जेठ १ गते सम्ममा वर्षे अधिवेशन, पत्रकारलाई छुट्याइएको कोठा फुटाइने

|

हेटौंडा :  बागमती प्रदेशको वर्षे अधिवेशन जेठ १ गते सम्ममा सुरु हुने भएको छ। सोमबार प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकले ढिलोमा जेठ १ गतेबाट बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन्। 

सामाजिक दूरी राखेर बैठक गर्ने तयारी 

सोमबार भिडियो कन्फ्रेन्समार्फत बसेको बैठकले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटको विषयमा छलफल र समितिमा रहेको ३ विधेयक र नयाँ दर्ता भएको थप एक विधेयकबारे छलफल गर्ने निर्णय गरेको सभामुख श्रेष्ठले बताए। कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम राखेर बैठक बस्ने तयारी गरिरहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। 

सचिवालयका अनुसार पहिले पत्रकारका लागि छुट्याइको स्थानलाई ओगटेर प्रदेशसभा सदस्यहरुलाई स्थान बनाइने तयारी गरिएको छ। उक्त स्थानसम्म नअटेमा थप केही कोठालाई फुटाएर तत्काल हल बनाइने तयारी भएको सभामुख श्रेष्ठले बताए।

योसँगै बजेट अधिवेशनको रुपमा रहेको वर्षे अधिवेशनको पत्रकारहरुले रिर्पोटिङ युट्युबाट गर्नुपर्ने भएको छ। सामाजिक दूरी राखेर संसद चलाउनुपर्दा पर्याप्त स्थान अभावमा दर्शक र पत्रकार तथा अतिथिको सिट सभाबाट हटाइने सभामुख श्रेष्ठले बताए।  

संसद नहुँदा ४ विधेयक रोकियोे 

चैत ६ गते बिहीबार बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसी २५ जनाभन्दा बढी भेला हुन नपाउने संघीय सरकारको निर्देशनअनुसार प्रदेशसभाको  हिउँदे अधिवेशन अन्त्य गरेको थियो। 

हिउँदे अधिवेशनमा प्रदेशसभामा विभिन्न विधेयक छलफल हुँदाहुँदै आकस्मिक अन्त्य भएपछि प्रदेशसभामा ४ वटा विधेयकहरु रोकिएका छन्। प्रदेश सभाको प्रदेश मामिला समितिमा रहेको अन्तरप्रदेश व्यवस्थापनसम्बन्धी र प्रदेश सुशासनसम्बन्धी विधेयक समितिमा छन् भने थप दुई वटा विधेयक प्रदेशसभा सचिवालयमा रहेको प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए। उनका अनुसार सूचनाको हकसम्बन्धी विधेयक हिउँदे अधिवेशनमा दर्ता भएता पनि छलफलमा आएको थिएन। 

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरी ऐन केही दिनअघि प्रदेशसभामा दर्ता गरेको थियो। अब चल्ने वर्षे अधिवेशनमा उक्त विधेयकहरु ऐन निर्माणको लागि छलफल हुनेछ।  

मुख्यमन्त्री निरीक्षणमा

प्रदेशसभा राख्ने तयारीपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार प्रदेससभा भवन निरीक्षण गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.