बन्दरगाहमा दैनिक २ र्‍याक कन्टेर आउँदै

|

पर्सा : भारत तथा तेस्रो मुलुकबाट नेपालका उद्योगी व्यवसायीले रेलमार्फत मगाएका कच्चा पदार्थलगायत सामान लिएर आएका कन्टेनरले वीरगन्जको ड्राइपोर्ट (सुक्खा बन्दरगाह) मा जाम भएको छ। लकडाउनले कच्चा पदार्थ सकियो भनी उद्योगी व्यवसायीहरुले बताइरहेको समयमा त्यो कुरालाई मिथ्या सावित गर्दै वीरगन्जको सुक्खा बन्दरगाह भने कच्चा पदार्थ लगायतका सामान बोकेर आएका कन्टेरले बन्दरगाहमा जाम भएको हो।

मुलुककै पहिलो सुक्खा बन्दरगाह यति धेरै जाम हुनेगरी खचाखच भरिनुमा बन्दरगाह व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनल प्रा.लि. र उद्योगी व्यवसायीको हेलचेक्रयाइँ रहेको बुझिएको छ।

वीरगञ्‍ज सुक्खा बन्दरगाहमा कन्टेनरको जाम (फोटो फिचर)

सुक्खा बन्दरगाहमा रहेको भन्सार कार्यालयबाट जाँचपास भए पनि हिमालयन टर्मिनल प्रा.लि.ले समयमा नै कन्टेनर लोड नगरिदिँदा बन्दरगाहमा नै कन्टेर थुप्रिएको उद्योगी व्यवसायीको आरोप छ। हरेक दिन लोड अनलोड गरिदिनु पर्नेमा लोडअन्लोड गर्ने रिचेष्टेकर मेशिन टर्मिनल प्रा.लि.ले दुरुस्त नराख्दा समस्या हुने गरेको उनीहरुको दावी छ। अहिले त लकडाउनले पनि केही समस्या थपिएको उनीहरुको भनाई छ। 

बन्दरगाह व्यवस्थापक उद्योगीको भनाइ मान्‍न तयार छैन

सुक्खा बन्दरगाह व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनल प्रा.लि.का सिइओ विष्णुकान्त चौधरी भने टर्मिनलको कारण जाम भएको स्वीकार्न तयार छैनन्। लकडाउनको कारण उद्योगी व्यवसायीले तुरुन्त सामान नउठाई दिंदा सुक्खा बन्दरगाह क्षेत्रमा नै कन्टेर जाम भएको उनको तर्क छ।

रिचेष्टेकर मेशिनले लोडिंग अनलोडिङ मात्र गर्दा हुने ठाउँमा यताका उता उताका त्यता गरी ठाउँ खाली गर्दै नयाँ रेलबाट आएका कन्टेनर राख्नु पर्दा स्वभावैले मेशिनलाई बढी लोड परी वैशाख महिनामा २/३ दिन मेशिन बिग्रिएको उनले स्वीकारे।

बन्दरगाहमा दैनिक २ र्‍याक कन्टेर आउँदै

बन्दरगाहमा नियमित २ वटा रेल (र्‍याक) मार्फत १८० वटा कन्टेर आइरहेका छन्। बन्दरगाहबाट भने दैनिक १ सय १५ वटा मात्र कन्टेर बाहिर जाँदा स्वतः बन्दरगाह भरिएको सिइओ चौधरीको दाबी छ। बन्दरगाहको क्षमता १ हजार ५ सयको छ कन्टेर ३ हजार ८ सय देखि ४ हजार पुग्न थाल्यो। कन्टेर मिलाउन खातमाथि खात गरी राखिएको छ।

समयमा कन्टेर खाली नहुँदा करोडौँ डिटेन्सन चार्ज

रेलबाट आएका कन्टेर खाली गरी पठाउन नपाउँदा उद्योगी व्यवसायीहरूले भने एकै महिनामा करोडौँ डिटेन्सन चार्ज तिर्नुपरेको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले थाहाखबरसँग बताए।

लकडाउनमा काठमाडौं, नारायणघाट लगायतका ठाउँमा लोड भएर पठाइएका कन्टेनरलाई बाटोका सुरक्षाकर्मीहरुले पनि अनावश्यक दुःख दिने गरेको उनको गुनासो छ। 'नेपाल सरकारले ढुवानीमा समस्या छैन भन्छ। तर उसको मातहतको सुरक्षा निकायले त्यो कुरा सुनेको छैन। या त उनीहरुको समन्वय नभएर हो कि? भन्न सकिन्न', उनले भने।

