भारतले भने दशगजा मिचेर सीमा सुरक्षा पोस्ट बनायाे

|

इलाम : इलामको माईजोगमाई गाउँपालिका २ स्थित पर्यटकीयस्थल तुम्लिङमा शुरु गरेको पर्यटकीय पार्क निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको छ। सीमा पिल्ल्लर भन्दा तीन सय मिटर वरै पार्क निर्माण शुरु भए पनि अनुमति नलिई काम थालेको भन्दै एसएसबीले अवरोध सृजना गरेको हो। 

प्रदेश सरकारको १० लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिमार्फत सन्दकपुर–मानेभञ्ज्याङ्ग पर्यटकीय क्षेत्रमा पर्ने तुम्लिङ्ग क्षेत्रमा पार्क निर्माणको काम वैशाख महिनाको पहिलो साताबाट सुरु भएको थियो।  

तर एसएसबीले सीमा क्षेत्रमा काम गर्दा नेपाल सरकारबाट आफूलाई पहिलै जानकारी हुनुपर्ने बताउँदै अवरोध गरेको हो। भारतले भने सीमा क्षेत्रको दशगजा मिचेर सुरक्षा पोस्ट नै स्थापना गरेको छ। प्रदेश सरकारको सहरी तथा भवन डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने निर्माण सुरु भएको दुई दिनमै भारतीय सीमा सुरक्षा बल एसएसबीले दशगजा भन्दै मजदूरलाई काम गर्न अवरोध गरेको थियो।

एसएसबीको अवरोधबारे जिल्लास्थित सुरक्षा निकायमा जानकारी गराइएकाले समाधानका लागि पहल भइरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। दशगजा छोडेर सीमा क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाइने भए पनि सीमाबाट तीन सय मिटर छोडेर काम गर्दा पनि पार्क निर्माणमा भारतीय एसएसबीले अवरोध गरेको माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए।

माईजोगमाई गाउँपालिकाको फाटमा निर्माण हुने पर्यटन पार्कका लागि प्रदेश सरकारको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो।  

‘टङ्लु पार्क निर्माण सुुरु भएपछि भारतीय अवरोध आएको छ।’ प्रदेश सासंद खिनु लङ्वा लिम्बूले भनिन्, ‘फाटकमा बनाइने भनेको पार्क सुरु नै भएको छैन।’ नेपाली भूमिमा काम गर्दा पनि भारतीय अवरोध भइरहँदा प्रदेश सरकारबाट आएको बजेट खर्च नभई फर्कने समस्या रहेको सांसद लिम्बूले बताइन्। 

पर्यटन पूर्वाधार निर्माणको अवरोधबारे जौबारीमा खटिएको सशस्त्र प्रहरीको र नेपाल प्रहरीको टोलीले निरीक्षण गरी समस्याका जिल्लाका तालुकदार अड्डालाई जानकारी दिएका थिए। त्यसपछि कुनै पहल नभएको स्थानीय जनप्रतिनिधिको भनाइ छ। पर्यटन पार्क निर्माणमा अवरोधबारे मौखिक जानकारी आएको सीमा प्रशासन कार्यालय पशुपतिनगर इलामका प्रमुख दयाकृष्ण ढकालले बताए।

‘एसएसबीको अवरोधबारे लिखित रुपमा जानकारी आएको छैन।’ ढकालले भने, ‘हामी सीमा सुरक्षा हेर्ने सशस्त्र प्रहरीको पशुपतिनगरको टोलीबाट चाँडै स्थलगत निरीक्षण गर्ने योजनामा छौं।’ उने थपे, ‘विकास निर्माणको योजनाबारे पहिल्यै जानकारी भएको भए हामी पनि तयारी गथ्यौँ। ढिलै भए पनि जानकारी आएको छ,’ स्थलगत निरीक्षणपछि मात्रै यकिन विवरण आउनेछ।’

पर्यटन पार्क निर्माणको अवरोधबारे स्थानीय जनप्रनिधिहरुले सशस्त्र प्रहरी बल गण हेडक्वार्टर इलाममा जानकारी गराएका छन्। गणका प्रमुख एसपी रोशन श्रेष्ठका अनुसार पार्क निर्माणको अवरोधबारे जानकारी भए पनि लकडाउनले गर्दा भारतपट्टि समन्वयमा समस्या भएको छ। उनले भने, ‘भारतपट्टि रहेको सीमा सुरक्षा बलको टोलीसँग कुराकानी भइरहेकाले चाँडै समाधान हुनेछ।’ 

यता माईजोगमाई गाउँपालिका अध्यक्ष राईले रोकिएको काम पुनः सुचारुबारे पहल भइरहेको बताए। सीमा पिल्लरले प्रस्टसँग नेपाल–भारत सीमा टुट्टयाएकाले बजेट फ्रिज हुने नदिन स्थानीय प्रशासनलाई जानकारी दिएर काम गर्ने योजनामा रहेको अध्यक्ष राईले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.