खानेकुरा र बासस्थानको अभाव भएपछि स्वदेश फर्काइदिन अनुरोध

|

बैतडी :  भारतीय सीमा झुलाघाटमा अलपत्र परेका बाजुराका आठ जना नेपाली मजदुरलाई भारतीय प्रहरीले काम गर्ने ठाउँमै जाने भनेर फिर्ता पठाएको छ।

भारतको लुवाघाटमा काम गर्दै आएका उनीहरू वैशाख १९ गते झुलाघाट पुगेका थिए। वैशाख १८ गते नाकाबाट स्वदेश फर्कन आए पनि उनीहरू ढिलो पुगेकाले स्वदेश आउन पाएनन्। 

स्वदेश आउन नपाएपछि उनीहरू कल्भर्टमुनि दिनरात बिताउन बाध्य भएका थिए। झुलाघाटबाट प्रहरीले काम गरिरहेकै ठाउँमा जान भनेपछि आफूहरू झुलाघाटबाट हिँडेको र एउटा घरमा बसेको बाजुराका मनबहादुर बोहराले बताए। 

५ दिनदेखि भोकभोकै परेकार मजदुर आज पनि भोकै बसेका छन्। उनीहरू कामको खोजीमा गए पनि काम भने कतै पाएका थिएनन्। अलपत्र परेका नेपाली भारतीय क्‍वारेन्टाइनमै भए पनि उचित बसोबासका व्यवस्था मिलाइदिन आग्रह गरिरहेका छन्। 

बाजुराको बुढीनन्दा नगरपालिका ९ का मनबहादुर बोहरा, रमेश रोकाया, शिव रोकाया, कासी बोहरा, एकेन्द्र बोहरा, चन्द्र बोहरा र भीम बोहरा, बुढीनन्दा नगरपालिका ८ का धनबहादुर बोहरासहित ८ जना नेपाली कल्भर्टमा बस्न बाध्य भएका हुन्। 

स्वदेश फर्काउन पहल गरिदिन आग्रह 

उनीहरूले स्वदेश फर्काइदिन आग्रह गररिहेका छन्। भारतमा लगातार कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको र लकडाउनका कारण काम र खानेकुराको अभाव भएको गुनासो गर्दै आएका छन्। 

भारतको मुम्बईमा धेरै नेपाली समस्यामा परेका त्यहाँबाट बैतडीको मेलौली नगरपालिका ७ पच्कोरा घर भएका किशोर कार्कीले बताए। ‘सबै कम्पनी बन्द भएकाले छाक टार्न मुस्किल छ,’ उनले भने।  

मुम्बईबाट बैतडीका पञ्चेश्वरका नरेन्द्र चन्दले पनि यस्तै बताए। उनले भने, ‘आपतकालमा मातृभूमि सम्झेका छौं  हामीलाई स्वदेश फर्कादिइयोस्।’ भारतका विभिन्न ठाउँका नागरिकसमेत आआफ्ना क्षेत्रमा गइसकेकाले नेपाली मात्रै समस्यामा रहेका कार्कीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.