विचार

दर्शनले मानिसलाई अरू प्राणीभन्दा फरक बनाउँछ

बैशाख २६, २०७७

    'दर्शन' शब्दको सामान्य अर्थ हेर्नु वा देख्नु हो। तर, यसको विशिष्ट अर्थ भने कुनै पनि वस्तु वा विषयबारे अध्ययन, अनुसन्धान, चिन्तन, अनुभव, ध्यान, ज्ञान र अनुभूतिको आधारमा गरिएको आन्तरिक दृष्टिकोण भन्‍ने लाग्छ।

    'दर्शन' शब्दको उत्पत्ति दर्शनार्थक दृश धातुबाट ल्युट (अन) प्रत्यय लागेर बनेको देखिन्छ। जसको अर्थ देख्नु, अवलोकन गर्नु वा हेर्नु भन्‍ने हुन्छ। त्यसैले के भनिन्छ भने "दृश्यते अनेन इति दर्शनम् " अर्थात् जसबाट देख्‍न सकिन्छ त्यही दर्शन हो। तर, दर्शन भनेको बाहिरी नांगो आँखाले नभई भित्री आँखाले हेर्नु हो।

    दर्शन शब्दको लागि अंग्रेजीमा ‘फिलोसफी’ शब्दको प्रयोग गरिन्छ। यो ग्रिक भाषामा ‘फिलो’ जसको अर्थ प्रेम गर्नु र ‘सोफिया’ जसको अर्थ ज्ञान हुन्छ यी दुई शब्द मिलेर ‘फिलोसफी’ बनेको हो र यसको शाब्दिक अर्थ ज्ञानप्रतिको प्रेम वा ज्ञानको अनुराग भन्‍ने लाग्छ। यसरी हेर्दा के देखिन्छ भने पाश्चात्य जगतमा दर्शनको अर्थ बौद्धिकतासँग निकटता देखिन्छ पूर्वीय जगतमा भने दर्शनको अर्थ जीवन र जगतलाई हेर्ने भित्री दृष्टिकोण भन्‍ने अर्थमा रहेको छ।

    दर्शन निर्माणका आधार

    दर्शन भनेको जीवन र जगतलाई हेर्ने,बुझ्‍ने आन्तरिक एवं प्राज्ञिक दृष्टिकोण हो। यो मानिसको चिन्तन, मनन तथा अनुभूतिका आधारमा निर्माण भएको भित्री विचार हो। दर्शन मानिसको जीवन र जगतप्रतिको आन्तरिक हेराइ र विश्वदृष्टिकोण पनि हो। मानिस जुन परिवेश र पर्यावरणमा बाँचेको हुन्छ त्यही अनुभव र अनुभूतिका आधारमा उसले विश्वदृष्टिकोण तयार पार्दछ। सोही अनुसारको दर्शन निर्माण गर्दछ।

    मानिस बाँच्‍ने क्रममा, जीविकोपार्जन गर्ने क्रममा अनेक प्रकारको दु:ख, पीडा र खुसीका क्षणहरूको सामना गर्न पुग्दछ। उसले अनेकौं अनुभव र अनुभूति प्राप्त गरेको हुन्छ। यसरी मानिसले जीविकोपार्जन गर्ने क्रममा आफ्ना व्यवहार, भोगाइ तथा चिन्तनको आधारमा बनेको जीवन र जगतप्रतिको हेराइ र बुझाइ नै दर्शन हो। 

    मानिसले आफ्ना जीवन भोगाइका क्रममा अनेकौँ प्रकारको अनुभव, अनुभूति र अवधारणाहरू संगालेको हुन्छ। अनुभूति र अवधारणाको आधारमा निर्माण गरेका भित्री चिन्तन वा वैचारिक दृष्टिकोण नै दर्शन हो। मानिस चेतनशील तथा विवेकशील प्राणी भएकोले उसले आफू बाँचेको जीवन र जगतबारे अनेक तरहले सोच्‍ने गर्दछ। यति मात्र होइन उसले आफ्ना वरिपरिको परिवेश र पर्यावरणलाई समेत गम्भीरतापूर्वक नियालिरहेका हुन्छन्।

    यो संसारमा कसैले निर्माण गरेका हुन् कि आफैँ निर्माण भएको हो? यो स्वयं अस्तित्ववान छ कि कुनै अलौकिक शक्तिमा निर्भर छ? भगवान् छ कि छैन? छ भने कहाँ छ? भगवानको वास्तविक रूप के हो? पृथ्वी के हो? दुनियाँ के हो? यसको अस्तित्व कहिलेसम्म रहला? मानिस के हो? मानिस किन जन्मन्छ? किन मर्छ? मरेर कहाँ जान्छ? जीवन के हो? खुसी के हो? दुख के हो?

