|

  • अर्जुन आचार्य

विराटनगर : औद्योगिक नगरी विराटनगरका उद्योगी व्यवसायीले आर्थिक तरलताको निहुँमा बैंकहरुले मनलाग्दी ढंगले बढाएको ब्याजदर नतिर्ने तयारी गरेका छन्। निजी बैंकहरुले एक्कासी ब्याजदर बढाएपछि ऋण लिने सम्पूर्ण उद्योगी, व्यापारी, स्कूल, क्याम्पसदेखि साना ठूला सबै संघ-संस्था धरासायी बन्ने बताउँदै उनीहरुले साझा धारणा बनाएर आर्थिक तरलताको समस्या हल गर्नका लागि दबाब दिने र ब्याजदर नतिर्ने घोषणा गर्ने तयारी गरेका हुन्।

आर्थिक तरलताका कारण देखाउँदै बैंकहरुले देशैभर ब्याजदर बढाएका छन्। पटक–पटक ब्याज बढेको म्यासेज आउने गरेको उद्योगी व्यापारीको भनाइ छ। ‘सम्झौताको अवधि नसकिँदासम्मको ब्याजदर एउटै हुनुपर्‍यो,’ मोरङ व्यापार संघका पूर्व अध्यक्ष अविनाश बोहोराले भने, ‘बैंकले आधार प्रमाण र विना औचित्य ब्याजदर बढाएर उद्योगी/व्यवसायीसहित सबै क्षेत्रलाई समस्यामा पार्ने काम गरेको छ।’

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बैंकले एक्कासी बढाएको ब्याजदरको विषयमा दुई दिनभित्र निष्कर्षमा पुग्ने र धारणा सार्वजनिक गर्ने बताए। ‘अस्वभाविक रुपमा बढाइएको ब्याजदरका कारण सबै क्षेत्र तहस नहस हुने अवस्था देखियो,’ उपाध्यायले भने, ‘अपर्झट बढाएको ब्याजदर तिर्न सक्ने अवस्थामा हामी छैनौं, बैंकबाट ऋण लिने र लगानी गर्ने सबैले सम्बन्धित पक्षलाई दबाब दिनुपर्‍यो।’

बैंकहरुले लगानीमा ब्याजदर बढाउँदा अहिले देखिएको हाइड्रोपावरको निर्माण कार्यसमेत प्रभावित हुने र देशकै आर्थिक वृद्धिदर कमजोर बनाउने खेल भइरहेको मोरङ व्यापार संघका महासचिव प्रकाश मुन्दडाले बताए। ‘बैंकिङ संस्थाहरुले मनपरी परेका छन्,’ मुन्दडाले भने, ‘देशको समस्या देखाएर विना कारण हामीलाई समस्या थोपर्न पाइँदैन।’

उनले ब्याजदर बढाएर लगानीकर्तालाई निरुत्साहित पार्ने खेल सुरु भएको बताए। बैंकको ३ महिनाको नाफाको प्रतिशत ६० देखि ७० प्रतिशतसम्म रहनुले आर्थिक तरलताभन्दा पनि खेल अर्कै त होइन भन्ने प्रश्न उब्जाएको मुन्दडा बताउँछन्। ‘राष्ट्रबैंकले निजी बैंकहरुले गरिरहेको मनपरी रोक्न कदम चाल्नुपर्‍यो,’ उनले भने, ‘यही कारणले देशमा गम्भीर खालको आर्थिक समस्या आउँदैछ।’ नेपालकै अर्थतन्त्रलाई डुबाएर नेपालका बैंकहरुले नाफा कमाउने मात्रै उद्देश्य राखेको मुन्दडाको आरोप छ।

यस्तै व्यापार संघ मोरङका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले आर्थिक तरलता र व्याजदर बढाउने कुरा राज्यको समस्या भएको बताए । उनले कमर्सियल बैंकहरुलाई सुविधा दिएर भए पनि राष्ट्र बैंकले तत्कालको समस्या समाधान गराउनु पर्नेमा जोड दिए।

यता अर्थविज्ञ प्रमोदकुमार झा भने सरकारले विकास बजेटलाई खर्च गर्न नसक्दा अहिले समस्या आएको बताउँछन्। तर यतिले मात्र बैंकले ब्याजदर बढाउनुको औचित्व पुष्टि नहुने उनको भनाइ छ। ‘अहिलेको आर्थिक तरलतालाई समाधान गर्न राष्ट्र बैंक जति सचेत हुनुपथ्र्यो त्यति देखिएन,’ झाले भने, ‘तर, यही मौका छोपेर निजी बैंक तथा वित्तीय संस्थाले वित्तीय क्षेत्रको समग्र विश्लेषण नगरी ब्याजदर बढाउनुको औचित्य कसैगरी पनि पुष्टि हुँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.