|

डडेल्धुरा : लकडाउनका बेला कालोबजारी गर्ने कैलालीको अत्तरियास्थित हिमाल फार्मेसी र धनगढीमा रहेको सरोज मेडिकललाई जरिवाना गरिएकाे छ।

कोरोना भाइरसको त्रास बढिरहेका बेला उपभोक्तालाई सर्जिकल मास्कमा ४७ दशमलव ६२ प्रतिशत बढी मूल्य लिएर बिक्री गरेको आरोपमा अत्तरियामा रहेको हिमाल फार्मेसी २ लाख रुपैयाँ जरिवाना गराइएको छ। 

संयुक्त बजार अनुगमनका क्रममा फार्मेसीले तोकिएको भन्दा बढी मूल्य असुलेर मास्क बिक्री वितरण गरी कालोबजारी गरिएको भेटिएको पाइएपछि कारबाही स्वरुप जरिवाना गरिएको हो।

धनगढी उपमहानगरपालिका ३ चौराहास्थित सरोज मेडिकल हलमा म्याद सकिएका विभिन्न औषधिजन्य बस्तुहरू बरामद तथा जफत गरेको छ। उक्त मेडिकलले म्याद नाघेको औषधि पाँच महिनापछि पनि बिक्री गरेको, सिरिन्जलगायत अन्य स्वास्थ्य समग्रीको बिक्री गरेको बिल जारी नगरेको भेटिएपछि २० हजार जरिवाना गरिएको हो।

उसलाई उपभोक्ता संरक्षण ऐन २०७५ दफा ३८ क बमोजिम तत्काल २० हजार रुपैयाँ जरिवाना तोकिएको आपूर्ति वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुन मगरले जानकारी दिए।

प्रमुख पुनका अनुसार तोकिएको जरिवाना ७ दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरेको दोस्रो प्रति भौचर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा दाखिला गर्नुपर्नेछ।

यस अवधिमा संयुक्त बजार अनुगमन समितिले बजार अनुगमनलाई निरन्तरता दिएपछि कालोबजारियाहरू फन्दामा पर्न थालेका छन्। यस अवधिमा कालोबजारी गर्ने फार्मेसी, औषधि पसलसहित पाँच वटा व्यवसायीलाई कारबाही गरिसकेकै अवस्थामा फेरि औषधि पसलमा म्याद गुज्रेका औषधि बिक्रीका लागि राखेको भेटिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.