|

सल्यान : कोरोना भाइरसको महामारीका कारण बन्द विद्यालयहरुमा नयाँ शैक्षिकसत्र कहिलेदेखि सञ्चालन गर्ने अन्यौल छाएको छ। 

विद्यार्थी भर्ना भएर पठनपाठन सुरु हुने समय भइसक्दा पनि भर्ना अभियान कहिलेदेखि सञ्चालन गर्ने भन्नेमा सरकार नै अन्यौलमा परेको छ। विषम परिस्थितिमा सूचना-प्रविधिको प्रयोग गरी पठनपाठन गर्ने चर्चा पनि हुन थालेको छ। 

तर सल्यानजस्ता ग्रामिण तथा दुर्गम ठाउँमा सूचना-प्रविधिको प्रयोग गरी पठनपाठन गर्न निकै चुनौती देखिएको छ। भौगोलिक विकटता, बिजुली र इन्टरनेट सुविधाको पहुँच सबै ठाउँमा नहुँदा सूचना-प्रविधिको प्रयोगबाट पठपाठन गर्न समस्या हुने शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताए। 

‘भर्चुअल कक्षाका लागि इन्टरनेट, मोबाइल, ल्यापटप, बिजुली आवश्यक पर्वाधार हुन, तर सल्यानमा झन्डै ८० प्रतिशतको पहुँच बाहिर छ,’ उनले भने, ‘२४सै घण्टा बिजुली र इन्टरनेट हाम्रो जस्तो पहाडी जिल्लामा उपलब्ध छैन, अभिभावक र स्वयम शिक्षक पनि यस विषयमा पहिले जानकार हुन आवश्यक छ।'  प्रविधि प्रयोगमा पछि रहेकाहरुलाई दक्ष बनाउन र त्यसको प्रयोगमा अभ्यस्त बनाउन धेरै समय लाग्ने नेपाली बताउँछन्‌।

अनलाइन त परको कुरा, सबै ठाउँमा राम्रोसँग फोनले समेत राम्ररी काम नगर्ने भएकाले सूचना-प्रविधिको माध्यमबाट कक्षा सञ्चालन सहज नभएको कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन्‌। उनले भनिन्‌, ‘गाउँपालिकाको केन्द्रमै मोबाइल फोनले राम्रोसँग काम गर्दै भने कहाँबाट इन्टरनेट चलाउनु र कक्षा सञ्चालन गर्नु?’ गाउँपालिकाका पाँच हजार २०० घरधुरीमध्ये ७५ घरधुरीमा मात्र टेलिभिजन सेट रहेको उनले बताइन। 

आधारभुत सूचनाको रुपमा रहेको फोन नै सबैठाउँमा नभएकाले भर्चुअल कक्षा तथा रेडियो टेलिभिजनबाट कक्षा सञ्चालन गर्न समस्या रहेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी 'अरुण'ले बताए। समय अनुसार प्रविधि उपयुक्त भएपनि भौगोलिक कठिनाई र पहुँचका कारण यो सिकाई उपयुक्त नहुने उनको भनाई छ। 

जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. पूर्ण बहादुर भण्डारीले चाहिँ उपयुक्त योजना र चाहना भए सूचना-प्रविधिको प्रयोगमार्फत पठनपाठन गराउन सकिने दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.