विचार

लाजले हामी सबैको टाउको निहुरियो

बैशाख २९, २०७७

    नेपाली कांग्रेसका नेताहरू नेपालको परिवेश र परिस्थितिसँग जोडेर राजनीतिक अध्ययन गर्दैनन् किन?  तिनीहरूले सायद सिके प्रसाईंको ‘आजको सरल राजनीति’ पनि पढेका छैनन् होला। तर, अहिले अध्ययनशील भनेर मानिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू पनि पढ्न छाडेछन्।

    पढिहाले पनि फेसबुक ट्विटर केही अनलाइन र टाक्कटुक्क पढ्लान्, इतिहास भूगोल संस्कृति अर्थशास्त्र विचार सिद्धान्त र राजनीतिका ग्रन्थ पढ्दैनन्। अरू त परै जाओस् आफ्नै इतिहास पनि सायदै पढ्लान्। किनभने विचार सिद्धान्तलाई पद र गुटले, अर्थशास्त्रलाई अर्थतन्त्रले, इतिहासलाई लाजले, संस्कृतिलाई नाराले खाइकेको छ। त्यसमाथि समय पनि घेराबन्दीले र बाँकी रहेको समय कान फुक्नेले नै सक्छन्। नेताहरूलाई योभन्दा बढी चाहिएको पनि छैन।

    नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र), का नेताहरू नेकपा भएपछि लेखपढ छोडेर दानापानीको खिचलोमा लागेछन्। त्यसैले अहिलेको नेपालमा कुनै पनि पार्टीसँग आफ्नो सिद्धान्त, विचार, कार्यक्रम र नीति छैन। त्यसको टुसो पलाएको देख्‍न अलिक समय लाग्ला । किनभने अचेल विचारको आन्दोलन चल्दैन।

    कांग्रेससँग विश्वेश्वरप्रसाद कोइराला (बिपी) हुनुहुन्थ्यो। उहाँका समाजवादी विचारहरू उहाँको मृत्युसँगै पोलिएर गए। बरु त्यसबाट राजा महेन्द्रले केही फाइदा लिनुभयो। खासगरेर भूमिसुधार र छुवाछुतविरोधी कानुन बिपीका सोच थिए। उहाँ कहिल्यै हिन्दुवादी हुनुभएको थिएन। ‘नेपाल हिन्दु राष्ट्र हो’ भन्‍ने प्रचारसँग उहाँका असहमति त मैले पनि पढेको थिएँ। तर अहिले कांग्रेसको झण्डा लगभग हिन्दु राज्यको भएको छ।

    नेकपाको हालत पनि साह्रै गतिलो छैन। जनताको बहुदलीय जनवादलाई नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्त मान्‍ने तत्कालीन नेकपा (एमाले) र जनताको जनवादलाई आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त मान्‍ने तत्कालीन नेकपा (माओवादी केन्द्र) एक ठाउँमा मिसिए। 

    ‘इमान’ शब्‍द, यिनीहरूको भाषण मात्र हो। त्याग, तपस्या र बलिदान जस्ता शब्दहरू यिनको शब्दकोषबाट हराइसकेका छन्। कार्यकर्ता भनेको यिनीहरूका लागि हुक्के, बैठके मात्र हुन्।

    एमालेको प्रतिनिधिका रूपमा केपी ओली एउटा अध्यक्ष हुनुभयो भने माओवादी केन्द्रको प्रतिनिधिका रूपमा पुष्पकमल दाहाल प्रचण्ड अर्को अध्यक्ष हुनुभयो। कम्युनिस्ट पार्टीमा हुन्छ यस्तो एकता? हुँदैन। कहीँ नभएको जात्रा नेपालमा भयो। यसलाई कम्युनिस्ट विकारको नमुना मान्‍न सकिन्छ।

    अहिले नेपाल कम्युनिस्ट पार्टीको सिद्धान्त के हो? मार्क्सवादी ‘जनताको बहुदलीय जनवाद’ कि लेनिनवादी ‘सर्वहारा वर्गको अधिनायकत्वको’ भाइ जनताको जनवादी अधिनायकत्व? मार्क्सवाद एउटा सार्वभौम सिद्धान्त हो।

