|

काठमाडौं : सुकेको स्वर, चिन्डे तालु, गोलो-गोलो कालो चस्मा लगाएर आर्यघाट डुलिरहने, मान्छे जलाएर वाग्मतिमा फालेका काठका ठुटा, कपडा र गहनामा हैकम जमाउने एक जना डन छन्। जसको नाम हो भस्मे डन। हो भस्मे डन,पशुपति प्रसाद फिल्मका भस्मे डन उर्फ विपिन कार्की। भस्मे डन भन्ने बित्तिकै नेपाली फिल्म हेर्नेहरुले उनलाई चिनिहाल्छन्।

झण्डै एक दशकदेखि कलाकारितामा रहेका विपिनलाई चिनाउने पात्र त्यही भस्मे डन भयो। उनलाई दर्शकले वास्तबिक नाम भन्दा पनि 'छड्के' फिल्मको बिन्दु माझी, 'पशुपतिप्रसाद' फिल्मको भस्मे डन र 'जात्रा' फिल्मको फडिन्द्र तिमल्सिना उर्फ फडुले चिन्छन्। उनले आजसम्म 'छड्के' 'पशुपति प्रसाद' 'जात्रा' 'कालो पोथी' 'सुन्तली' लगातका फिल्ममा अभिनय गरिसकेका छन् भने उनको अभिनय रहेको 'लुट २' र 'लालपूर्जा' रिलिजको क्रममा छन्।

काठमाडौंमा संघर्ष र थिएटर मोह 

मोरङको बाहुनीका विपिनले २०५६ सालमा काठमाडौं आएर क्याम्पस पढ्न थाल्दासमेत कलाकारिताबारे सोचेकै थिएनन्। बीएको पढाईमा नाटक पढ्दा उनले काठमाडौंमा गुरुकुल नाटकघर छ भन्नेसम्म थाहा पाएका थिए। उनको गाउँका दाइ कमलमणि नेपाल त्यही अभिनय सिक्थे। पछि उनै कमलमणिसँगै विपिन पनि गुरुकुल जान थाले, नाटक कसरी गर्दा रहेछन् भनेर हेर्न। जब उनले निरन्तर नाटक हेरे उनीपनि नाटकतिर लोभिए, अभिनय गर्ने चाहना हुन थाल्यो। 

'म पढ्नको लागि काठमाडौं आएको थिएँ, कलकारिता भनेको के हो त्यो थाहा थिएन' उनले विगतबारे भने 'जब म गुरुकुल जान थालेँ, अरुले गरेको अभिनय हेर्दा मलाई पनि अगाडि गएर स्टेजमा अभिनय गर्न मन लाग्थ्यो, तर कसरी गर्ने थाहा थिएन।' 

नाटक निरन्तर हेर्दै गएपछि विपिनले कलाकारले गरेको अभिनय राम्रो वा नराम्रो भनी कमेन्ट गर्न सक्ने भए। उनले गुरुकुलका गुरु र कलाकार विद्यार्थीहरुसँग पनि राम्रो सम्बन्ध बनाए। एक दिन गुरुकुलका संस्थापक नाटक गुरु सुनिल पोखरेललले विपिनलाई सडक नाटक खेल्ने प्रस्ताव गरे। 'सडक नाटकको लागि कलाकार नपुगेको रहेछ र मलाई अफर गर्नुभयो मैले पनि चाहेको त्यही थियो र सहर्ष स्वीकारेँ' विपिनले आफ्नो अभिनययात्राको सुरुवातबारे भने। 

सडक नाटकमा अभिनय गरेपछि उनले गुरुकुलमा नाटकका सानातिना भूमिका पनि पाउन थाले। आफूले पाएको भूमिकामा उनले निकै मेहनत गर्थे। उनको कामबाट प्रभावित गुरु सुनिल पोखरेलले उनलाई नियमित काम गर्न प्रस्ताव गरे। विपिनलाई ढुंगा खोज्दा देउता मिल्यो। उनले आफ्नो काममा झन् मेहनत गरे। नाटक अभिनयमा फोकस भएर ३ वर्षे डिप्लोमा कोर्स पनि सिध्याए। 

