प्रत्येक वर्ष जहाज थप्‍ने लक्ष्य

|

काठमाडौं: नेपाल वायु सेवा निगमका अनुसार नेपालमा बाह्य हवाई उडानमा वार्षिक एक खर्बभन्दा बढीको व्यापार हुनेगर्छ। तर यसमा नेपालको हिस्सा भने नगन्य छ।

२९ वटा कम्पनीले बाह्य उडान गर्ने भएता पनि नेपाल एयर लाइन्सका ४ वटा विमान र हिमालय एयर लाइन्सका २ वटा विमानले मात्र अन्तराष्ट्रिय उडान भरेका छन्। भलै बुद्ध एयर भुटानको एक स्थान र भारतको एक स्थान चार्टर सेवा दिने गरेको छ। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अन्तराष्ट्रिय उडान भर्दा समेत १० प्रतिशत विजनेश पनि नेपालले अगेट्न सेकेको छैन।

नेपाल वायुसेवा निगमको अहिले आन्तरिक र बाह्य गरी जम्मा वार्षिक ६ देखि ७ अर्बको मात्रै विजनेश छ। हाल वायु सेवा निगमले अन्तराष्ट्रिय स्तरमा ४ वटा विमानमार्फत ८ स्थानमा उडान भरेको छ भने आन्तरिक क्षेत्रमा ५ वटा विमानबाट उडान भरेको छ। अब भने प्रत्येक वर्ष अन्तराष्ट्रिय उडानका लागि कम्तिमा एउटा एयर थप्ने र ९ वटा विमानमार्फत आन्तरिक उडान गर्ने तयारी निगमको छ।

अन्तराष्ट्रिय उडान

अहिले निगमले ४ एयरमार्फत ८ स्थानमा अन्तराष्ट्रिय उडान गर्दैछ। निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकारका अनुसार  २०१८ भित्रमा भने उसले दुईवटा पुराना विमान हटाउने छ भने दुईवटा नयाँ विमान किन्ने छ। यसो गर्दा निगममा अहिले जति विमान छन् २०१८ सम्म त्यति नै रहने छन्।

बराबर विमान भएर पनि फाइदाका लागि भने निगमसँग नयाँ सोच छ। त्यो सोच भनेको लन्डनको डाइरेक्ट फ्लाइट भर्नु हो। अहिले लण्डनबाट नेपालमा डाइरेक्ट फ्लाइट छैन। युरोपेली स्ट्याण्डर्ड पूरा नभएको भन्दै यो फ्लाइट रोकिएको छ। तर कंशाकारका अनुसार अबको केही समयमा युरोपेली मुलकले नेपालमा इयू स्ट्याण्डर्डको मान्यता दिने छ, यसका लागि पहल भइरहेको छ। ' हाम्रो वाइड बडी विमान आइपुग्दा हामीले इयू मान्यता पाउने छौँ र सिधै लण्डमा उडान भर्ने हाम्रो अर्जुन दृष्टि छ,' कंशाकारले अघि भने।

हवाई तथा उडान थप

निगमका प्रबन्ध निर्देशक कंशारकारका अनुसार पर्यटन व्यवसायीहरुले निरन्तर घच्घच्याइरहेका छन् निगमलाई। राष्ट्रिय ध्वजाबाहक नबढेसम्म पर्यटक वृद्धि नहुनेतर्फ उनीहरुले ध्यानकर्षण गराउँदै अाएका छन्। 'पर्यटन क्षेत्रमा कसरी फाइदा हुन्छ भनेर पनि पर्यटन क्षेत्रमा आवद्ध संघ संस्था, होटेल संघ, ट्राभल एजेन्सी तथा व्यक्तित्वहरुसँग पनि छलफल भइरहन्छ। उनीहरुको चाहना यति छ कि निगमले जहाज र उडान बढाओस्,' कंशाकारले भने।

