ने शर्तसहित गत बिहीबार स्वदेश ल्याएपनि कतिपय नागरिक क्वारेन्टाइनमा नबसी घर गएकाले प्रहरीले उनीहरुको खोजी गर्न थालेको हो।

जिल्लाको दशरथचन्द नगरपालिकाका २१ जना मध्ये १९ जना क्वारेन्टाइनमा नबसी बाटोबाटै घर गएपछि प्रहरीले खोजी गर्दै क्वारेन्टाइनमा ल्याएको छ। क्वारेन्टाइनमा नबसी घर गएकाहरुलाई घरबाटै खोजेर क्वारेन्टाइनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।

सीमाबाट फर्केका जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु नै क्वारेन्टाइनमा बस्न नमाने उनले बताए। सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट फर्केका हरेक नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने निर्देशिका जारी गरेको छ। तर त्यसको विपरीत भारतबाट फर्केकाहरु घरमा गएपछि प्रहरीले घरबाटै खोजेर क्वारेन्टाइनमा राखेको हो।

जिल्लाका अरु ठाउँका नागरिक क्वारेन्टाइनमा नबसेका जानकारी आएको छैन। त्यस्तो जानकारी आएमा प्रहरीले खोजी गरेर क्वारेन्टाइनमा ल्याउने प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए। 

गएको बिहीबार झुलाघाट नाकाबाट एक हजार २९९ नागरिक स्वदेश फर्किएका थिए। त्यस्तै धारचुला नाकाबाट पनि धेरै नागरिक स्वदेश फर्किएका थिए। दुवै नाकाबाट बैतडीको पुर्चौंडीका मात्रै ८४८ जना स्वदेश फर्किएका छन्।

यसैबीच कोरोनाको जोखिम बढेको भन्दै बैतडीको भारतसँग सीमा जोडिएका घाटहरु बन्द भएका एक महिना बढी भइसकेको छ। ६२ किलोमिटर सीमा क्षेत्रमा सुरक्षार्थ सशस्त्र प्रहरी समेत खटाइएको छ।

तर पनि विभिन्न ठाउँबाट ट्युबबाट महाकाली तरेर आउने क्रम अझै रोकिएको छैन। शनिबार मात्रै महाकाली नदी तरेर शिवनाथ गाउँपालिकाका १० भन्दा बढी नागरिक भित्रिएका छन्। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ। महाकाली नदीमा ट्युबमार्फत आउने मानिसहरु लुकेर आउँदै सीधै घर गएर बसेका हुन सक्ने भएकाले प्रहरीले भारतबाट आएकाहरु खोजी गर्ने कार्य तीव्र पारेको छ।

गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

अपांगता भएका नागरिकहरुको पुर्नस्थापना केन्द्र बैतडीले सुर्नया गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अपांगता भएका नागरिकहरुको पुनर्स्थापना केन्द्रका अध्यक्ष अम्बादत्त भट्टले जानकारी दिए।

केन्द्रले गाउँपालिकालाई दुई सय बोतल सेनेटाइजर, एक हजार थान सर्जीकल मास्क, २० थान एन ९५ मास्क, एक थान इन्फ्रारेड थर्मा्मिटर र ७२ गोटा साबुन हस्तान्तरण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।

केन्द्रले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई केही सजिलो हुने गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.