उनले डिप्लोमा कोर्स सिध्याउने बेलातिर गुरुकुल बन्द हुने हल्ला चल्यो। उनी लगायत धेरै कलाकार समस्यामा पर्दै थिए। 'पैसा कमाइ हुने ठाउँ बन्द हुन लाग्दा दु:खी थिएँ अब के गर्ने भन्ने दिमागमा खेलाउदै थिएँ, त्यही समयमा फिल्मको अफर आयो' विपिनले सुनाए। 

फिल्ममा अफर र करियर

गरुकुल थिएटरमा नै नाटक गरिरहँदा उनलाई 'छड्के' फिल्मबाट अफर आएको थियो। त्यति बेलासम्म उनी नाटकमा मुख्य भुमिकामा नै अभिनय गर्ने भइसकेका थिए। विपिनले फिल्मको स्क्रिप्ट पढे। स्क्रिप्ट मन पर्‍यो र अभिनय गर्न राजी भए।

'छड्के' प्रदर्शनमा आएपछि उनको भूमिका 'नोटिस' भयो। दर्शकको ध्यान उक्त फिल्ममा मुख्य कलकारमा भन्दा पनि बिन्दु (विपिन कार्की) तिर नै तानियो। 'छड्के'बाट राम्रो प्रशंसा पाएसँगै उनलाई फिल्मका धेरै अफरहरु आए। चित्तबुझ्दो भूमिका नपाएका कतिपय फिल्म उनले रिजेक्ट पनि गरे। उनी सानो रोल नै किन नहोस् फिल्ममा 'नोटिस' हुने खालको भूमिका खोज्थे। 'मैले धेरै स्क्रिप्टहरु पढेँ, राम्रो नलागेकाहरु रिजेक्ट गरेँ' विपिन भन्छन्।

उनलाई अफर आएका फिल्ममध्ये सुन्तली र ताण्डव फिल्मको स्क्रिप्ट मनपर्‍यो र अभिनय पनि गरे। तर फिल्म खासै चलेन। 'राम्रो होला भनि अनिनय गरेको थिएँ तर फिल्मले राम्रो व्यपार गर्न सकेन' विपिनले भने। 

सफलताको स्वाद

निरन्तर अभिनय गर्नुपर्छ एक दिन सफल हुन्छु भन्ने आत्मविश्वास रहेका विपनले फिल्म क्षेत्रलाई नै करिअर बनाउने सोँचे। त्यस पश्चात उनले कालो पोथी र पशुपति प्रसादमा आफ्नो अभिनय कौशल देखाए। पशुपति प्रसाद भन्दा पहिले नै सुटिङ भइसकेको कालो पोथी पशुपति प्रसाद भन्दा पछाडि रिलिज भयो।

पशुपति प्रसाद रिलिज भएसँगै उनको प्रशंसा यति माथि पुग्यो कि जुन उनले कल्पना पनि गरेका थिएनन्। 'फिल्म राम्रो बनेको छ भन्ने थियो तर यत्ति धेरै मन पराउनु हुन्छ र मलाइ माया गर्नुहुन्छ भन्ने लागेको थिएन' उनले भने। पशुपति प्रसादबाट त उनको परिचय नै परिवर्तन भयो। उनलाई विपिन कार्की भन्दा पनि पशुपति प्रसादको भस्मे डन भनेर चिन्न थालियो।

पशुपति प्रसादको लागि विपिनले धेरै मेहनत गरेका थिए। पशुपति प्रसादको स्क्रिप्ट पढ्दा उनी मोहित नै भएका थिए। अब दर्शकको लागि केही नयाँ दिनुपर्छ भन्ने भावना उनीमा थियो, त्यो चाहना पशुपति प्रसादबाटै पूरा हुनेमा उनी आशावादी बने। पशुपति प्रसादको भूमिका खोज्न र स्वर परिवर्तन गर्न डेढ महिना लागेको विपिन बताउँछन्। फिल्म सफल भएपछि मेहनत सम्झिदै उनी भन्छन् 'मेहनतको फल पाए जस्तो लाग्यो।'  

पशुपति प्रसादपछि उनी अभिनित कालो पोथी प्रदर्शनमा आयो। तर त्यसमा उनको भूमिकाको धेरै चर्चा भएन। पछिल्लो समय प्रदर्शनमा आएको फिल्म जात्राले भने पशुपति प्रसादमा पाएको चर्चालाई थप अगाडि बढायो। उक्त फिल्मको रिलिज पश्चात त उनलाई अभिनयको राजा भन्नेहरु पनि भेटिए। प्रिप्रोडक्सनदेखि फिल्म युनिटसँगै रहेर जात्रालाई राम्रो बनाउन उनले पनि महत्वपूर्ण भूमिका निर्वाह गरे। अलि रमाइला भुमिकाहरु गरिसकेका उनीमा केही फरक गर्ने चाहनामा थियो, जात्रामा सोझो व्यक्तिको भूमिका पाए। 

