सीमामा पाल टाँगेर पनि बस्‍नु परेको छ

|

दार्चुला : भारतले पश्‍चिमी सीमा क्षेत्रस्थित नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछि देशभर विरोध भइरहेको छ। सुगौली सन्धि अनुसार नेपाली भूमिका रुपमा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा वर्षौँदेखि अतिक्रमण गरेको भारतविरुद्ध नेपालमा विरोध चर्किँदै गएको छ। भारतीय अतिक्रमणविरुद्ध नेपालमा आन्दोलन तातिरहँदा सरकारले कालापानी क्षेत्रमा सशस्त्र प्रहरी बललाई उतार्ने तयारी गरेको छ। यसअघि नेपालको उपस्थिति शून्य रहेको अवस्थामा यस पटक सरकारले सुरक्षाबल तैनाथ गर्न लागेको हो। 

खुला सीमाको फाइदा उठाउँदै भारतले लगातार नेपालतर्फको भूमि हडपिरहेको अवस्थामा कालपानी क्षेत्रको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको हो। नेपालमा सीमा क्षेत्रमा अहिले सशस्त्र प्रहरी नै तैनाथ छ। यस्तोमा  यसै हप्ता कालापानी क्षेत्र नजिक (करिब १२ किलोमिटर दक्षिणपूर्व छाङ्‌रुमा) सशस्त्र प्रहरी परिचालन गरिँदैछ। दार्चुलास्थित सशस्त्र प्रहरीको ५० नम्बर हेडक्वार्टरले यो कामको नेतृत्व गरेको छ। कालापानीमा सशस्त्र प्रहरीको तैनाथी र त्यहाँ पुगेर खेल्ने भुमीकाबारे दार्चुलास्थित सशस्त्र प्रहरीका गुल्मपति डिएसपी डम्बरबहादुर विष्टसँग थाहाकर्मी पदम बडालले गरेको कुराकानी :

भारतीय सीमा क्षेत्रमा सशस्त प्रहरीले कसरी सुरक्षा गरिरहेको छ?

महाकाली नदी किनारमा निगरानी गर्ने काममा लागेका छौं। खलंगालगायत १० ठाउँमा अस्थायी क्याम्प राखेर महाकाली तरेर आउनेहरुमाथि निगरानी गर्दैछौं। नदी किनारमा पाल टाँगेरै भए पनि सीमा निगरानी गरिरहेका छौं।

त्यहाँ खटिने जनशक्तिलाई सुरक्षित बन्दोबस्तीका लागि कस्तो व्यवस्था गरिँदैछ? 

महाकाली नदी किनारमा तत्काललाई पाल टाँगेर बस्नुको विकल्प छैन। तर कयौं ठाउँमा विद्यालय भवन र अन्य व्यक्तिले उपलब्ध गराएका भवनबाट सेवा दिइरहेका छौं। अहिले महाकाली किनार क्षेत्रमा १२० जना प्रहरी परिचालन गरिएको छ।

सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र महकाली किनारसम्म मात्रै सीमित हुने हो या सुरक्षाविहीन भएको उत्तरी सीमा क्षेत्रसम्म पनि पुग्छ?

अहिले महाकाली नदी किनारमा तैनाथ छौं। केही दिनमै सशस्त्र प्रहरी बल कालापानी नजिकैको क्षेत्रमा पुग्नेछ। यसका लागि हामीले आवश्यक तयारी पूरा गरेका छौं। यही साताभित्रै एपीएफको टोली व्यास गाउँपालिकाको वडा नम्बर १ मा हुनेछ। 

व्यास गाउँपालिका-१ का बस्ती हिउँले पुरिएका छन्, पैदल मार्ग बन्द छ, मानवीय उपस्थिति छैन, कसरी जानुहुन्छ? 

हिउँमै बस्‍न मिल्ने गरी बन्दोबस्तीको सामान लिएर प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली त्यस क्षेत्रमा पुग्‍नेछ। सेनाको हेलिकोप्टरमार्फत त्यस क्षेत्रमा जाने तयारीमा छौं। 

त्यस क्षेत्रमा बिओपी राख्‍ने पहिले नै निर्णय भएको थियो, तर अहिलेसम्म भवन बनाउने काम भएको छैन, कहाँ बस्‍नुहुन्छ ? 

यसका लागि (बिओपी राख्‍न) ११ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ। भौतिक संरचना निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढेको छ। यसका लागि व्यास-१ गागामा १५ रोपनी जग्गा सशस्त्रले प्राप्त गरेको छ। आफ्नो भवन नबनेसम्म स्थानीयको घर भाडामा लिएर बस्‍ने योजना छ। 

त्यस क्षेत्रमा हिमपात हुने हुँदा ६ महिनासम्म कोही पनि बस्दैनन्। अर्कोतिर बाटो पनि बन्द छ, खाद्यान्‍न र आकस्मिक सेवाको व्यवस्था कसरी गरिएको छ?

त्यस क्षेत्रसम्म पुग्ने बाटो पनि पूर्णरुपमा अवरुद्ध भएकाले हेलिकोप्टरको व्यवस्था गरिएको हो। खाद्यान्‍न ६ महिनाका लागि एकैपटक पुर्‍याइने छ। आकस्मिक सेवाका लागि जिल्लास्तरीय संयन्त्रमार्फत काम गरिनेछ। 

सशस्त्र प्रहरी बस्‍ने भनिएको ठाउँ भारतले अतिक्रमण गरेर खडा गरेको कालापानी क्याम्पभन्दा झण्डै १२ किलोमिटर दक्षिणपूर्वमा पर्छ। त्यस क्षेत्रमा ब्यारेकमा मात्रै बस्‍न जाने हो वा विवादित क्षेत्रमासमेत गस्ती गर्ने योजना छ?

उत्तरी सीमा क्षेत्रमा सरकारी र सुरक्षा उपस्थिति गराउनु अहिलेको आवश्यकता हो। यसका लागि सशस्त्र प्रहरी तयार छ। त्यस क्षेत्रमा गएर ब्यारेकमा मात्रै बस्ने कुरा आउँदैन। राज्यले तोकेको सबै किसिमका जिम्मेवारी वहन गर्न सशस्त्र कालापानी क्षेत्रमा जान लागेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.