|

सिन्धुली : गत वर्ष छर्किको विषादीले जुनारमा किरा कम भएपछि यस वर्ष पनि सिन्धुलीका जुनार बगैंचामा किरा नियन्त्रण गर्न विषादी छर्किन थालिएको छ ।

क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम अन्तर्गत जुनार सुपरजोन क्षेत्रका जुनार बगैंचामा किरा व्यवस्थापनका लागि प्रोटिन 'वेट' नामक विषादी छर्कन थालिएको हो । सिन्धुलीको जुनार बगैँचा क्षेत्रमा गत वर्ष पहिला पटक नमुनाको रुपमा क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम लागु गरिएको थियो।

बैशाख २८ गते गोलन्जोर गाउँपालिका ५ र सुनकोशी गाउँपालिका ७ मझुवाबाट 'प्रोटिन वेट' नामक विषादी छर्कन सुरु गरिने भएको छ। 'प्रोटिन वेट' विषादी जुनार कृषक र सुपरजोन कार्यालयको ५०/५० प्रतिशत लगानीमा जुनार सुपरजोन संचालक समितिले लकडाउनकै बेला खरिद गरेर ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ सिन्धुलीका प्रमुख देवराज अधिकारी बताए। प्राविधिक सहयोग भने सुपरजोन कार्यालयले प्रदान गर्नेछ ।

‘गत वर्ष देखि यो विषादी छर्न सुरु गरिएको हो। यो विषादी छर्किएपछि जुनारमा किराको प्रकोप कम भएको छ। त्यसैले यस वर्ष पनि यो कार्यक्रम संचालन हुन्छ,’ उनले भने। जुनार सुपरजोन कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीका अनुसार कमलामाई नगरपालिका ३ जलकन्यामा विषादी, गोलन्जोर १ को डाडुभन्ज्याङ २ को विक्तिजोर र वडा ४ को तीनकन्यामा विषादी छर्ने कार्यक्रम छ ।

‘अहिले विषादी खरिद गर्न रकम जम्मा गरेका जुनार किसानहरुको बगैंचामा यो विषादी छर्किने कार्यक्रम छ। पहिलो चरणमा पैसा जम्मा गर्न छुटेका किसानले पनि पैसा जम्मा गर्दैछन् भन्ने जानकारी आएको छ। यो छर्केपछि त्यो पैसा जम्मा गर्ने किसानको बगैँचामा पनि विषादी छर्किने हो,’ उनले भने। अहिले जुनार सुपरजोन र किसानबाट संकलन भएको दुई लाख रुपैयाँ बराबरको विषादी खरिद गरिएको उनले बताए।

यो बेला फल कुहाउने औंसा (ब्याक्टेसेरा मिनाक्स) ले अण्डा पार्ने समय भएकाले प्रोटिन वेट स्प्रे गर्दा किरा मर्ने अधिकारीले बताए । विषादी छर्नुभन्दा पहिला किराले ४० प्रतिशत जुनारमा क्षति गर्ने गरेकोमा विषादी छरेपछि गएको वर्ष किराको प्रकोपका कारण १५ प्रतिशत मात्रै जुनार क्षति भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.