|

मकवानपुर : जिल्ला शिक्षा कार्यालय मकवानपुरले विद्यार्थी भर्ना शुल्क निर्धारण गर्नुभन्दा पहिले प्रस्ताव पेस गर्नको लागि मकवानपुरका सम्पूर्ण संस्थागत विद्यालयलाई निर्देशन दिएको छ।

संस्थागत विद्यालयले मनलाग्दो शुल्क उठाएको भन्दै जनस्तरबाट व्यापक विरोध तथा गुनासो आएपछि जिल्ला शिक्षा कार्यालयले यस्तो कदम चालेको हो। शैक्षिक सत्र २०७४ साल सुरु हुनै लाग्दा कार्यालयले जिल्लाका सम्पूर्ण संस्थागत विद्यालयलाई भर्ना शुल्कका विषयमा जानकारी गराउन निर्देशन गरेको छ।

 यस विषयमा कार्यलयले सम्पूर्ण विद्यालयलाई पत्रचार गरेको जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंग थापाले बताए। शुल्क निर्धारण गर्दा शिक्षा नियमावली २०५९ को नियम १४५ बमोजिम विद्यालय वर्गिकरणको  आधारमा गर्नुपर्ने जिल्ला शिक्षा कार्यालयको निर्देशन छ।

विद्यालयमा शुल्क तोक्दा विद्यालय व्यवस्थापन समिति,अभिभावक तथा शिक्षकहरुसँग पनि परामर्श लिन निर्देशन दिइएको प्रजिअ थापाले बताए। 'विद्यालयमा शुल्क तोक्दा शिक्षा नियमावलीको अनुसुची २२ को अधिनमा रहेर निर्धारण गरी शैक्षिक सत्र सुरु हुनुभन्दा दुइ महिना पहिले नै जिल्ला शिक्षा कार्यालयमा पठाउन कडा निर्देशन गरिएको छ,' उनले भने। उनले कार्यालयको निर्देशन बेवास्ता गर्ने विद्यालयलाई कारबाही गरिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.