काठमाडौं : अमेरिकामा कोरोना भाइरसका कारण अगस्टसम्म एक लाख ४७ हजार मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ।
युनिभर्सिटि अफ वासिङटन फर हेल्थ मेट्रिक्स एण्ड इभाल्युसन (आइएचएमई)को अध्ययनले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। यसअघि अमेरिकामा कोरोना भाइरसको संक्रमण सुरु भएलगत्तै यो संस्थाले १० हजारभन्दा धेरैको मृत्यु हुने अनुमान सार्वजनिक गरेको थियो।
संक्रमण रोक्नका लागि लगाइएका प्रतिबन्धलगायतका उपायहरु खुकुलो गर्नु झन् खतरनाक हुनसक्ने उसको चेतावनी छ। यसैबीच अमेरिकी सिनेटमा ह्वाइट हाउसका कोरोना टास्क फोर्सका प्रमुख एन्थोनी फौसीले पनि अहिले जारी प्रतिबन्ध खोल्नु घातक हुनसक्ने चेतावनी दिए।
कोरोना भाइरसको दोस्रो संक्रमण झनै खतरनाक हुने तर्क गर्दै डाक्टर फौसीले कोरोना भाइरसको भ्याक्सिन बनाउने प्रयास चलिरहे पनि छिटै सफल होला भन्ने कुनै ग्यारेन्टी नभएको बताए। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने जारी प्रतिबन्धहरु खोल्ने पक्षमा छन्।
अमेरिकामा हालसम्म झण्डै साढे ८३ हजार मानिसको कोरोनाका कारण मृत्यु भइसकेको छ भने १४ लाख बढी संक्रमितहरु फेला परेका छन्। अमेरिकामा हिजो मात्रै १६ सय ३० जनाको मृत्यु भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।