टर्मिनलको कामप्रति इन्टरमोडलको निगरानी नै पुगेन 

पूर्वअध्यक्ष केडियाले  बन्दरगाहको व्यवस्थापन हेर्ने जिम्मा लिएको हिमालयन टर्मिनलको सम्झौता अवधि सकिएको र एक्सटेन्सन पाएको समय भएकोले उसले पनि पूर्ण रुपमा ध्यान नदिएको जस्तो लागेको बताउँछन्। नेपाल सरकारले टेण्डर निकाल्दा कस्लाई जिम्मेवारी पर्छ भन्ने उसलाई पनि केही लागेको हुन सक्छ। टर्मिनलको निगरानी राख्ने नेपाल इन्टरमोडल यातायात व्यवस्था कार्यालयले हो। तर खासै निगरानी राखेको जस्तो लाग्दैन।

पहिले २२⁄२३ सय कन्टेनर भएकोमा अहिले बन्दरगाहमा नै ४ हजार जति छन्। अझ फूल फेजमा कन्टेनर आउने हो भने १२ हजारको हाराहारीमा पुगेको उनको भनाइ छ। यस्तै पारा हो भने यहाँका उद्योगी व्यवसायीलाई सिपिङ कम्पनीहरुले कन्टेर दिन नै हिच्किचाउने सम्भावना हुन सक्छ। यसको लागि एकले अर्कालाई दोष नदेखाई सबैको समन्वय गरेर बन्दरगाहका जाम कम गर्नुपर्ने उनले बताए।

क्षेत्रफलकै हिसाबले पनि साविकको तयारी अनुसार बनेको बन्दरगाह अहिलेलाई साँघुरो पनि हुन थालेको नेपालको पुराना उद्योगी घरानाका केडियाले बताए।  

टर्मिनल र उद्योगी व्यवसायीको कमजोरी

वीरगन्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयको दैनिक भन्सार जाँच पास हुने तथ्यांकअनुसार भने बन्दरगाहको व्यवस्थापनको जिम्मा लिएको टर्मिनल प्रा.लि र उद्योगी व्यवसायीको पनि केही कमजोरी रहेको खुलेको छ।

उद्योगी व्यवसायीले दैनिक १५० देखि १६० वटा सम्म भन्सार जाँच पास गराइरहेको तथ्यांकले देखाएको छ। टर्मिनलकै भनाइ अनुसार पनि दैनिक ११५ वटा मात्र कन्टेनर बाहिरिंदा स्वभाविक रुपमा बन्दरगाहमा कन्टेनरकै जाम लागेको प्रष्टिन्छ।

उद्योगी व्यवसायीले जाँच पास भएकै दिन सामान उठाईदिने हो भने पनि केही हद सम्म जाम कम हुने सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले बताए।  उनीहरुमा पनि केही कमजोरी छ।

टर्मिनल प्रा.लि.ले सम्झौता गर्दा एकदिन पनि अवरोध नगर्ने भनेको छ। तर मेशिन बिग्रिएर यो महिनामा ७⁄८ दिन काम रोकियो। मेशिन बिग्रिएर उसले नि भन्न मिल्दैन। तर, रिचेष्टेकर मेशिन पनि विग्रिरहेकै छ प्रमुख श्रेष्ठले बताए।

चालक भन्छन् ३ दिनमा पनि गाडी लोड भएन

सुक्खा बन्दरगाह यार्डमा कन्टेर लोड गरी गन्तव्यमा लान आएका ट्रक (गाडी)  चालकले ३ दिनमा पनि गाडी लोड नभएपश्चात् कुर्नुपरेको अलग्गै गुनासो छ। चालकहरु जुगलकिशोर पटेल, आसिम देवान लगायतले पालो कुरेरै हैरान हुन परेको थाहाखबरसँग बताए।

'बेलुका आठबजे पछि मात्र लोड हुने भन्छन्। कुर्दाकुर्दै लिएको कागज पनि  हातमा नै च्यातिन लागिसको। कहिले गाडी लोड हुने हो ठेगान छैन',  चालक देवानले मलिन अनुहार लगाउँदै भने।

लकडाउनमा कति दिनमा गाडी लोड हुने हो प्रतीक्षा गरेर यहीँ बस्नुको विकल्प नभएको उनीहरुको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.