    तर, सर्वहारा वर्गको अधिनायकत्व सोभियत संघको पतनको अनुभव हो। ७० वर्षको जीवन बोकेर समाप्त भएको सोभियत संघ अहिले इतिहास बनिसकेको छ। पुँजीवादले दर्जनौं संकट पार गर्दै आफूलाई जोगाएको छ। सोभियत समाजवाद एक धक्कामा सोत्र्याम भयो।

    मान्छे स्वतन्त्र छ। सिद्धान्त, पद्धति जस्ता शब्दले त्यसलाई बाँध्‍न सकिँदैन। त्यसै हुनाले कार्लमार्क्सले स्वतन्त्रताको सिद्धान्त अवलम्बन गर्नुभएको थियो। त्यसैले व्यक्तिको स्वतन्त्रता कुण्ठित पार्दै ल्याइएको लेनिनवादले कुनै पनि हिसाबमा मार्क्सवादको निरन्तरता बोक्दैन।

    सिद्धान्त, विचार र नीति पद्धति हेरेर एकता गरिन्छ। तर, नेकपाको एकतामा त्यस्तो केही गरिएन। सिद्धान्तहीन अवस्थाको वर्तमान नेपाल कम्युनिस्ट पार्टी यसै कारणले दलाल पुँजीवादको झण्डा उचालेर अघि बढ्ने व्यर्थको अभ्यास गरिरहेको छ। दलाल पुँजीवादले कँज्याएर राखेको वर्तमान सरकारले जनताको अनुहार हेर्नै सकेको छैन। त्यसैले अहिले मैले नेता मान्‍नु परिरहेका अधिकांश बढाबुढाहरू बेमौसमको बाजा बजाउने गर्नुहुन्छ घरीघरी। कोरोना संकटको बेलामा राजीनामा या तुष्टीकरण, बेमौसमको राग थियो। तर, कार्यकर्ताको अति चर्को दबाबले गर्दा राग बजेन।

    ‘दुई अध्यक्षले पुगेन तीन बनाइ दिऔं।’ एकजना साथीले प्रधानमन्त्री बन्‍न पाउनुभएन, जसरी भए पनि उहाँलाई प्रधानमन्त्री बनाएर सबैलाई ‘भागशान्ति बराबर गरौं’। सयौं केन्द्रीय कमिटीका सदस्यहरू जिम्मेवारीविहीन हुनुहुन्छ, हाम्रो केन्द्रीय सचिवालयलाई पत्तो छैन। नत कुनै चासो नै छ। यस्तो दुर्गतिको आहालमा पौडिने पनि कम्युनिस्ट पार्टी हुन्छ? मलाई त हुन्छ जस्तो लाग्दैन।

    एउटा पुरानो त्यागको सम्झनाले जहिले पनि झक्झक्याइ रहन्छ। कमरेड रत्नकुमार बान्तवाको हत्यापछि पार्टीले उतिबेला पूर्वोत्तर क्षेत्रीय कमिटी भनिने मेची अञ्‍चलको जिम्मेदारी दिएर मलाई त्यता पठायो। ०३६ सालको असोज महिनामा मैले जिम्मेवारी  लिएँ। मेरो साथी हुनुहुन्थ्यो हरि नेपाल। पार्टीले उहाँलाई रत्नकुमार बान्तवापछिको जिम्मेवार व्यक्ति मानेको थियो र उहाँ माथि आफ्नो राजनीति केन्द्रित गर्नु भन्‍ने निर्देशन पनि दिएको थियो। त्यसैले प्रायः हामी सँगसँगै हुन्थ्यौं।

    एकदिन हामी काबेली नदीनजिकै रहेको एउटा गुफामा थियौँ। उहाँले भन्‍नुभयो, ‘कमरेड रत्नले क्रान्ति सफल भएपछि म चाहिँ नांगाखुट्टे डाक्टर हुन्छु र गाउँगाउँ पुगेर जनताको सेवा गर्छु भन्‍नेहुन्थ्यो। मैले चाँहि लेकमा भेडीगोठ  खोलेर जनताको सेवा गर्ने मन बनाएको छु।’ लगत्तै उहाँले मलाई सोध्नुभएको थियो, ‘क्रान्ति सफल भएपछि तपाईं के गर्नुहुन्छ?’ मैले भनेको थिएँ, ‘म लेखक हुन्छु, जनताको लेखक।’

