|

'चोट के हो, व्यथा के हो?', 'जति चोट दिन्छौ, देऊ मायालु', 'फूल झरे पनि काँडा झर्दैन' आदि जस्ता अजम्बरी र कर्णप्रिय गीतका सर्जक सुवासचन्द्र ढुंगेलले पछिल्लो कृति 'अक्षरका गोलीहरू' मुक्तकसङ्ग्रह बजारमा ल्याएका छन्। विभिन्न विषयवस्तु र भावमा लेखिएका एक सय ५४ वटा मुक्तक संगृहीत यस कृतिलाई भावक अभियान नेपालले प्रकाशन गरेको हो।

२०३८ सालमा भजन शिरोमणि भक्तराज आचार्यले गाएको गीत 'जति चोट दिन्छौ, देऊ मायालु' उनको अत्यन्तै सफल र चर्चित गीत हो। यसपछि अरुण थापाको स्वरमा सजिएको गीत 'चोट के हो, व्यथा के हो' आजसम्म वियोगी मनहरूको ढुकढुकी बनेको छ।

यसअघि नै 'चोट के हो, व्यथा के हो' गीति एल्बम (२०४५), 'भाँचिएको मन' गीत-गजलसङ्ग्रह (२०६३), 'सुवास' गीति एल्बम, (२०६८), 'आनन्दै आनन्द' भजन सीडी बजारमा ल्याइसकेका ढुंगेल विशेषगरी नेपाली गीतलेखनमा स्थापित र लोकप्रिय स्रष्टा हुन्। विप्रलम्भ (वियोग) शृङ्गार र बिछोड, वेदनाका सिर्जनामा सशक्त उनको लेखनीको सुरुआत विक्रमको २०३० को दशकबाटै भएको देखिन्छ।

२०३८ सालमा भजन शिरोमणि भक्तराज आचार्यले गाएको गीत 'जति चोट दिन्छौ, देऊ मायालु' उनको अत्यन्तै सफल र चर्चित गीत हो। यसपछि अरुण थापाको स्वरमा सजिएको गीत 'चोट के हो, व्यथा के हो' आजसम्म वियोगी मनहरूको ढुकढुकी बनेको छ।

गजललेखनमा पनि उत्तिकै सक्रिय सुवासले छिट्टै गजलसङ्ग्रह बजारमा ल्याउने तयारी गरिरहेका छन्। प्रेमविषयक वा शृंगारिक विषयवस्तुको प्राधान्य उनका रचनामा पाइनु स्वाभाविक हो। यद्यपि, यिनका मुक्तकहरू शृंगार वा रतिरागका विषयमा मात्र केन्द्रित छैनन्। समसामयिक राजनीतिक विकृति, स्वार्थलोलुप नेतृत्व, मान्छेमा बढ्दो असामाजिक र अमानवीय व्यवहार, साँस्कृतिक विकृति र विचलन, हत्या, हिंसा र अराजकताको बढ्दो रूप आदि पनि यिनका मुक्तकका विषय बनेर आएका छन्।

मुक्तक वा चतुष्पदी चार हरफमा एउटा सम्पूर्ण काव्य बोल्न सक्ने कविताको लघु रूप हो। चार हरफमा पहिलो र दोस्रो हरफमा प्रभावकारी शिल्प संयोजनसहित अन्त्यानुप्रासको योजना रहेको हुन्छ भने तेस्रो हरफले स्वतन्त्र अभिव्यक्ति दिँदै चौथो हरफमार्फत् समग्रमा निचोड दिइन्छ, चामत्कारिक रूपमा। चौथो हरफमा पनि अन्त्यानुप्रास अनिवार्य मानिन्छ।

विषयको विविधता र भावको गाम्भीर्य यिनका मुक्तकका सबल पक्ष हुन्। पढ्नमा कुनै अवरोध उत्पन्न नहुने गरी लयात्मक मुक्तक सिर्जना यिनको अर्को सबल पाटो हो। काव्य, त्यसमा पनि लघुत्तम रुप, मुक्तकमार्फत् वृहत् कुरा भन्न सक्ने खुबीमै मुक्तककारको सफलता लुकेको हुन्छ, जुन क्षमता ढुंगेलमा देखिन्छ।

नेपालमा विशेषगरी ३० को दशकयता मुक्तकको लोकप्रियता एक्कासि बढेर आएको देखिन्छ। सोही समयमा गजलले पनि नेपाली साहित्यमा पुनर्जागृत हुने अवसर पाएको देखिन्छ। संरचनात्मक दृष्टिले हेर्दा गजल र मुक्तक उस्तैउस्तै देखिए पनि यिनका आयाम भिन्न छन्, प्रस्तुतिको कला भिन्न छ। मुक्तक चार पंक्तिको सम्पूर्ण काव्य हो, तर गजलमा न्यूनतम छ पंक्ति अनिवार्य हुन्छ। गजलका हरेक दुई पंक्ति (शेर)ले फरक फरक अभिव्यक्ति दिन सक्छन्, मुक्तकका चारै पंक्ति एउटै विषयको केन्द्रीयतामा आवद्ध हुन्छन्।