कंशाकारका अनुसार अब भने केही समयमका लागि सकेसम्म वर्षको दुईवटा नभए पनि वर्षको एउटा विमान अन्तराष्ट्रिय उडानको लागि किन्ने अभियान नेपाल वायु सेवा निगमले सुरु गरेको छ। 'धेरै वर्षसम्म विमान किन्न सकिएन हाम्रो उडान कम हुँदै गएको छ अब भने विमान र उडान दुबै बढाउने सोचमा हामी छौँ,' कंशाकारले बताए। जसअनुसार आगामी असोजसम्ममा अमेरिकन कम्पनी एआरबाट दुईवटा वाइड बडी विमान खरिद गरिसक्ने लक्ष निगमको छ।

आन्तरिक उडान

आन्तरिक उडानमा समेत नेपाल वायुसेवा निगमको हिस्सा कम छ। तुलनात्मक रुपमा निजी क्षेत्रको तुलनामा भाडा कम भए पनि उडान कम हुँदा हवाई यात्रुले निगमको जहाजको भरपुर उपयोग गर्न पाएका छैनन्। गत सातामात्रै चीनबाट आएका दुई जहाजसहित आन्तरिक उडानका लागि निगमसँग ५ वटा विमान पुगेका छन्।

निगमले अब भने आन्तरिक उडानका लागिसमेत विमान थप्ने र तथा चल्न नसकेका विमान मर्मत सम्भार गर्ने रणनीति बनाएको छ। आगामी एकवर्ष भित्रमा वायु सेवा निगमले आन्तरिक उडानको लागि ९ वटा विमान चलाउने छ। अहिले चल्न सक्ने अवस्थामा रहेका ५ वटा विमान, दुईवटा टुइनटार विमान मर्मत सम्भारको लागि बोलकबोल भएको छ। यसो गर्दा निगमसँग ७ वटा पुग्छन् भने चीन सरकारसँग भएको सहमतिअनुसार चीनबाट अब आउने दुईवटा विमान आन्तरिक उडानमा प्रयोग गरिने छ।

निगमको भाडादरसमेत सस्तो भएको कारण पनि आन्तरिक उडानमा ९ विमान पुग्दा राम्रै हिस्सा अगटेने निगमको सोच रहेको छ।

खर्च कटौति

नाफा कमाउने अर्को शर्त हो, खर्च कम। निगमकले खर्च घटाउनका लागि केही योजना अघि सारेको छ। उसको पहिलो योजना ३० वर्ष चलिसकेको अमेरिकी वोइङ जहाज हटाउने रहेको छ। नयाँको तुलानामा २५ देखि ३० प्रतिशत बढी इन्धन खाने दुईवटा बोइङ जहाज निगमले २०१८ सम्ममा हटाइसक्ने छ।

यसका लागि यही हप्तामात्रै एउटा विमानको लिलामी सूचना जारी गर्नेछ। केही समयपछि अर्को विमानको पनि लिलामी सूचना जारी गर्ने र हटाउने सोचमा निगम छ। लिलामी गर्ने विमानलाई बढी पैसा पार्नको लागि कम्तिमा ठीक अवस्थामा अमेरीका पुर्‍याउन सक्ने जिम्मा निगमले ल्याउने छ।

व्यवस्थापकीय सुधार

कंशाकार भन्छन्, १७ वर्षसम्म हामीले पहिले व्वस्थापन सुधार त्यसपछि जहाज बढाउने तयारी गर्‍यौँ। अब भने पहिले जहाज किन्ने त्यसपछि व्वस्थापन सुधारमा केन्द्रित हुनुपर्ने छ। निगममा देखिने राजनीति हटाउनेमात्र नभइ निमिट्यान्न पर्ने सोच आफ्नो भएको कंशाकारले बताए।

'अहिले केही कम त भएको छ सुरुवाको लागि समेत माथिबाट फोन आउने चलन रैछ यहाँ अब यस्ता काम रोक्दै जानुपर्छ, यी बाहेकका अन्य सुधार पनि जरुरी छ,' कंशाकारले भने। सिमित पाइलटहरु समेत गुटमा हिँड्ने विषय दु:खद् भएको कंशारकले बताए।

उनले वायु सेवा निगमको भविष्य उज्ववल भएको बताउँदै त्यसमा केन्द्रित हुनका लागि समेत कर्मचारीलाई आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.