|

काठमाडौं : नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले स्ववियु चुनावको लागि ३९ बुँदाको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। प्रतिवद्धतापत्रमा त्रिभुवन विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्स (विशेषज्ञता अध्ययनको केन्द्र) बनाउनेदखि विद्यार्थीलाई पार्ट टाइम जागिर र शैक्षिक ऋण दिने समेत उल्लेख छ। 

स्ववियु निर्वाचनमा यस वर्षदेखि लागू हुने २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीलाई क्रान्तिकारीले आफ्नो उपलब्धी मानेको छ।  

प्रतिवद्धता पत्रमा जनयुद्धको झल्को

अखिल क्रान्तिकारी २०६३ सालसम्म माउ पार्टी तत्कालिन नेकपा (माओवादी) सँगै जनयुद्धमा थियो। जसमा उसले आफ्ना उपाध्यक्ष बेनोज अधिकारी लगायतका नेता कार्यकर्तालाई गुमायो। जसको झल्को बुधबार बागबजारको एक होटलमा जारी गरेको स्ववियूको प्रतिवद्धताको सुरुमै भेटिन्छ।

क्रान्तिकारीले विद्यार्थी र देशको हकहितका लागि जनयुद्ध लडेको उल्लेख गरेको छ। प्रतिवद्धतापत्र लेखिएको छ, 'समावेशी र समानुपातिक चरित्रको संघीय गणतन्त्र नेपालको नयाँ बिहानी ल्याउन र शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकको मौलिक हकको रुपमा संवैधानिक ग्यारेन्टी गराउन निकै ठूलो र अद्वितीय बलिदानको कोटा चुक्ता गरेको छ।' 

२८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणाली

२०६५ सालमा भएको स्ववियु चुनाव २ वर्षपछि हुनुपर्थ्यो। त्यसआधारमा अहिलेसम्म ४ वटा चुनाव भइसक्थ्यो। तर, ८ वर्षपछि फागुन १४ गते चुनाव हुँदैछ। यो चुनावमा उम्मेदवार उठ्ने विद्यार्थीको उमेर २८ वर्षसम्मको हुनुपर्नेछ। त्यस्तै यसपालीको स्ववियु चुनावको प्रणाली मिश्रित हुनेछ। यी दुबै प्रणाली ल्याउनुमा आफ्नो भूमिका रहेको क्रान्तिकारीले उल्लेख गरेको छ।

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नरेन्द्र न्यौपानेले २८ वर्षे उमेर हदले राष्ट्रिय राजनीतिमा युवा नेताहरुको प्रवेश हुने र ५० वर्षेलाई युवा नेता भन्नुपर्ने बाध्यता अन्त्य हुने दावी गरे। पढाइ सकेर पनि वर्षौंसम्म स्ववियुको लागि क्याम्पसमै बस्ने र विद्यार्थी कल्याण कोषको रकममा र्‍याल चुहाउने परम्परालाई उमेरहदले तोडेको प्रतिवद्धता पत्रमा उल्लेख छ। क्रान्तिकारीले यसअघि स्ववियु एकपक्षीय र भेदभावपूर्ण भएकोले मिश्रित निर्वाचन प्रणालीले त्यो अवस्थाको पनि अन्त्य गर्ने बताए। 

सरकार सर्टिफिकेट लेउ, ऋण र रोजगारी देउ

अखिल (क्रान्तिकारी) ले आफूले उठाएका शैक्षिक ऋणका कुरा सरकारले नीति तथा कार्यक्रममा समेटेकोले एक हदसम्म माग पूरा भएको उल्लेख गरेको छ। त्यसको कार्यान्वयनका लागि भने अझै लड्नुपर्ने उसको भनाइ छ।

शैक्षिक ऋण र पढिरहेका विद्यार्थीलाई पार्ट टाइम रोजगारीको व्यवस्था गर्ने मुद्दा प्रमुख रुपमा उठाउने उल्लेख गरिएको छ। उसले मुख्य नारा नै 'सरकार विद्यार्थीको सर्टिफिकेट लेऊ!, कि रोजगार कि बेरोजगार भत्ता देऊ!!' राखेको छ।

शैक्षिक मुद्दा जसका आधारमा माग्दैछ मत 

त्रिविका केन्द्रीय विभागमा सञ्चालन भइरहेको सेमेस्टर प्रणालीलाई अन्य क्याम्पसमा पनि विस्तार गर्ने त्रिविको निर्णयलाई क्रान्तिकारीले पूर्वाधार विकास गरेरै मात्र लागू गर्न आग्रह गरेको छ।

यस्ता छन् प्रमुख मुद्दा:

  • पुराना र असान्दर्भिक बनेका विषयहरुको ठाउँमा प्रतिस्पर्धात्मक नयाँ विषयहरुको अध्यापन गर्ने वातावरण बनाउने
  • विश्वविद्यालय पदाधिकारीदेखि क्याम्पस प्रमुख लगायतका पदसम्म हुने दलीय भागबन्डाको अन्त्य गरेर दक्षता र क्षमताको आधारमा नियुक्त गर्न दबाब दिने,
  • क्याम्पसहरुको पठनपाठनलाई स्मार्ट लर्निङ सिस्टममा स्तरोन्नति गर्ने,
  • परीक्षा प्रणालीमा सुधार गरी परिक्षा सञ्चालन र नतिजा प्रकाशनको ढिलासुस्तीको अन्त्य गर्ने,
  • विश्वविद्यालयमा छुट्टै पार्ट टाइम जब डिपार्टमेन्ट को स्थापना गरी पढिरहेका नियमित विद्यार्थिहरुको लागि आंशिक रोजगारीको सुनिश्चितता गर्ने,
  • केन्द्रीकृत ट्रान्सक्रिप्ट वितरण प्रणालीलाई प्रत्येक प्रदेशबाट वितरण गर्ने व्यवस्था गर्ने,
  • त्रिविका सम्पूर्ण कलेजहरुलाई निशुल्क वाईफाई क्षेत्र बनाउन,
  • प्रत्येक प्रदेशमा प्राविधिक क्याम्पस स्थापना गर्ने
  • विद्यार्थीहरुलाई निशुल्क कलेज बसको व्यवस्था गर्न,

 

यी मागहरुका साथै अखिल क्रान्तिकारीले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको रक्षाका लागि संघर्ष गर्ने, स्ववियुमा हुने भ्रष्टाचारलाई अन्त्य गर्न भूमिका निर्वाह गर्ने, विकट जिल्लाहरुमा पनि आंगिक क्याम्पस स्थापना गर्न भूमिका निर्वाह गर्ने पनि उल्लेख गरेको छ। त्यस्तै संविधानमा शिक्षा मौलिक हकको रुपमा व्यवस्था भएकाले यसलाई कार्यान्वयन गर्न दबाब दिने, क्याम्पसहरु निजीकरणको विरोध गर्ने पनि क्रान्तिकारीको प्रतिवद्धतापत्रमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.