    आत्मा के हो? देवता हुन्छ कि हुँदैन? भुतप्रेत हुन्छ कि हुँदैन? यो हामीले देखिरहेको संसार कहिलेसम्म रहला? पानी के हो? हावा के हो? हावा किन चल्छ? रात किन पर्छ? चट्याङ किन पर्छ? भूकम्प किन आउँछ? वर्षा किन हुन्छ? सूर्य किन उदाउँछ? आदि अनेकौँ जिज्ञासा र कौतुहल मानिसमा पैदा हुने गर्दछ। यही जिज्ञासा, आश्चर्य,कौतुहलको निराकरण स्वरूप नै दर्शनको जन्म हुन पुगेको हो।

    मानिसका असंख्‍य जिज्ञासाको समाधान स्वरूप जन्मिएको आन्तरिक चिन्तनको सार नै दर्शन हो। दर्शनको स्वरूप व्‍यक्ति, जाति, वर्ग र समुदायबीच फरक-फरक दर्शन पाइन्छ। मानिसले आ-आफ्ना भोगाइ, अनुभव र अनुभूतिका आधारमा दर्शनको निर्माण गर्ने हुँदा दर्शन फरक हुनु स्वाभाविक हो। त्यसैले जीवन र जगतलाई हेर्ने अनेक प्रकारको दार्शनिक चिन्तनहरू पाइन्छ। दर्शन आफैँमा राम्रो वा नराम्रो हुँदैन।

    कसैले भगवान छ भन्‍ने ठहर गरे विश्वास गरे। कसैले भगवान छैन भन्‍ने ठहर गरे। भगवान वा ईश्वर छ भन्‍ने व्यक्ति वा समूह आस्तिक दर्शनका अनुयायी बन्‍न पुगे। ईश्वर वा भगवान् छैन भन्‍ने समूह नास्तिक दर्शनका अनुयायी बन्‍न पुगे। भगवान् छ पनि छैन पनि भन्‍ने समूह द्वैतवादी वा समन्वयवादी बन्‍न पुगे।

    समयक्रममा संसारमा दर्शनसम्बन्धी विचारधाराहरू फरक-फरक रूपमा देखा पर्दै गए। यसरी जीवन र जगतलाई हेर्ने फरक-फरक दार्शनिक चिन्तनधाराहरू देखापर्ने क्रममा पूर्वीय सभ्यता र संस्कृतिमा सांख्य दर्शन, योग दर्शन, न्याय दर्शन, वैशेषिक दर्शन, मीमांसा दर्शन, वेदान्त दर्शन,मुन्दुमी दर्शन, चार्वाक, लोकायत दर्शन, जैन दर्शन, बौद्ध दर्शन, कन्फुसियस दर्शन, शैव,शाक्त आदि अनेकौं चिन्तनधाराहरू देखा परे, कति नयाँ दर्शन अगाडि आइरहेका छन्।

    संसारमा अनेकौं दार्शनिक चिन्तनधाराहरु देखा परे पनि यो जीवन र जगत केवल प्रकृतिको देन हो र प्रकृतिसिवाय अन्य कुनै अज्ञात शक्ति वा कुनै काल्पनिक भगवान्/ ईश्वर केही छैन भन्‍ने भौतिकवादी चिन्तनधारा एकातिर छ। जीवन र जगत अज्ञात छ। यसका रहस्यहरू बोधगम्य छैनन् र यसलाई बुझ्‍न मानिसले सक्दैनन्। यो चराचर जगत कुनै न कुनै अज्ञात वा अलौकिक शक्तिले सञ्‍चालन गरेका छन् भन्‍ने आध्यात्मिकवादी चिन्तनधारा गरी मूलतः दुईवटा दार्शनिक स्वरूप विश्वमा देखिन्छन्।

    दर्शनको मूलबहस र मीमांसा

    दर्शनशास्त्रमा वस्तुतः दुई मुख्य बहस पाइन्छ- चेतना र पदार्थ। यी दुइबीच चेतना र पदार्थमध्ये कुन तत्त्व पहिलो हो अर्थात् पदार्थबाट चेतनाको निर्माण भयो कि चेतनाबाट पदार्थको निर्माण भयो? यो बहस दर्शनशास्त्रमा निरन्तर चलिरहेको छ। चेतना र पदार्थबारे अध्यात्मवादले चेतना पहिले अर्थात् चेतनाबाट पदार्थको निर्माण भएको विश्वास गर्दछ भने भौतिकवादले पदार्थको निर्माण पहिले भएको र पदार्थबाट चेतनाको विकास भएको विश्वास गर्दछ।

    विश्वमा जीवन र जगतलाई हेर्ने अनेकौँ दार्शनिक चिन्तन छन् परन्तु मूलतः यिनै भौतिकवादी र आध्यात्मिकवादी मुख्य दुई चिन्तनधारा नै दर्शनको प्रमुख दुई हाँगा देखिन्छ।

    दर्शनशास्त्रले यो चराचर जगतबारे अनेकौं प्रकारका विषय र वस्तुबारे व्याख्या, विश्लेषण र विवेचना गर्दछन्। दर्शनशास्त्रमा यसरी व्याख्या, विश्लेषण गर्ने कार्यलाई मीमांसा भनिन्छ।

