सिन्धुपाल्चोक : बिहीवार बागमती प्रदेश अर्थ तथा विकास समितिले आगामी बजेटको विषयबारे विषयविज्ञसँग गरेको छलफलमा स्वास्थ्यको क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिनुपर्ने सल्लाह पेस भएको छ।
पछिल्लो स्थितिबारे बजेटको प्राथमिकता र सन्दर्भबारे विभिन्न क्षेत्रका विशेषज्ञहरुसँग छलफल गरिएको बागमती प्रदेशका अर्थ तथा विकास समिति सभापति सरेस नेपालले जानकारी दिए।
‘अघिल्ला वर्ष पूर्वाधार विकासले बजेटमा प्राथमिकता पाउँथ्यो, भने अब कोरोना भाइरस संक्रमण नियत्रणको सेरोफेरोमा बजेट ल्याउनुपर्छ, यो भनेको स्वास्थसम्बन्धी ज्ञान र चेतना अभियानकै रुपमा लैजाऊँ भन्ने हो’, सभापति नेपालले भने, ‘उत्पादन र रोजगारी बढाउने, कृषि क्षेत्रमा उत्पादन बढाउँदा खाद्य संकटमा फस्नु पर्दैन र परनिर्भर्ता घट्छ।’ उनले ग्रामीण क्षेत्रमा रोजगारी वृद्वि गर्ने कार्यक्रम बजेटमा समावेश गर्न सुझाव पेस गरिएको जानकारी दिए।
त्यस्तै पूँजीगत खर्च गर्ने सामथ्र्यता अभिवृद्धि गर्न गहिरो अध्ययन गर्नुपर्ने, प्रत्येक पालिकामा स्वास्थ भवन निर्माण, बाँझो जमिनमा सिँचाइलगायत शीर्षककमा बजेट ल्याउन अर्थविद्हरुले सुझाव पेस गरेका हुन्। भ्रष्टाचार गर्ने मनसायले नै बजेटको प्राथमिकता निर्धारण गर्ने परिपाटी अन्त्य हुनुपर्ने, अबण्डा बजेट राख्न नहुने समेत विज्ञको सुझाव रहेको समितिले जनाएको छ।
बजेटले शुशासन र पारदर्शिताको भावनालाई आत्मासाथ गर्न, पछाडी पारिएका क्षेत्र, बर्ग र समुदायलाई उठाउन र प्रदेशको आवधिक योजनाअनुरुप बजेट विनियोजन गर्न समितिले प्रदेश सरकारलाई सुझाएको छ।
संघीय सरकारसँगको सहकार्यको अनुदान समपुरक अनुदानका लागि बजेट व्यवस्था गर्न सुझाव तयार गरिएको समितिका सभापति नेपालले जानकारी दिए। नेपालका अनुसार सुझाव संकलनमा प्राडा अर्जुन कार्की, डा. जगदीशचन्द्र पोख्रेल, डा. पीताम्बर शर्मा, डा. खिमलाल देवकोटा, डा. कृष्ण प्रसाद पौडेलले प्रदेश सरकारको बजेटको परिधि निर्धारण गर्न सुझाव संकलनमा भाग लिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।