|

डडेल्धुरा :  स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका नौवटै जिल्ला तथा विभिन्न अस्पतालमा औषधि खरिदका लागि छ करोड ८७ लाख रुपैयाँ निकासा गरेको छ। 

स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय, नौवटै जिल्लाका जिल्ला जनस्वास्थ्य/स्वाथ्य र विभिन्न चार अस्पतालमा गरी छ करोड ८७ लाख रुपैयाँ औषधि खरिदका लागि निकासा गरेको हो। 

भदौ र पुस गरी दुई चरणमा औषधि खरिदका लागि रु छ करोड ८७ लाख रकम निकासा भएको तथा स्वास्थ्य संस्थामा अविलम्ब औषधि पुर्‍याउन निर्देशन दिएको सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएका छन्। सुदूरपश्चिममा औषधि खरिदका लागि सबैभन्दा बढी क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा ७० लाख रुपैयाँ निकासा भएको छ। 

डडेल्धुराको जोगबुढा अस्पताल अस्पताल र कैलालीको मालाखेती अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पताललाई सामान १० लाख र पाँच लाख गरी रु १५/१५ लाख रुपैयाँ निकासा गरिएको छ। 

पहिलो चरणमा ६० लाख र दोस्रो चरणमा १० लाख गरी ७० लाख रुपैयाँ निकासा भएको हो। यसैगरी, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीमा ५५ लाख र १२ लाख गरी ६७ लाख रुपैयाँ, बैतडीमा ५० लाख र १० लाख गरी ६० लाख रुपैयाँ औषधि खरिदका लागि निकासा भएको छ। 

त्यस्तै, कञ्चनपुरमा ४५ लाख र १२ लाख गरी ५७ लाख, अछाममा ४५ लाख र ११ लाख गरी ५६ लाख, डोटीमा ४५ लाख र नौ लाख गरी ५४ लाख, बझाङमा ४३ लाख र ९ लाख गरी ५२ लाख तथा डडेल्धुरामा ३५ लाख र १० लाख गरी ४५ लाख निकासा भएको छ। 

बाजुरा र दार्चुलामा सामान ४० लाख र आठ लाख गरी ४८/४८ लाख रुपैयाँ निकासा भएको जनाइएको छ। मन्त्रालयले विभिन्न अस्पतालमा समेत औषधि खरिदका लागि सिधै रकम पठाएको डडेल्धुरा स्वास्थ्य कार्यालयका प्रमुख वृषबहादुर शाहीले जानकारी गराए।

विसं २०६६ मा निःशुल्क औषधि वितरण गर्ने घोषणा गरेको सरकारले २०७१ भदौ १३ गते जिल्लामा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्यचौकीमा ३५ प्रकारका औषधि निःशुल्क हुने घोषणा गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.