|

विराटनगर : मोरङका बोइलर कुखुरापालक साना व्यवसायीले आफूहरु व्यवसाय नै छोड्नुपर्ने अवस्था आएको भन्दै सम्पूर्ण राजनीतिक दलसँग हारगुहार गरेका छन्।

कुखुरापालक किसानले लागत अनुसारको प्रतिफल नपाएको भन्दै समस्या समाधानको पहल गरिदन दलहरुसँग हारगुहार गरेका हुन्। कुखुरा पालक व्यवसायीको संगठन नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाले सरकारले कुखुरा पालनसम्बन्धमा नीति तथा कार्यक्रम जारी गर्नुपर्ने, नेपाली किसानलाई बचाउन भारतीय कुखुरा रोक्न कठोर हुनुपर्ने, चल्ला र दानाको अधिकतम मूल्य तोकी अनुगमन गर्नुपर्ने माग गरेको छ।

यस्तै कुखुरापालक व्यवसायीलाई आवश्यक पर्ने कच्चा पदार्थको मूल्यमा भारी वृद्धि भएकोले सोको आधारमा स्वचालित मूल्य प्रणाली लागू गर्नुपर्ने, उत्पादित कुखुराको मूल्य तोक्ने अधिकार सरकार या किसानलाई नै हुनुपर्ने उनीहरुको माग छ।

मोर्चाका अध्यक्ष बलराम थापाले कुखुरापालक किसानलाई राज्यले धान्न सक्ने गरी सेवा सुविधा दिनुपर्ने तथा किसान र उपभोक्ताबीच सहजकर्ताको भूमिका खेल्न सबै दाना डिलरहरुले कति प्रतिशत मुनाफा पाउने हो निश्चित मुनाफा तोकि दिनुपर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग गरे।

समस्या समाधान हुन्छ कि भन्ने आशामा जिल्लास्थित कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम तथा फोरम लोकतान्त्रिक लगायतका दलको ढोका चाहर्दै आफू हिंडेको थापाले बताए।

उनले कुखुरापालक किसानको हितका लागि खोलिएका संघ संस्थाले पनि केही गर्न नसकेको गुनासो गरे। चल्ला तथा दानाको मनपरी मूल्य निर्धारण गर्ने तर, उत्पादित ब्रोइलर कुखुराको मूल्य पनि तीनै विचौलियाले गरिदिँदा किसान मारमा परेको बताए। थापाले यस्तो अवस्थाको अन्त्यका लागि हार गुहार गरिरहेको प्रति सबैले चासो राखिदिन अपिल समेत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.