विपिन भन्छन् 'जात्रालाई राम्रो बनाउन एकदमै मेहनत गरेको थिएँ, प्रि प्रोडक्सनको समयदेखि नै सँगै रहेर त्यसलाई राम्रो बनाउन सफल भइयो। जे होस् हाम्रो परिश्रमलाई दर्शकले साथ दिनु हुन्छ त्यसैमा खुसी छु।' पशुपति प्रसादबाट कमाएको नाम भस्मे डन पछि उनको अर्को नाम पनि थपियो 'फडु।' 

कार्कीका अनुसार कलाकारलाई फिल्मको पात्रको नाम ट्याग लाग्नु राम्रो हो तर त्यही एउटा नाममा अड्किएर बस्नु चहि राम्रो होइन। पशुपति प्रसादको ट्यागलाई जात्राले केही मात्रामा भए पनि हटाउन सफल भएकोमा उनी खुशी छन्। भन्छन् 'जात्राले मेरो फ्यानहरु बढेका छन्। पहिलाको फिल्मबाट मैले युवा फ्यानहरु बढी कमाएको थिएँ, जात्राबाट भने बच्चा-बच्चीदेखि बुढाबुढीहरु र महिला फ्यानहरु कमाएको छु। पहिलेको भस्मे डन बिस्तारै हराउदै दर्शकहरुले मलाई फडिन्द्र उर्फ फडुले चिन्न थाल्नुभएको छ।'

प्रदर्शनमा आउन लागेका फिल्म

विपिन कार्की अभिनित दुई फिल्म प्रदर्शनको तयारीमा छन्। प्रतिक्षित फिल्म लुट २ मा पनि विपिन कार्की साइड रोलमा छन्। लुट फिल्मको पात्रलाई निरन्तरता दिन उक्त फिल्ममा काम गरेको उनको भनाई छ। लुट २ हेर्न जाँदा आफूमाथि ठूलो आशा नराख्न विपिनले आग्रह गरेका छन्।

'लुटको हिरो हाकु हो म त साइड रोलमा छु त्यसैले मेरो अभिनयबाट ठूलो आशा नगर्नु होला' उनले भने। लुट २ पछि विपिन कार्की र सौगात मल्ल अभिनित अर्को फिल्म लालपूर्जा प्रदर्शनमा आउँदैछ। त्यसमा भने उनले आफ्नो अभिनय क्षमतालाई राम्रैसँग देखाउने अवसर पाएका छन्।

आगामी प्रोजेक्ट : कस्तो अवतार?

अब नेपाली दर्शकहरुले सोध्न थालिसके - विपिनको नयाँ प्रोजेक्ट कस्तो होला? अब विपिन कस्तो रुपमा प्रस्तुत होलान्? अब आउदा दर्शकलाई नयाँ स्वाद दिन खोजिरहेका विपिन आफ्ना फ्यानहरुलाई छिट्टै मुख्य भूमिका सहित पर्दामा आउने आश्वासन दिन्छन्।

प्रि प्रोडक्सनको काम भइरहेको उक्त फिल्मको नाम भने उनले खुलाएनन्। भन्छन् 'अब दर्शकले चित्त बुझ्दो तरिकाले मलाई मात्र हेर्न हलमा जान पाउनुहुन्छ किनभने म अब छिट्टै नै मुख्य भुमिकामा रहेर एउटा फिल्ममा देखिदैछु।'

विपिन नयाँ प्रोजेक्टको लागि भरपुर मेहनत गरिरहेका छन्। फागुन दोस्रो सातादेखि छायांकनमा जान लागेको नयाँ फिल्ममा विपिन आजसम्म गरेको भुमिका भन्दा बिल्कुलै फरक भूमिकामा देखिने बताउँछन्। विपिन भन्छन् 'म दर्शकमाझ छिट्टै नयाँ रुप सहित प्रस्तुत हुँदैछु। अब आउने फिल्ममा मलाई मेरा दर्शकहरुले एक्सन अवतारमा देख्न पाउनुहुनेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.