|

सिन्धुपाल्चोक : जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकमा लागि औषधि खरीदका लागि चालु आथिक वर्षमा ४९ लाख बजेट आएको छ। तर  सेवाग्राहीहरु मेडिकलमा औषधि किन्‍न बाध्य छन्। 

'अस्पतालमा गएपनि औषधि लिन मेडिकल नै पठाउने हो,' बतासेकी सम्झना विकले भनिन्,'त्यसैले राम्रो उपचार र औषधिका लागि भनेपनि हामीहरु सिधै मेडिकल जान्छौँ।'

जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत धेरै कर्मचारीहरुले आफै मेडिकल चलाएका छन्। उनीहरु आफ्नो कार्यकक्षभन्दा धेरै समय आफ्नै मेडिकलमा औषधि बेच्‍न व्यस्त हुन्छन्। 

यस आर्थिक वर्षमा हालसम्म टेण्डर प्रक्रियाबाट  २८ लाख रुपैयाँको औषधि खरिद भैसकेको र २० लाखको टेण्डर स्वीकृत भई औषधि आउने प्रक्रियामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरेन्द्र चौरासिया बताउँछन्।

'जिल्ला स्वास्थ्य कार्यालयमा औषधि खरिदका लागि आएको आधा करोड बराबरको रकमले औषधि किन्न पुग्दैन,' जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख  चौरासिया भने,'हाल स्टोर मौज्दात ९० आइटम औषधिहरु छन्, औषधिको व्यवस्थापन राम्रोसँग गर्न सकिएको छैन्। त्यसैले सबैलाई समान पहुँचले औषधि वितरण गर्न नसकीएको हो।’

स्वास्थ्य सेवा विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, केन्द्रिय मेडिकल स्टोर, क्षेत्रिय मेडिकल स्टोरहरुबाट माग बमोजिमका औषधिहरु पर्याप्त मात्रामा प्राप्त हुन नसकेकोले पटक- पटक औषधि ढुवानी गर्नुपरेको उनले बताए।

आर्थिक वर्ष ०७३\०७४ जम्मा वार्षिक बजेट १७ करोड ८३ लाख २३ हजार ६ सय ५० रुपैयाँ  बजेट छ। अहिलेसम्म ७ करोड ७९ लाख ९६ हजार ३ सय ९४ रुपैयाँ बजेट खर्च भैसकेको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ। 

जिल्लामा स्वास्थ्य संस्थाहरुको वेथिती उस्तै छ। विनाशकारी भूकम्प गएको २२ महिना बितिसक्दा समेत स्वास्थ्य कार्यालयमा भवन बन्न सकेको छैन्। अहिले टेण्ट भएको ठाउँमा अर्को  प्रिफाईब भवन बनाउने कुराकानी भैरहेको जिल्ला स्वास्थ्य कार्यालयका व्यवस्थापन समितीका अध्यक्ष सोम सापकोटा बताउँछन्।

‘जिल्ला अस्पतालको भवन भत्काएर बनाउनु पर्ने भएकोले त्यसको लागी चाईनीज टीम आएर फिजिबिलिटि स्टडी गरेर गई सकेको अवस्था  छ, केहि समयमा नै जिल्ला अस्पताल पुनर्निर्माण कार्य सुरु हुन्छ,’ सापकोटाले भने।

जिल्ला अस्पतालमा बहिरंग, अन्तरंग, आकस्मिक, प्रसुती सेवा लगायत ल्याब, एक्स–रे, भिडियो एक्स–रे आदि सेवा संचालनमा रहेको भएपनि कतिपय औजार उपकरणहरु नभएकाले उपचारमा समस्या खडा भएको छ। जिल्ला स्वाथ्य कार्यालयमा स्विकृत दरबन्दी ४ सय ५७ भएता पनि पदपुर्ति २ सय ७९ जनाको मात्रै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.