सुवासचन्द्र ढुंगेल गीतमा त सिद्धहस्त हुन् नै, यिनले गजल र मुक्तकमा समेत आफूलाई खरो रूपमा उतारेका छन्। प्रस्तुत मुक्तककृति 'अक्षरका गोलीहरू' अध्ययन गर्दा यिनको कवित्वचेत निकै उच्च देखिन्छ। अत्यन्तै चामत्कारिक, प्रभावपूर्ण र शिल्पसचेत मुक्तकहरू यस कृतिभित्र सङ्गृहीत छन्। विषयको विविधता र भावको गाम्भीर्य यिनका मुक्तकका सबल पक्ष हुन्। पढ्नमा कुनै अवरोध उत्पन्न नहुने गरी लयात्मक मुक्तक सिर्जना यिनको अर्को सबल पाटो हो। काव्य, त्यसमा पनि लघुत्तम रुप, मुक्तकमार्फत् वृहत् कुरा भन्न सक्ने खुबीमै मुक्तककारको सफलता लुकेको हुन्छ, जुन क्षमता ढुंगेलमा देखिन्छ।

उनका मुक्तकका केही रूप उदाहरणार्थ प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ।

 

औषधिमै खराबी भएपछि के लाग्छ!

माझी यहाँ सराबी भएपछि के लाग्छ!

सुरक्षाको जति गीत गाए पनि तिमीले

चोरसँग त्यो चाबी भएपछि के लाग्छ! (पृ. ४६)

 

दुर्गम गाउँमा आजभोलि मलामी अनि जन्ती छैन

बाबुआमा के खान्छन् खै ढिँडो पकाउन कन्ती छैन

परदेशमा छोरो जेल पर्‍यो यता घरखेत लीलाम भो

डलर आएको कुरा गर्छौ लास आएको गन्ती छैन। (पृ. १२)

 

गल्तीबिना नै मान्छे बदनाम हुन्छ किन?

 

सोझासिधामाथि नै छलछाम हुन्छ किन?

अन्यायलाई देखेर जब न्याय भाग्छ टाढा

नसोध मान्छेको मन फलाम हुन्छ किन? (पृ. ३३)

गजल र मुक्तकबारे उनले निकै गहन अध्ययन गरेर लेख्न सुरु गरेकै कारण उनी पहिलो मुक्तककृति नै मुक्तकिला मुक्तकहरूको कृतिका रूपमा बजारमा ल्याउन सफल भएका हुन्।

सबैजना जितेँ भन्छन् आखिर हार्‍यो कसले?

हत्याराको ठेगान छैन आखिर मार्‍यो कसले?

नेताजीले अचम्म मान्दै सोधे आफ्नो पीएलाई

'गरिबको बस्तीमा आज घीउ खार्‍यो कसले?' (पृ. ६०)

 

गुलाबले पनि चोट दियो, बतासले पनि चोट दियो

सुनगाभाको के कुरा गरौँ, गुराँसले पनि चोट दियो

यति चोट खाएँ जिन्दगीमा, फूल देखे पनि डर लाग्छ

अरू त अरू के भनौँ खै, 'सुवास'ले पनि चोट दियो। (पृ. ६३)

 

समग्रमा, सुवासचन्द्र ढुंगेलको मुक्तकयात्रा पनि उनको गीतियात्रा झैँ उज्ज्वल र परिष्कृत देखिन्छ। यसको प्रमुख कारण उनी आफैँले आफ्नो भनाइमा पुस्तकमा उल्लेख गरेका छन्- अध्ययनपछिको साधना। अर्थात् कुनै पनि विधामा कलम चलाउनुपूर्व त्यस विधाबारे राम्ररी अध्ययन गरेर, त्यसका विविध संरचनात्मक घटक र आवश्यक तत्त्वबारे पर्याप्त ज्ञान लिएर उनले लेख्न सुरु गरेका हुन्। गजल र मुक्तकबारे उनले निकै गहन अध्ययन गरेर लेख्न सुरु गरेकै कारण उनी पहिलो मुक्तककृति नै मुक्तकिला मुक्तकहरूको कृतिका रूपमा बजारमा ल्याउन सफल भएका हुन्। स्रष्टा ढुंगेलको आगामी साहित्ययात्रा अझ सुन्दर र समुन्नत बनोस्, शुभकामना।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.