|

भारतको तमिलनाडुका मुख्यमन्त्री ओ पन्निरसेल्भमले आफूलाई पदबाट राजीनामा दिन बाध्य पारिएको प्रतिक्रिया दिएपछि अन्नाद्रमुक पार्टीभित्र विवाद चर्किएको छ। यही प्रतिक्रियाकै कारण उनलाई पार्टीबाट निष्कासन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गएराति पूर्व मुख्यमन्त्री जयललिताको समाधिमा  गई ४० मिनेट बसेका पनिरसेल्भमले सञ्चारकर्मीसंँग कुरा गर्दै आफूलाई जानकारी नदिई बोलाएको पार्टीको संसदीय दलको बैठकमा राजीनामा दिन बाध्य पारिएको बताए। यस्तै संसदीय दलको नेतामा भी के शशिकलाको नाम प्रस्ताव गर्न दबाब दिएको आरोप लगाए। 

पन्निरसेल्भमलले गत आइतबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। महासचिव र मुख्यमन्त्री एउटै व्यक्ति हुनुपर्ने भन्दै शशिकलालाई मुख्यमन्त्री बनाउन पार्टीका वरिष्ठ नेता, सांसद, मन्त्री र शशिकलाका परिवारले दबाब दिएको उनको आरोप छ। आफू मुख्यमन्त्री बनिसकेपछि पनि वरिष्ठ मन्त्री र नेताहरुले बारम्बार अपमान गरेको उनले बताए।

पन्निरसेल्भमले महासचिव शशिकला मुख्यमन्त्री योग्य नभएको भन्दै आफू नभए पनि पार्टी र सरकारको छवि कायम राख्न सक्ने व्यक्तिलाई मात्रै मुख्यमन्त्री बनाउनुपर्ने तर्क गरेका छन्। उनको यो अभिव्यक्ति सार्वजनिक भएपछि गएराति अबेर बैठक बोलाई अन्नाद्रमुक पार्टीकी महासचिव शशिकलाले पनिरसेल्भमले पार्टीमा विद्रोह गरेको भन्दै पहिले कोषाध्यक्ष पदबाट र पछि पार्टीबाटै निष्कासन गरेकी हुन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.