|
निर्माणाधिन उढरापुर स्वास्थ्य चौकी

बाँके : एक वर्षभित्र निर्माण पुरा गर्ने जिम्मा लिएको सुरुची जागृती जेभीले ७ वर्षसम्म पनि लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण पुरा गरेको छैन्। ३ तले स्वास्थ्य केन्द्र भवनको छत ढलान भएपनि बाँकी काम हुन नसकेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुसालले बताए। उनले भवन निर्माणका लागि पटक–पटक म्याद थप गर्दासमेत ठेकेदारले निर्माण पुरा गर्न नसकेको बताए।

कम मूल्यमा टेन्डर हाल्दा भवन अलपत्र

निर्माण कम्पनीले करिब ४ करोड रुपैयाँमा ३ तले आधुनिक स्वास्थ्य केन्द्र भवन निर्माणको ठेक्का लिएको थियो। टेण्डर कबोल गर्दा सुरुची जागृती जेभीले २७ प्रतिशत कममा ठेक्का कबोल गरेको थियो। 

७ वर्षअघिको मूल्यमा ठेक्का कबोल गरेर समयमा काम पुरा गर्न नसकेपछि सर्वसाधारण नागरिक गुणस्तरिय स्वास्थ्य सेवाबाट बन्चित भएका छन्। 'ढिला काम गरेका कारण उक्त कम्पनीले ४० लाख हर्जाना तिर्नुपर्ने भएको छ,' इन्जिनियर भुसालले भने, 'कालो सूचीमा पर्ने भएकाले मात्र ठेकेदार कम्पनीले ढिलो गरि भएपनि काम गरिरहेको छ।' 

सम्पूर्ण सुविधा सम्पन्‍न उक्त आधुनिक भवन निर्माण पूरा गर्न ७ वर्ष लगाएको कम्पनीले ६ महिनापछि बल्ल काम थाल्ने भएको छ। भवन डिभिजन कार्यालयले दबाब दिएपछि ठेकेदार कम्पनीले काम थाल्ने प्रतिबद्धता जनाएको इन्जिनियर भुसालले बताए। इन्जिनियर भुसालले बैजापुर गाविसमा पनि ठेकेदार कम्पनीकै लापरबाहीका कारण निर्माणकार्य अलपत्र परेको बताए। 

पुस मसान्तमा काम सम्पन्‍न गर्ने गरी पृथ्वी इन्जिनियरिङले करिब २ करोड १५ लाख रुपैयाँमा ठेक्का पाएको स्वास्थ्य चौकीको भवन निर्माण कार्य ठेकेदार कम्पनिकै लापरबाहीका कारण समयमै सम्पन्न हुन नसकेको उनले बताए। 'बैजापुर स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा पाएको कम्पनी पनि जरिवानामा परेको छ,' उनले भने।

पृथ्वी इन्जिनियरिङकै लापरवाहीका कारण उढरापुर स्वास्थ्य चौकी भवनको काम समेत अलपत्र परेको छ। २ तले भवन निर्माणको जिम्मा लिएको उक्त कम्पनीले हालसम्म विम र पिलर बाहेक अन्य कार्य अगाडी बढाउन सकेको छैन्। उढरापुर स्वास्थ्य चौकी निर्माणका क्रममा निर्माण कम्पनीले कमसल खालको इट्टा प्रयोग गरेको भन्दै स्थानीयले सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा उजुरी दिएका छन्।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नेपालगन्जको प्राविधिक सहयोगमा बाँकेको टिटिहिरिया र हिरमिनिया स्वास्थ्य चौकी भवन भने निर्माण पूरा भैसकेको छ। टिटिहिरिया स्वास्थ्य चौकी भवन हस्तान्तरण भइसकेको र हिरमिनियाको हुने क्रममा रहेको इन्जिनियर भुसालले बताए। ति दुबै भवन निर्माण गर्ने ठेकेदार कम्पनीले समेत समयमा काम सम्पन्‍‍न नगरेको डिभिजन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.