संक्रमित बसेको स्थान र घर पूर्ण रुपमा सिल

|

बर्दिया : बर्दियाको राजापुर नगरपालिका ५ स्थित खल्ला जयपुरकी ११ वर्षीया बालिका कैलालीको अत्तरियास्थित आफन्तकहाँ बसेर घर फर्किंदा कोरोनाको संक्रमणमा परिन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ उनी कोरोना संक्रमित भएको पुष्टि ग¥यो। उनलाई झण्डै २० घण्टापछि उपचारका लागि बाँकेको खजुरास्थित कोरोना अस्पतालमा पठाइएको छ। 

मंगलबार साढे ४ बजेतिर मात्रै उनलाई उपचारका लागि पठाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। बर्दियाकी पहिलो कोरोना भाइरस (कोभिड—१९) संक्रमित बालिका चैत्र ५ गते हजुर आमासँग कैलाली पुगेकी हुन्। उनकी हजुरआमाको रिपोर्ट भने नेगेटिभ आएको छ।    

कैलाली—बर्दियाको सीमा सिल गरिएपछि उनै बस्न बाध्य भएकी थिइन्। वैशाख महिना लागेपछि बर्दिया छिर्न नपाएका उनीहरु फर्किएर कैलालीको भजनीस्थित फुपूको घरमा बसेकी बर्दियाका प्रजिअ लामिछानेले बताए। बर्दियास्थित घर आउन वैशाख १६ गते सत्तीपुलमा जिल्ला भित्रिनेहरुसँगै धर्ना बसेका उनीहरु स्थानीयतहसँग क्वारेन्टाइनमा बस्ने सम्झौतामा राजापुर भित्रिएका हुन्। 

संक्रमित बसेको स्थान र घर पूर्ण रुपमा सिल

कैलालीबाट आएपछि उनिहरुलाई सोझै किसान माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो। परीक्षणको रिपोर्ट आएपछि स्थानीय प्रशासनले राजापुरमा उनीहरु बसेको स्थान र घर पूर्ण रुपमा सिल गरेको छ। अन्य घरहरु पूर्ण लकडाउनमा राखिएको छ। 

संक्रमितसँगै क्वारेन्टाइनमा बसेका ३५ जना र संक्रमितसँगै छोइएका ६ जनाको पिसिआर परीक्षण सुरु भएको लामिछानेले बताए। बिरामीको अवस्था सामान्य छ। उनलाई अहिले बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा पठाइएको छ। 

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा सिल गरिएको छ। राजापुर नगरपालिका ५ मा ११ वर्षीया बालिकामा सोमबार कोरोना संक्रमण पुष्टि भएसँगै दुई पालिकाको सीमा सिल गर्ने निर्णय भएको हो। गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले अनिश्चितकालका लागि राजापुर नगरपालिकासँगको सीमा बन्द गरिएको बताए। 

संक्रमण फैलिए उपचारमै समस्या आउने

‘बर्दियामा कोरोना अस्पताल नहुँदा संक्रमण फैलिएको खण्डमा समस्या निम्तिन सक्छ,’ प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, ‘बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा पनि बेड संख्या सीमित हुँदा उपचारमा समस्या हुन्छ।’ 

प्रदेश ५ मा अहिले ४ स्थानमा कोरोना विशेष अस्पतालहरु छन्। प्रदेशमा संक्रमित व्यक्ति भेटिने क्रम बढेसँगै उपचारमा समस्या हुने आशंका पनि बढेको छ।बर्दियामा संक्रमण फैलिएको खण्डमा प्रदेशका अन्य कोरोना विशेष अस्पतालसंग समन्वय गर्नुपर्ने प्रजिअ लामिछानेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.