चाउचाउ र बिस्कुटकाे भरमा गुजारा चलाउँदै

|

बैतडी : अलपत्र नेपाली मजदुर कल्भर्टमुनि रातदिन बिताउन बाध्य भएका छन्। ५ दिनअघि घर फर्किन भनी आएका बाजुराका आठ जना नेपाली नागरिक भारतीय सीमा झुलाघाटमा अलपत्र भएका छन्। 

भारतमा समेत लकडाउन भएका कारण आफूहरूसँग पैसासमेत नभएकाले सडकको कल्भर्टमा दिनरात समय बिताउनुपरेको मनबहादुर बोहराले बताए। ‘गाडी नपाउँदा हिँडेरै आउँदा ढिलो भयो,’ उनले भने, ‘कतै बस्ने ठाउँ नपाएपछि कल्भर्टमा बसिरहेका छौं।’ 

भारतको लुवाघाटमा काम गर्दै आएका उनीहरु सीमा नाका झुलाघाटमा अलपत्र परेका हुन्। यही वैशाख १८ गते नाका खुलेको सूचना पाएका उनीहरु लुवाघाटबाट ७० किलोमिटर हिँडेर झुलाघाट पुगेका थिए। तर उनीहरु वैशाख १९ गतेमात्रै झुलाघाट पुगेपछि अलपत्र परेका हुन्। 

एक महिनाअघि देखि कामविहीन भएर बसेको र पैसासमेत नभएकाले चाउचाउ बिस्कुट खाएर दिन कटाउनुपरेको बाजुराका बुढीनन्द नगरपालिका ९ का रमेश रोकायाले बताए। खर्च अभाले उनीहरु आठै जना उनीहरु चाउचाउ र बिस्कुट खाएर छाक टारिरहेका छन्। 

कल्भर्टमा भुइँमै बसेर रात कटाइरहेको, लामखुट्टेले टोकेर हैरान बनाएको छ,’ उनले भने, ‘कल्भर्टमा बिछ्याउने कपडासमेत नहुँदा त्यतिकै बसेर रातदिन काट्नु परिरहेको छ।’

भारतीय पत्रकार प्रमोदकुमार भट्टले भने, ‘यो विषयमा भारतको स्थानीय प्रशासनसँग कुराकानीसमेत भएको छ।’ यता बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले यो विषयमा आफूलाई जानकारी प्राप्त भएको भारतको पिथौरागढ जिल्लाका डिएमसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताए। यो विषयमा बाजुरा प्रशासनले पनि पहल चाल्नुपर्ने प्रजिअ पौडेलको भनाइ छ। 

अलपत्र परेका नेपालीहरुले भारतीय क्वारेन्टाइनमै भए पनि बसोबासका व्यवस्था मिलाइदिन आग्रह गरेका छन्। बाजुराको बुढीनन्दा नगरपालिका ९ का मनबहादुर बोहरा, रमेश रोकाया, शिव रोकाया, कासी बोहरा, एकेन्द्र बोहरा, चन्द्र बोहरा र भीम बोहरा, बुढीनन्द नगरपालिका ८ का धनबहादुर बोहरासहित ८ जना नेपाली कल्भर्टमा बस्न बाध्य भएका हुन्। 

यसैबीच बाजुराका आठ नेपाली नागरिक भारतीय सीमा झुलाघाटमा अलपत्र परेको खबरपछि जिल्ला प्रशासन कार्यालय बाजुराले गृह मन्त्रालयको सहयोग मागेको छ। उनीहरुलाई उद्धार गर्न बुढीनन्दा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई आफ्ना नागरिक ल्याइदिन सहयोग मागेपछि जिल्ला प्रशासन कार्यालय बाजुराले गृह मन्त्रालयको सहयोग मागेको हो। 

दिल्लीमा अलपत्र अवस्थामा रहेका दोगडाकेदार ३ श्रीकोटका नरेश धामीले बताए। उनले भने, ‘लकडाउन भएदेखि खान बस्न समेत राम्रोसँग पाएका छैनौं।’ उनीहरु अधिकांश सुदूरपश्चिम प्रदेशका रहेका भारतको दिल्लीमा बिचल्लीमा परेका बैतडीको दोगडाकेदार ८ कालागाँउका डम्बर बिष्टले जानकारी दिए।

बैंग्लोरबाट घर फर्किन भने आएका बैतडीका ५० जना दिल्लीमा ४२ दिनदेखि अलपत्र परेका हुन्। उनले भने ‘बैंग्लोरबाट रेलमा चढेर घर फर्किर्दै गर्दा दिल्ली पुुग्दा लकडाउनले रेलसेवा बन्द हुँदा बीच बाटोमै अलपत्र परेका हौं।’   

खानाको लागि केही दिन अगाडि राहत पाएको भए पनि आजभोलि कसैले पनि चाँसो नदिएको अर्का मजदुर गणेश विष्टले गुनासो गरे। भारतस्थित नेपाली राजदूतावासमा पनि उद्धारका लागि गुहारे पनि सुनुवाइ नभएको उनले बताए। अलपत्र मजदुरको उद्धारका लागि पहल थालिने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। 

उनले भने, ‘अलपत्र मजदुर समस्यामा भए तथ्यांक संकलन गरी परराष्ट्र मन्त्रालयमा पठाइनेछ।’ यही वैशाख १८ गते झुलाघाट र धारचुला नाकाबाट २ हजार ६ सय ९५ नेपाली स्वदेश फर्किएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.