    तत्त्व मीमांसा अन्तर्गत जीवन र जगतको आधारभूत तत्त्वको खोजी गरिन्छ। खास गरेर यो जगतको उत्पत्ति, विनाश,संरचना र पदार्थबारे तत्त्व मीमांसाले खोजी गर्दछ।

    ज्ञान मीमांसाले ज्ञानसम्बन्धी विवेचना गर्दछ। ज्ञान के हो? यसको स्रोत के हो? ज्ञान कसरी प्राप्त गर्न सकिन्छ? ज्ञानको आधार र आधिकारिकता के हो? ज्ञानको सीमा के हो? यसको लक्ष्य र प्राप्तिको आधार के हो? ज्ञान मीमांसाले खोजी गर्दछ।

    आचार मीमांसा नैतिकता के हो? नीति के हो? आचार के हो? कुन कार्य उचित हो? कुन कार्य अनुचित हो? उचित र अनुचितलाई छुट्याउने आधार के हो? मानवीय मूल्य के हो? मानव कर्तव्‍य के हो? आदि आचारसम्बन्धी अनुशीलन आचारमीमांसाले व्याख्या गर्दछ।

    प्रमाण मीमांसाले यसमा ज्ञानको स्रोत र यसको प्रमाणीकरण गरिन्छ। प्रत्यक्ष प्रमाण,अनुमान प्रमाण,उपमान प्रमाण र शब्द प्रमाण गरेर चार प्रकारको प्रमाण मानिन्छ। यसमा प्रमाणहरूमध्ये कुन प्रमाणको आधारमा दार्शनिक आधार निर्माण भएका छन्। ज्ञान प्राप्त गर्ने आधार के हो? आदि विषयमा ज्ञान मीमांसाले खोजी गर्दछ।

    यसैगरी सौन्दर्य मीमांसा कला र साहित्यको सन्दर्भमा मात्र खोजी गर्ने सौन्दर्यशास्त्रले वर्तमान समयमा भने दर्शनको क्षेत्रमा पनि व्याख्या विश्लेषण गर्ने गर्दछ। यसले सौन्दर्यचिन्तनको खोजी र व्याख्या गर्दछ। समाजको मूल्य, मान्यता,जायज,नाजायज, राम्रो, नराम्रो आदिको व्याख्या यसले गर्दछ। सुन्दरता भनेको के हो? सुन्दरताको आधार के हो? संसारमा कुन वस्तुलाई केको आधारमा सुन्दर भन्‍ने? सुन्दर र असुन्दरको आधार के हो? आदि विषयको खोजी सौन्दर्य मीमांसाले गर्दछ।

    मानिस विवेकशील प्राणी हो। मानिस यही विवेक र चिन्तनकै कारण अन्य प्राणीभन्दा फरक हुन सकेको हो। मानिसले आफ्नो विवेकलाई विभिन्‍न प्रकारका व्यवहारबाट अभिव्यक्त गर्दछ। मानिसले आफ्नो विवेकशीलता र चिन्तनशीलताबाटै दर्शनको निर्माण गर्दछ।

    भोगाइको गहिरो अभिव्यक्ति दर्शन

    मानिसले जहिलेदेखि आफू र सम्पूर्ण जगतबारे सोच्‍न, चिन्तन-मनन गर्न थाल्‍यो त्यही बेलादेखि दर्शनको निर्माण हुन थालेको हो। त्यसैले दर्शन मानिसको सामाजिक एवं व्यावहारिक चेतनाको सर्वोच्च अभिव्यक्ति हो।

    मान्छेले जीवनभोगाइका क्रममा अनेकौँ प्रकारका प्रयोग परीक्षण र तिनका निष्कर्षका आधारमा एउटा ठोस विचार निकाल्दछ त्यही वैचारिकताको सार नै उसको दर्शन हो। त्यसैले मानिसले जस्तो दर्शन निर्माण गर्दछ सोहीअनुसार आफूलाई ढाल्ने प्रयास गर्दछ। दर्शनले नै मानिसको जीवन निर्देशित गरेको हुन्छ। त्यसैले मानिसको जीवनमा दर्शनको ठूलो महत्त्व छ।

    मानिस के बन्‍न चाहन्छ? मानिसको हिँड्ने बाटो के हो? यस्ता यावत प्रश्नको उत्तर र समाधान दर्शनशास्त्रले गर्दछ। त्यसैले मानिस के बन्‍न चाहन्छ भन्‍ने कुरा उसको दर्शनले प्रभाव पार्ने हुनाले मानिसको जीवनमा दर्शनको ठूलो महत्त्व हुन्छ। मानिस यही दर्शनकै कारण संसारमा अन्य प्राणीभन्दा फरक भएका हुन्। मानिस आजको वैज्ञानिक युगसम्म दर्शनकै कारण पुग्‍न सफल भएको हो।

डा. भक्त राई

डा.राई प्राज्ञ हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]