|

एजेन्सीः विश्वकप क्रिकेट २०१९ को विवादित फाइनल खेलको नतिजालाई लिएर, खेलका कयौं जानकार, समर्थक र प्रशंसकहरु आजपनि चुक्चुकाउँछन्।

गत वर्ष जुलाईमा लण्डनमा सम्पन्न विश्वकप क्रिकेटको फाइनल खेलमा नतिजा घोषणा गर्दा इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) जुन नियम अपनायो, त्यो ‘बाउन्ड्री काउन्ट’ गर्ने निर्णय निकै विवादमा पर्‍यो।

यहि नियमका कारण निरन्तर राम्रो खेलेर पनि न्यूजिल्यान्डमाथि अन्याय भएको थुप्रै खेलाडी र खेलप्रेमीले त्यतिबेलै टिप्पणी गरेका थिए। विश्वकपको फाइनलमा इङ्गल्याण्डले बाउन्ड्री काउन्ट नियमका आधारमा न्यूजिल्यान्डलाई हराएको थियो। खेलका जानकारहरुले आलोचना गर्दै यसलाई न्यूजिल्यान्डमाथिको अन्याय भनेका थिए। 

पूर्व भारतीय क्रिकेटर गौतम गम्भीर पनि इङ्गल्याण्डलाई मात्रै विजेता घोषणा गरिनु ठीक थिएन भन्छन्। सन् २०१९ जुलाई १४ को विश्वकप फाइनल सम्झँदै उनले भनेका छन्‍, ‘न्यूजिल्यान्ड एकदिवसीय विश्व च्याम्पियन हुन लायक टीम रहेकाले उसलाई समेटेर संयुक्त विजेता घोषणा गर्नुपर्ने थियो।’ गम्भीरले स्टार स्पोर्टसको शो ‘क्रिकेट कनेक्टेड’मा भने, ‘त्यस समय वर्ल्डकपमा संयुक्त विजेता घोषित गरिनुपर्थ्यो, न्यूजिल्यान्डलाई पनि त्यो उपाधि दिइनुपर्थ्यो, तर दुर्भाग्य त्यस्तो हुन सकेन। न्यूजिल्यान्डको समग्र रेकर्ड हेर्दा उसले निरन्तर राम्रो प्रदर्शन गर्‍यो। २०१९ र त्यसअघि २०१५ को विश्वकपमा उ लगातार रनरअप मात्र भयो। उसले हरेक परिस्थितीमा निक्कै राम्रो प्रदर्शन गरेपनि त्यसको क्रेडिट पाएन।’ 

विश्वकपको फाइनल स्मरण

गत वर्ष जुलाईमा लण्डनमा सम्पन्न विश्वकप २०१९ को फाइनलमा बाउन्ड्री गणना गरेर विजेता घोषणा गरिएको थियो। लर्ड्समा इङ्गल्याण्ड र न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा २४१ बनाएपछि सुपरओभर खेलाइएको थियो। न्यूजिल्यान्डले पहिले २४१ रन बनाएको थियो। इङ्गल्याण्ड पनि २४१ रनमै अलआउट भएको थियो। सुपर ओभरमा इङ्गल्याण्डले १५ रन बनाएको थियो।

न्यूजिल्यान्डले यो लक्ष्य बराबरी गर्‍यो। तर जितका लागि आवश्यक एक रन बनाउन सकेन। त्यसपछि 'बाउन्ड्री काउन्ट' नियम लागू भयो। इङ्गल्याण्डले २६ र न्यूजिल्यान्डले १७ बाउन्ड्री (चौका र छक्का) हानेका थिए। धेरै बाउन्ड्री हानेका कारण इङ्गल्याण्डलाई विश्वकप विजेता घोषणा गरिएको थियो। विश्वकपकै इतिहासमा पहिलोपटक फाइनल खेल 'सुपर ओभर'मा गएको थियो। निर्धारित ओभर र सुपरओभर दुवै बराबरी भएको पनि पहिलो पटक नै थियो। 

'बाउन्ड्री काउन्ट' नियम के थियो?

सुपर ओभरमा दुवै टीमले समान रन बनाएको अवस्थामा 'बाउन्ड्री काउन्ट' अर्थात चौका र छक्का प्रहार गरेको गणना गरेर खेलको नतिजा घोषणा गरिन्थ्यो। प्रतिष्पर्धी टीमका ब्याट्सम्यानले दुई इनिङ्गमा हानेका चौका र छक्काको गणना गरिन्थ्यो। सबैभन्दा धेरै चौका-छक्का हान्ने टीमलाई विजेता घोषणा गरिन्थ्यो, जसलाई 'बाउन्ड्री काउन्ट नियम' भनिन्थ्यो। 

आइसीसीले नियम नै बदल्यो

विश्वकपको फाइनलको निर्धारित समय र त्यसपछिको सुपर ओभर दुबै बराबरी भएपछि आइसीसीले बाउन्ड्री काउन्ट नियममार्फत इङ्गल्याण्डलाई विजेता त घोषणा गर्‍यो। तर यसको चर्को आलोचना र विरोध भएपछि आइसीसीले 'सुपरओभर'को नियम नै परिवर्तन गरिसकेको छ। जसअनुसार फाइनल र सेमिफाइनलको निर्धारित ओभर बराबरी भए एउटा टीमले अर्को टीमभन्दा धेरै रन नबनाएसम्म 'सुपर ओभर' जारी रहनेछ। आईसीसिको यो नियम टी-ट्वेन्टी र एकदिवसीय दुबैमा लागू हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.