भवन बनाउन सर्भे, बोर्डर आउट पोस्ट बिस्तार गरिने

|

काठमाडौं : भारतको अतिक्रमणमा परेको कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म नै राख्ने प्रक्रिया सरकारले अघि बढाएको छ। ब्याँस गाउँपालिकाको छाङ्‍गरुस्थित गागामा बुधबार बोर्डर आउट पोस्ट राखेको सरकारले गुल्म नै राख्न‍े गरी भवन निर्माण प्रक्रिया अघि बढाएको हो। 

सशस्त्र प्रहरीको गुल्म राख्ने गरी काठमाडौंबाट गएका सशस्त्र प्रहरीका इन्जिनियरको टोलीले बुधबारै गागामा नाप नक्सा पनि गरेका छन्। गागास्थित १५ रोपनी जग्गा पनि उपलब्ध भइसकेकाले गुल्मका लागि भवन निर्माण प्रक्रिया अघि बढाइएको हो। 

भारतले अतिक्रमण गरिरहेको उक्त क्षेत्रमा राखिने गुल्ममा १ सय ६५ जना सशस्त्र प्रहरी रहनेछन्। बिहीबार स्थापना भएको बोर्डर आउट पोस्टमा २५ जना सशस्त्र प्रहरी रहेका छन्। गागामा राखिने गुल्मको नेतृत्व डिएसपीले गर्ने भएका छन्।

गागामा सशस्त्र प्रहरीको भवन निर्माणका लागि सरकारले नौ करोड रुपैयाँ बजेट बिनियोजन गरिसकेको छ। त्यहाँ हिउँदमा बाक्लो हिमपात हुने गरेको छ। त्यसैले १२ महिना नै बस्न मिल्ने गरी सरकारले सशस्त्र प्रहरीको ब्यारेक निर्माण अघि बढाएको छ। 

भवन निर्माणका लागि यथाशक्य चाँडो भवन निर्माणको टेन्डर खोल्ने तयारी थालिएको गृहमन्त्री रामबहादुर थापा बादलका एकजना सल्लाहकारले जानकारी दिए। त्यहाँ गुल्म स्थापना भएपछि कालापाी र लिपुलेक क्षेत्रमा अन्य बोर्डर आउट पोस्ट स्थापनाको तयारी सरकारले अघि बढाएको छ।

करिब ६० हजार हेक्टर नेपाली भूमि भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमण गरेको छ। उसैले विवादित भूमिकारुपमा स्वीकारेर पनि केही दिनअघि चीनको मानसरोवर जाने सडक उद्घाटन गरेको थियो।

नेपालतर्फ करिब २२ किलोमिटर भूमिमा पनि भारतले सडक खनेको छ। ७९ किलोमिटर लामो सडक लिपुलेकभन्दा ५ किलोमिटर तल नै रहेको अवस्थामा भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुई साताअघि दिल्लीबाट उद्घाटन गरेका थिए। 

बुधबार मात्रै काठमाडौंबाट गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईसहितको टोली छाङ्‍रु पुगेको थियो। उक्त टोली गागामा एक रात बसेर बिहीबार दार्चुला सदरमुकाम खलंगा फर्किएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.