    नेकपा (माले) कालका ती कष्टपूर्ण दिनहरूमा हामी कसैले पनि मन्त्री, साँसद, बिचौलिया बनौंला र भ्रष्टाचारको रछ्यानमा आरामले सुतौंला भनेर सोचेका थिएनौं। तर, हेर्दा हेर्दै के भयौं हामी? मालेकालीन, आश्रयदाता, रेडगार्ड र कुनै अवसर नपाएका भुइँ कार्यकर्ताहरू हामीलाई सोध्छन् – हामीले खोजेको प्रणाली यही हो?

    होइन भन्‍न म सक्दिनँ। हो भन्‍न मेरो मन मान्दैन। तर, पदका कारण मैले नेता मान्‍नु परेका नेताहरू दुर्गतिपूर्ण झगडा गरिरहेका छन् भन्‍ने हाम्रो पंक्तिभन्दा बाहिरबाट झगडाको बारेमा फेसबुकको पर्दा रंगियो। लाजले हामी सबैको टाउको निहुरियो।

    शरीर प्रकृति हो। त्यसलाई जिस्क्याउँदा राम्रो परिणाम निस्कँदैन। हाम्रो नेतृत्व, मध्यमवर्गीय वुद्धिजीविको उपज हो। यो वर्ग जहिले पनि ताक ‘परे तिवारी, नत्र गोतामे’ यिनीहरूको परिचय हो।

    ‘इमान’ शब्‍द, यिनीहरूको भाषण मात्र हो। त्याग, तपस्या र बलिदान जस्ता शब्दहरू यिनको शब्दकोषबाट हराइसकेका छन्। कार्यकर्ता भनेको यिनीहरूका लागि हुक्के, बैठके मात्र हुन्।

    मैले दशौं महाधिवेशनमा भाग लिनु नै छ। तर, यहाँ म प्रधानमन्त्री र अध्यक्ष वा उपाध्यक्ष नभएसम्म पार्टीको मान्छे हुनै नसक्ने मनोरोगको शिकार हुनुभएका सबै कमरेड साथीसमक्ष अनुरोध गर्न चाहन्छू – जनता हसाउने नौटंकी नगरौं। मालेकालमा हामी प्रायः नेपालको वर्ग विश्लेषण गर्थ्यौं र आफूलाई सकेसम्म तल्लो वर्गको प्रतिनिधि बनाउन खोज्थ्यौं। हाम्रै पालामा जनवादी क्रान्ति पूरा हुन्छ भन्‍ने विश्वासका साथ मुलुकको अर्थतन्त्रलाई सही दिशामा लैजान कुन कुन उद्योगी व्यापारीहरू उपयुक्त होलान् भनेर छलफल गर्थ्यौं।

    म तपाईंहरूले भ्रष्टाचार गर्नुभो भनेर गाली गर्दिनँ। किनभने पुँजीवाद र भ्रष्टाचार जुम्ल्याहा सन्तान हुन्। तर, तपाईंहरू कमाउन या सलाम खान पदको लोभ गरेर नबस्नुस्।

    नेकपा (एमाले) को नवौं महाधिवेशनले गरे जस्तो केन्द्रीय कमिटीका कार्यकारी नेतृत्वको उमेर हद कमसेकम ७० वर्ष, त्यसभन्दा माथि ८० वर्षसम्म केन्द्रीय सल्लाहकार, ८० वर्षपछि जीवनपर्यन्त ज्येष्ठ कम्युनिस्ट मञ्‍च, भन्‍ने निष्कर्षलाई पालन गरिदिनुहोस्। यति गर्न सक्नुभयो भने बाँकी रहेको इज्जत बढ्छ नभए पनि जोगिन्छ।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]