|

  • रमेश रावल-

कालिकोट : राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशनले ऐनबहादुर शाहीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। मंगलबार र बुधबार भएको अधिवेशनले अध्यक्ष सहित १८ सदस्य चयन गरेको छ। कार्यसमितिमा ७ जना सदस्य मनोनित गर्न बाँकी रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ नम्बर प्रदेश संयोजक धनबहादुर बुढाले बताए। ‘अधिवेशनले १८ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ’ उनले भने, ‘७ जना मनोनियन गर्न बाँकी रहेको छ।’

पदाधिकारी विवाद

अध्यक्षमा ऐनबहादुर शाहीलाई निर्बिरोध निर्वाचित गरेपनि अन्य पदाधिकारीमा विवाद रहेको छ। उपाध्यक्ष, सचिव र कोषाध्यक्षका लागि आंकाक्षी धेरै जना देखिएपछि आन्तरिक विवादका कारणले चयन हुन नसकेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई उपाध्यक्ष पदका लागि धेरै जना आंकाक्षी देखिएका छन्। पार्टी एकताको अधिवेशन भएका कारणले कमल थापा पक्षधरले आफूले वरिष्ठ उपाध्यक्ष पद पाउनुपर्ने माग गरेको छ। पशुपति राणा पक्षधर पनि जिल्ला समितिमा आफ्नो बहुमत पक्ष जितेकाले आफूले वरिष्ठ उपाध्यक्ष पद पाउनुपर्ने अडानमा रहेका छन्।

उपाध्यक्षका लागि राणा पक्षधरबाट पटक शाही, इन्द्र ढकाल, लालबहादुर मल्ल र कालीबहादुर शाहीले दावी गरेका छन्। कमल थापा पक्षधर बालासिंह साउदले एकताको अधिवेशन भएकाले आफूले वरिष्ठ उपाध्यक्ष पद पाउनुपर्ने जिकिर गरे।

सचिवमा झन् धेरै कांकाक्षी

एउटा मात्र सचिव पदका लागि अझै धेरै जना आंकाक्षी देखिएका छन्। सचिवमा मलिराज शाही, धनसुर शाही, सूर्य बम, केशबहादुर शाही, टेकबहादुर बुढा, सत्यबहादुर शाहीले सचिव पद आफूले पाउनुपर्ने अडान लिएका छन्। एउटै पदका लागि धेरै जना आंकाक्षी देखिएपछि तीन दिनदेखि विवाद मिलाउन नसकिएको राप्रपा पार्टी नवनिर्वाचित एक सदस्यले थाहाखबरलाई बताए।

कोषाध्यक्ष महिला हुने सम्भावना

कोषाध्यक्ष पदका लागि सुशीला शाही हुने निश्चित जस्तै भएको र त्यसमा कसैको विवाद नरहेको जिल्ला समिति सदस्य पटकबहादुर शाहीले बताए। ‘हामी आन्तरिक बैठक बसिरहेका छौं, अरु पदमा धेरै जना आंकाक्षी भए पनि कोषाध्यक्षमा सुशीला शाही हुने निश्चित भएको छ’ उनले भने। शाही कमल थापा पक्षधर हुन्।

मनोनित हुने सात सदस्यमा पनि विवाद

निर्वाचित कार्य समितिले ७ जना मनोनयन गर्नेमा पनि विवाद देखिएको छ। सातमा राणा पक्षधरले एकलौटी गर्न खोजेपछि त्यसमा पनि विवाद भएको एक जिल्ला सदस्यले बताए। नयाँ मनोनयन हुनेमा पुराना पाका नेतालाई सम्मान दिनुपर्ने र युवालाई मनोनयन गर्नेमा विवाद देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.