१५ महिनादेखि खेलाडीले पाएनन् पुरस्कार

|

इलाम : नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी सदस्य कविता जोशीले फेसबुकमा स्टाटस पोष्ट गरिन्। जहाँ उनले मुख्यमन्त्री मन्त्री कप अन्तर प्रदेश प्रतियोगिताको पुरस्कार नपाएको गुनासो राखेकी थिइन्। उनले स्टाटसमा मुख्यमन्त्रीलाई आफैँले पुरस्कार बापतको १५ लाख रुपैयाँ खाने वाहना खोजेको भन्दै प्रश्नसमेत गरेकी छन्।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा २०७५ फागुन २९ गतेदेखि चैत ३ गतेसम्म प्रदेशको राजधानी धनगढीमा भएको प्रतियोगितामा प्रथम हुने प्रदेशलाई १५ लाख, द्दवितीय प्रदेशलाई १० तथा तृतीय हुने प्रदेशलाई ५ लाख नगद पुरस्कार राखिएको थियो।

प्रतियोगितामा पुरुष फुटबल, पुरुष भलिबल, महिला भलिबल, पुरुष क्रिकेट, महिला क्रिकेट र ब्‍याडमिन्टन पुरुष र  महिला गरी चार खेलहरू खेलाइएको छ।

जसअनुसार कविता सम्मिलित सुदूरपश्चिम प्रदेश सर्वाधिक स्वर्ण पदक जित्दै पहिलो भएको थियो। प्रदेश सरकारले, दोस्रो हुने प्रदेश नं १ र तेस्रो हुने प्रदेशन नं ३ (हाल बागमती प्रदेश) लाई दिने भनिएको १० लाख र ५ लाख रुपैयाँ भने सम्बन्धित प्रदेशको सामाजिक मन्त्रालयको खातामा पठाइदिएको छ।

१५ महिनादेखि खेलाडीले पाएनन्

तर, अहिले १५ लाखको हकदार सुदूरपश्चिम प्रदेशका खेलाडीले भनी १ वर्ष ३ महिना बितिसक्दा पनि उक्त रकम नपाएको भन्दै सामाजिक सञ्‍जालमा नै आफ्नो गुनासो पोख्‍न थालेका हुन्। खेलाडीले सामान्य रूपमा पाउने पहिलो, दोस्रो र तेस्रो पुरस्कार, खेलअनुसार त्यतिबेला नै पाएकोमा रनिङ सिल्ड बापतको रकम भने नपाएका हुन्।

कविताले स्टाटसमा अभिभावकहरूलाई आफ्ना खेलाडीहरुलाई आफ्नो बालबालिका खेलकुदमा कहिले नलगाउन अनुरोधसमेत गरेकी छन्। थाहाखबरसँग कुरा गर्दै कविताले भनिन्, ‘कहिले खेलाडी कल्याण कोष बनाउने भन्छन्, कहिले के भन्छन्। कति पटक धायौँ, हुन्छ हुन्छ भन्छन्, तर खै अहिलेसम्म सुको पाइएको छैन। पुरस्कार दिने भए दिऊन् खाइसकेको हो भने खाइसक्यौँ भनून् १ वर्ष ३ महिना भयो पाउने आसमा बसेको।’

कविताको स्टासमा सर्मथन जनाउँदै यु–१९ टिमकी कप्तान डली भट्टले लेखेकी छन्, ‘यो त एक सही कुरा हो। यस्तो कुराहरु प्लेयरहरुले गर्नुपर्ने अवस्था आउथेन। जब अफिसियलले कुनै एक्सन लिएको भए। म सबैलाई यो पोष्ट सेयर गर्न अनुरोध गर्छु।’

प्रतियोगिता सुरु नहुँदैबाट विवाद भएको थियो। अहिले आएर पुरस्कार नपाएको खेलाडीको गुनासो छ। प्रतियोगितामा नेकपा अर्थात् सत्तापक्षको मात्र हावी भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले त्यसै समय विरोध गरेको थियो।

प्रचारपसारमा पनि सत्ता पक्ष निकट पत्रकारलाई मात्र समावेश गरिएको भन्दै प्रेस युनियनले विरोध गरेको थियो। त्यसमा खेलकुद पत्रकार मञ्चले आंशिक रुपमा विरोध गरेको थियो।

२ करोडभन्दा बढी रकम खर्चेर आयोजना गरिएको प्रतियोगिता पाँच दिनमा दुई करोड सिद्ध्याउने र कार्यकर्ता खुशी पार्ने खेल मात्रै भएको आरोप आयोजकले खेपेको थियो। खेल सञ्चालनमा आर्थिक पारदर्शितादेखि खेलाडी छनोटसम्म विवाद आउने गरी हतार–हतारमा गठन गरिएका समिति तथा उपसमिति छनोटमा मन्त्रीका छोरादेखि आफू निकटका कार्यकर्ता मात्रै राखिएको भन्दै स्थानीयले विरोध जनाएका थिए।

'कोष बनाउँछौँ खेलाडीलाई बाँड्दैनौँ'

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका अनुसार त्यो रकम सुदूरपश्चिम प्रादेशिक खेलकुद विकास समितिको खातामा पठाइसकिएको छ। मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टका अनुसार खेलाडीले पाउने व्यक्तिगत पुरस्कार खेल समाप्त हुनेबितिक्कै बाँडिएको थियो।

‘त्यो १५ लाख त्यसरी खेलाडीलाई बाँडेर हुँदैन त्यो प्रदेशलाई प्राप्त भएको रकम हो। उनले भने, ‘त्यसबाट खेलाडी कल्याण कोष स्थापना गर्ने प्रत्येक वर्ष प्रदेश सरकारले रकम थपिदिने १ करोडको कोष भयो भने खेलाडीको वृति विकासको कुराहरु र खेलाडीलाई अचानक सहयोग गर्नुपरेमा  सहयोग हुनेछ।’

चालु वर्षको बजेटमा पनि खेलाडीहरूको लागि ३० लाख रुपैयाँ बजेट राखिएको उनले बताए। ‘४५ लाखको कोष हुन्छ त्यसलाई करोड बनाउनु राम्रो हो कि ३/३ हजार वितरण गर्नु राम्रो हो? ’ उनले प्रश्न गरे। 

यो पनि पढ्नुस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.